८ बैशाख २०८१, शनिबार
Follow Us

सभामुख पद रिक्तः घटनास्थल सुरक्षित

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७६, मंगलवार १०:०३


काठमाडौँ । पदबाट राजीनामा दिनुभएका सभामुख कृष्णबहादुर महराले राजीनामा पत्रमा छानबीन प्रक्रिया नसकिएसम्मका लागि भनी लेख्नुभएको भाषा संवैधानिक दृष्टिकोणबाट अनुपयुक्त रहेको टिप्पणी गरिएको छ । संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि दुव्र्यवहारको आरोप लागेपछि राजीनामा दिनुभएका महराले आजैका मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिइएको उल्लेख गर्नुभएको छ ।


नेपालको संविधानको धारा ९१ उपधारा (६) मा लिखित राजीनामा दिएमा सभामुख र उपसभामुखको पद रिक्त हुने व्यवस्था छ । सभामुखले लिखित राजीनामा दिएपछि पद रिक्त हुने संवैधानिक व्यवस्था रहेको हुँदा राजीनामामा उल्लेख भएका अरु कुराले खासै अर्थ नराख्ने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ बताउनुहुन्छ । सभामुख महराले आपूmमाथि लागेको आरोपबारे सत्य, तथ्य, निष्पक्ष र स्वतन्त्र छानबीनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा राजीनामा दिएको उपसभामुखलाई सम्बोधन गरेर लेख्नुभएको पत्रमा उल्लेख छ । नेम्वाङ भन्नुहुन्छ, “नेकपाका कुनै पनि तहमा रहेका व्यक्तिबाट हुने अपराध, विकृति र विसङ्गतिमा दल जोडिनुहुन्न, स्वयम् व्यक्ति जिम्मेवार हुन्छ भन्नेमा हामी प्रष्ट मान्यता राख्छौँ । ”
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभामुख महरासँग लागेको आरोपका सम्बन्धमा जानकारी लिएपछि बसेको नेकपाको सचिवालय बैठकले उहाँलाई सभामुख र सांसद दुवैबाट राजीनामा दिन सुझाव दिएको थियो ।

घटनाका बारेमा आउन सक्ने विभिन्न खाले टीकाटिप्पणीले पार्टीलाई पुग्न सक्ने असरको आकलन र घटनाको गम्भीरतालाई बुझेर सभामुख महरालाई तत्कालै तत्काल राजीनामा दिन लगाउने निर्णय भएको पार्टी स्रोतले जनाएको छ ।


महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सञ्चारकर्मीको जिज्ञासामा भन्नुभयो, “ जो कसैबाट कानून उल्लङ्घन र अपराध हुन्छ भने उसले कानूनको भागीदार बन्नुपर्छ । कानून सबैका लागि बराबर हो ।” घटनालाई ठीक ढङ्गबाट समयमै सम्बोधन हुन नसकेमा बढी उछालिन सक्ने आकलन सचिवालय बैठकले आकलन गरेको स्रोतको जिकिर छ ।
महराले पार्टीको निर्णयानुसार अपराह्न स्वकीय सचिव सागर केसीमार्फत उपसभामुखको सचिवालयमा राजीनामा पठाउनुभएको थियो । पीडित पक्षबाट घटनाका सम्बन्धमा सूचना दिइएपछि पुगेको घटनास्थल र प्रमाणको सुरक्षाको पाटोमा पनि आवश्यक ध्यान नपु¥याइएको भनी प्रहरीको कामको आलोचना भएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख शैलेश थापाले घटनाको सूचना प्राप्त हुनासाथ संवेदनशील घटनाका रुपमा लिएर पीडितसँग तत्कालै आवश्यक जानकारीका साथै घटनास्थलको भिडियो स्केच लिइएको र पीडितसँग कानूनी परामर्श भएको जानकारी दिनुभयो । घटनास्थलमा प्रयोग भएका भनिएका चश्मा, रक्सीको बोतल, जुत्तालगायत वस्तु सङ्कलन गरी सुरक्षित रुपमा राखिएको उहाँले जानकारी दिनुभयो ।