१६ चैत्र २०८०, शुक्रबार
Follow Us

संविधान संशोधन किन, कुन विषयमा र कसरी गर्ने : ओली

नेपालब्रिटेन डट कम्
२५ कार्तिक २०७३, बिहीबार १३:५१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संविधान संशोधनको प्रक्रियामा सहयोग गर्न आग्रह गरेका छन् । सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको सचिवालयमा विहीबार साँझ भएको भेटवार्तामा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रमुख तीन दलका शीर्ष नेताको शीर्ष बैठक बसेर कुन–कुन विषयमा संविधान संशोधन गर्ने भन्नेमा सहमति खोजिने भएकाले त्यसमा सहयोग गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
सल्लाहकार आचार्यले भने–‘प्रधानमन्त्रीले प्रमुख तीन दलको सहमतिमा यही कात्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव दर्ता गर्ने विषयमा पूर्वप्रधानमन्त्री ओलीसँग छलफल गर्नुभएको हो । आजको छलफल सकारात्मक छ ।’
बैठकपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग किन, कुन विषयमा र कसरी संविधान संशोधन गर्ने भन्ने जिज्ञासा राखेको जानकारी दिए ।
उनले मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा प्रधानमन्त्रीसँग छलफल भएको र छलफल निरन्तर जारी राख्ने सहमति भएको बताए ।
संविधान निर्माण प्रक्रियाबाटै असन्तुष्टि व्यक्त गर्दै आएका मधेसकेन्द्रित दलले आफूहरुको माग सम्बोधन गर्न संविधान संशोधनको प्रक्रिया तत्काल अगाडि बढाउन सरकारसँग आग्रह गर्दै आएका छन् । मोर्चाको माग बमोजिम संविधानका केही विषयमा संविधान संशोधन गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भेट
प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पनि विहीबार भेटवार्ता भएको छ । भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान संशोधनलगायत विषयमा कुराकानी भएको थियो । छलफलमा सरकारको काम–कारबाहीलाई प्रभावकारी बनाउनेलगायत विषयमासमेत कुराकानी भएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए ।