११ बैशाख २०८१, मंगलवार
Follow Us

चिनियाँ सहयोग ठूला पूर्वाधारमा लगानी

नेपालब्रिटेन डट कम्
१६ आश्विन २०७६, बिहीबार २१:२९

काठमाडौँ। यसै महिना हुन लागेको चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण राजनीतिक र कूटनीतिक हिसाबले जति महत्त्व राख्छ त्यति नै महत्त्व नेपालको आर्थिक तथा व्यापारिक हितका लागि पनि उपयोगी बनाउनुपर्नेछ ।
परापूर्व कालदेखि रहँदैआएको सम्बन्ध, दौत्य सम्बन्धलगायतका चरण पार गर्दै आएको नेपाल–चीन पारस्परिक सम्बन्धले नेपालको आर्थिक प्रगतिको आधारको स्वरूप ग्रहण गर्नुपर्ने बेला आएको सरोकारवालाको मत छ ।
नेपाल र चीनबीच सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएसँगै आर्थिक सहयोगको शृङ्खला सुरु भएको थियो । खास गरी सन् १९५६ अक्टोबरमा सम्पन्न आर्थिक सहायतामा नेपाल चीन सहमतिपछि यसले तीव्रता पाएको देखिन्छ । चीन सरकारले नेपाललाई द्विपक्षीय हितका क्षेत्रमा आर्थिक तथा प्राविधिक सहायता कार्यक्रमअन्तर्गत सहयोग उपलब्ध गराउँदैआएको छ । पूर्ण अनुदान, निब्र्याजी ऋण र सहुलियतपूर्ण कर्जाका आधारमा सरकारी सहयोग उपलब्ध हुँदैआएको देखिन्छ । नेपालको पूर्वाधार क्षेत्र औद्योगिक विस्तार, मानव संशाधन विकास, औद्योगीकरणको प्रक्रिया, शिक्षा स्वास्थ्य जलस्रोतलगायतका क्षेत्रमा चिनियाँ सहयोग उल्लेख्य रहँदैआएको छ ।
चिनियाँ सहयोगमा अहिले पनि माथिल्लो त्रिशूली जलविद्युत् आयोजना, काठमाडौँ चक्रपथ सुधार आयोजना, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, कोदारी राजमार्ग, स्याफ्रुबेसी रसुवागढी सडक स्तरोन्नतिलगायतका परियोजना निर्माणाधीन छन् ।
सन् २०१७ मा नेपाल र चीनबीच सम्पन्न बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत पनि सहयोग आदान प्रदानको समझदारीले आर्थिक, प्राविधिक तथा वातावरणीय क्षेत्रमा योगदान पु¥याउने अपेक्षा नेपाल सरकारको छ । समझदारीले नीतिगत साझेदारी पूर्वाधार र व्यापारमा अन्तर आबद्धतादेखि जनस्तरको सम्बन्धलाई पनि विस्तारित गर्दै लाने लक्ष्य राखेको हो । विनाशकारी भूकम्पका समयमा चीनले तीन अर्ब युआन बराबरको आर्थिक सहायता उपलब्ध गराएको थियो ।