१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन निर्वाचनका विजेतालाई मिडल्याण्डमा स्वागत तथा सम्मान

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०७६, सोमबार १८:५२

 

लण्डन । हालै सम्पन्न एनआरएन यूके निर्वाचनमा मिडल्याण्डका विजेता तथा उपविजेताहरुलाई एक कार्यक्रमबीच सम्मान गरिएको छ ।

मिडल्याण्ड क्षेत्रका नेपालीहरुको साझा संस्था साझा नेपाली समाज यूकेले शनिबार लेस्टरमा गरेको कार्यक्रममा निर्वाचनमा सहभागी मतदाताहरुलाई धन्यवाद समेत ज्ञापन गरियो ।

त्यस अवसरमा मिडल्याण्डबाट एनआरएन आइसिसीमा निर्वाचित दयानिधि सापकोटा, सचिव निर्वाचित कोशलेश्वर ढकाल, सदस्य निर्वाचित गोमा पौडेल, कृष्ण खरेल र डा सुनिलकुमार शाह तथा इंग्ल्याण्ड राज्य परिषद सचिव गोविन्द खरेललाई बधाई ज्ञापन गरियो । निर्वाचनमा उपविजेता बनेका पशुपति पोखरेल र विष्णु चालिसेलाई समेत सम्मान गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै साझा नेपाली समाज यूकेका अध्यक्ष महेश अधिकारीले यसपटकको एनआरएन यूकेको निर्वाचनमा पनि मिडल्याण्डबासीहरुले आफ्नो एकता देखाएको भन्दै धन्यवाद ज्ञापन गरे । मिडल्याड क्षेत्रबाट उम्मेदवारी दिएका सबै उम्मेदवारलाई जिताउनको लागि साझासहितका संघसंस्थाले संयोजनकारी भुमिका खेल्ने कोशिस गरेको उनले स्पष्ट पारे ।

कार्यक्रममा विजेता तथा उपविजेता उम्मेदवारहरुले निर्वाचनका क्रममा मिडल्याण्डको समुदाय र यहाँका अग्रजहरुबाट भएको सहयोगको लागि धन्यवाद दिए ।

त्यस्तै, हाम्रो नेपाली समाजका पूर्व अध्यक्ष कृष्णप्रसाद शर्मा, साझा नेपाली समाजका पूर्व अध्यक्ष रण केसी, शृजनशील लेष्टरका अध्यक्ष बलराम चापागाई, महासचिव पुन्डरी अर्याल र पूर्व अध्यक्ष प्रेम आले, नटिंघम नेपाली समाज महासचिव राम पन्थी , पूर्व अध्यक्ष प्रविण पान्डे, डिलाराम गौतम लगायतले पनि विजेतालाई बधाई दिंदै मिडल्याण्डको अपेक्षा पूरा गर्ने गरी काम गर्न सुझाव दिए । साझाका संस्थापक अध्यक्ष शंकर भण्डारीले पनि आफ्नो बधाई तथा शुभकामना संदेश पठाएका थिए ।

त्यसअवसरमा एनआरएन यूके निर्वाचनका एक निर्वाचन आयुक्त एवं साझाका पूर्व अध्यक्ष राजु कंडेलले निर्वाचनको क्रममा आफुले भोगका तीता मीठा अनुभवहरु सुनाए । लेस्टर बुथको निर्वाचनलाई सफल पार्न सहयोग गर्ने सबैप्रति उनले कृतज्ञता जाहेर गरे ।

साझा नेपाली समाजका वरिष्ठ उपाध्यक्ष नारायण फुयांलले स्वागत मन्तव्य दिएको कार्यक्रमलाई उपाध्यक्ष विष्णु चालिसेले सञ्चालन गरेका थिए ।