८ बैशाख २०८१, शनिबार
Follow Us

गठबन्धनले कात्तिक मसान्तसम्म पर्खने

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७३, बिहीबार १३:४७

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको सङ्घीय गठबन्धनले सरकारले आफैँ घोषणा गरेको समयावधिमा पनि संविधान संशोधन विधेयक दर्ता गराउने तयारी नगरेको भन्दै असन्तुष्टि जनाएको छ ।

स्थानीय तीनकुनेस्थित सङ्घीय समाजवादी फोरम नेपालको कार्यालयमा आज भएको गठबन्धनको बैठकले यही कात्तिक मसान्तभित्र विधेयक व्यवस्थापिका–संसद्मा दर्ता नभए पुनःसङ्घर्षमा उत्रने निर्णय गरेको छ । समयावधि बित्नै लाग्दा पनि सरकारले संशोधन विधेयक दर्ता गराउने सङ्केत नदेखाएको भन्दै आन्दोलनमा जाने निर्णय भएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् गठबन्धन सचिवालय सदस्य केशव झाले राससलाई जानकारी दिनुभयो ।

“भोलिदेखि नै केही न केही विरोधका कार्यक्रम सुरु हुन्छ तर मसान्तसम्म हेर्छौं, त्यो अवधिमा नभए देशभर विरोध कार्यक्रम ल्याउने निर्णय भएको छ”– उहाँले भन्नुभयो । एक साताअघि सत्तारुढ दलले मोर्चासँग छलफल गरी कात्तिकको अन्तिम साता संशोधन विधेयक दर्ता गराउने निर्णय गरेका थिए । बैठकमा गठबन्धनका संयोजक उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तमसपाका अध्यक्ष शरत्सिंह भण्डारी लगायत नेता उपस्थित हुनुहुन्थ्यो ।