१६ चैत्र २०८०, शुक्रबार
Follow Us

महरा–शाही प्रकरणमा को दोषी ? को निर्दोष ? : वरिष्ठ अधिवक्ताहरु यसो भन्छन्

नेपालब्रिटेन डट कम्
१५ आश्विन २०७६, बुधबार १२:२३

काठमाडौं। नेपाल बार एशोसिएसनका महासचिव लिलामणी पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन भएर सत्य, तथ्य बाहिर आउनुपर्ने बताएका छन् । पौडेलले उक्त घटनाबारे पहिलो सुचना दिने व्यक्ति र पीडित दुवै एकै व्यक्ति भएको सुनाए । तर, अहिले अनुशन्धानलाई अन्तै मोड्न खोजिएको पनि उनको आशंका छ ।
पौडेलले झुठा बकपत्र मुद्दा लागेको केशमा बाझिनेगरि बयान दिए मुलुकी ऐनको फौजदारी संहिताको दफा ४४ अनुसार पीडितले जाहेरी दिएपछि, बयान परिवर्तन गर्दा उसलाई पनि सजाय हुने नियम रहेको सुनाए । तर, अहिले पीडितले किटानी जाहेरी नदिएकोले ‘होस्टाईल’ नहुने पौडेलको भनाई छ । अरोप लगाउने रोशनी शाहीले पहिलो भिडियोमा महरा आफूकहाँ आएको र अर्को भिडियामो नआएको र महरा पितासरहको मान्छे भनेर बोलेको कुरा नै अस्वभाविक भएको उनको तर्क छ । महराले स्वयम्ले आफू शाहीको कोठामा पुगेको भनेर स्वीकार गरिसकेकोले अब शाहीले महरा पितासरहको मान्छे भन्नुको अर्थ नभएको पनि उनको टिप्पणी छ ।
बुधबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले महरा–शाही प्रकरण नेपालको राजनीतिक ईतिहासमै अनौठो घट्ना भएको सुनाए ।
उनले महराले राजीनामा दिएपछि सभामुखको पद स्वतः खाली भएको बताए ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सभामुखको राजीनामा नै स्विकृत भएकोले उक्त पद रिक्त भएको बताए । महराले ‘क्लिन–चिट’ नै लिएपनि अब सभामुखमा फर्किने सम्भावाना नभएको भट्टराईको दाबी छ ।
उनले संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक फरक दलको र फरक लिङ्गको हुनुपर्ने पनि बताए । अहिले संसद चालु नभएकोले अब चल्ने अधिवेशनमा संविधानबमोजिम निर्वाचन हुने उनले स्पष्ट पारे । भट्टराईले यो प्रकरणमा रोशनी शाहीमाथि अविलम्ब अनुशन्धान प्रारम्भ गर्नुपर्ने माग गरे । उनले भने,‘शाहीको अघिल्लो बयानले महरामाथि अनुशन्धान हुन्छ, तर, पछिल्लो बयानले शाहीमाथि पनि अनुशन्धान सुरु गर्नुपर्छ । उनीमाथि विद्युतीय कारोवार ऐनअनुसार कारवाही हुनुपर्छ ।’
उनले मन लाग्यो भन्दैमा कसैको ईज्जत, प्रतिष्ठा र मानमा धावा बोल्न नपाईने स्पष्ट पारे । उनले यदि शाही डिप्रेसनको विरामी हो भने त्यसबारेमा पनि चिकित्सकले परीक्षण गरेर पुष्टि गर्नुपर्ने बताए । उनले भने,‘महिलाको पनि ईज्जत छ, पुरुषको पनि ईज्जत छ ।
संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले महराले राजीनामा दिएपछि सभामुख पद रिक्त भएकोले अब उक्त पदको लागि निर्वाचन हुनैपर्ने स्पष्ट पारे । उनले भने,‘सभामुखको राजीनामा शसर्त हुँदैन् । राजीनामा भनेको राजीनामा नै हो । अब सभामुख पद रिक्त भयो । निर्वाचन हुनैपर्छ ।’
बहुदलीय प्रणाली भएकोले सभामुख र उपसभामुख फरक–फरक दल र फरक लिङ्गको हुनुपर्ने उनको भनाई छ । उनले यो प्रकरणमा ‘फस्ट ईन्फरमेशन’ का आधारमा प्रहरीले आफ्नो प्रतिवेदन दर्ता गर्नुपर्ने बताए । उनले भने,‘फस्ट ईन्फरमेशनका आधारमा प्रहरीले अनुशन्धान गर्नुपर्छ ।’ पीडित भनिने महिलाले अलग–अलग अभिव्यक्ति दिएपनि पहिलो सुचनाको आधारमा प्रहरीले अनुशन्धान सुरु गर्नुपर्ने उनको जिकिर छ ।
अहिले शाहीले बयान फेरेको कुरालाई उनले ‘एक्स्ट्रा जुडिसियल डकुमेन्ट’ भएको पनि बताए । यदि यो प्रकरणमा महराले क्लिन–चिट पाए महराको सांसद पद सुरक्षित रहनेपनि उनको भनाई छ । निर्दोष सावित भएपछि सांसद पद सुरक्षित हुने भएकोले सभामुखको निर्वाचनमा पार्टीले उम्मेद्धवार बनाएर सभामुख बन्नपनि सक्ने उनको तर्क छ ।
उनले शाहीको बाहिर आएको पहिलो भिडियाको आधारमा महराले सभामुखबाट राजीनामा दिएको बताए । यदि पहिलो भिडियोमा लगाएको आरोप गलत सावित भए उनलाई साईबर क्राईमको मुद्दा चलाउन सकिनेपनि उनको तर्क छ । शाहीमाथि यदि कसैले ज्यान मार्ने धम्की दिएको हो भने पनि कसले धम्की दिएको भन्नेबारे अनुशन्धान हुनुपर्ने ज्ञवालीले स्पष्ट पारे ।
कार्यक्रममा डेमोक्रेटिक लयर्स एशोसिएनकी महासचिव लक्ष्मी दाहाल रावलले शाहीमाथि जवरजस्ती करणी भएको हो कि दुव्र्यवहारमात्रै भएको हो भन्ने यकिन भएपछि दोषिमाथि सोहीअनुसारको सजाय हुने तर्क गरिन् । यो प्रकरणमा के भएको हो ? भन्ने कुरा सत्य, तथ्य बाहिर ल्याउनुपर्ने उनको माग छ । उनले भनिन्,‘यो घट्नाबारे सिंगो राष्ट्र नै जानकार छ । भोलि त्यस्तो घट्ना नहोस भनेर यो प्रकरणमा सत्य, तथ्य बाहिर आउनुपर्छ ।’
उनले उक्त घट्नाको चित्तबुझ्दो तरिकाले सेटलमेन्ट गर्नुपर्ने तर्क गरिन् । उनले भनिन्,‘यो त सभामुखको चरित्रहत्या मात्रै होईन, देशको बेईज्जति भएको छ । आरोपको आधार हेरेर छानबिन हुनुपर्छ ।’ शाहीले आफू डिप्रेसनको विरामी भनेर बोलेको कुरामा पनि चिकित्सकबाट प्रमाणित हुनुपर्छ । मानसिक रोगी भएको भए सरकारी जागिरेको लागि कसरी योग्य भईँन् ?।’
उनले सत्ताको शक्तिले उक्त घट्नालाई मोड्न नहुनेपनि ध्यानाकार्षण गराइन् ।