७ बैशाख २०८१, शुक्रबार
Follow Us

विद्यालय पुनःनिर्माणका लागि प्रवासीको सहयोग

नेपालब्रिटेन डट कम्
२६ कार्तिक २०७३, शुक्रबार ०६:०४

बागलुङ । पहिरोबाट क्षतिग्रस्त बनेका जिल्लाको दर्लिङ–४ स्थित सिद्ध मावि पुनःनिर्माणका लागि प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।

बागलुङ समाज जापानले पुनःनिर्माणका लागि रु एक लाख दुई हजार ४१४ सो विद्यालयलाई हस्तान्तरण गरेको हो । लियो क्लब अफ बागलुङ कालिकामार्फत हस्तान्तरण गरिएको उक्त रकम विद्यालयको नयाँ भवन बनाउन खर्चिने छ । गत साउनमा गएको पहिरोबाट सो विद्यालय क्षतिग्रस्त बनेका थिए ।

समाजका महासचिव कृष्ण सुवेदीले दुर्गमको विद्यालय भत्किएर विद्यार्थी चौरमा पढ्न बाध्य भएको खबर थाहा पाएपछि जापानमा सहयोग जुटाइएको बताउनुभयो ।

जापानमा रहेका बागलुङ्गेबाट सो सहायता रकम सङ्कलन गरिएको थियो । “समाजले बागलुङ र सामाजिक सेवाका अन्य क्षेत्रमा काम गरिरहेको छ”, सुवेदीले भन्नुभयो – “विपद् र समस्यामा परेका व्यक्ति र परिवारलाई आर्थिक सहायता पनि प्रदान गर्दै आएका छौँ ।”

समाजकै अगुवाइमा गत वर्ष बागलुङकै एक विपन्न बालकको उपचारमा रु सात लाखभन्दा बढी रकम सङ्कलन भएको थियो । गत वर्ष गठन भएको समाजले बागलुङमा समन्वय समिति गठन गरेर काम गरिरहेको समाजका बागलुङ संयोजक सम्पन्न श्रेष्ठले जानकारी दिनुभयो ।