१३ बैशाख २०८१, बिहीबार
Follow Us

चिनियाँ राष्ट्रपति सीको जेटलाई छड्के पार्किङ

नेपालब्रिटेन डट कम्
१६ आश्विन २०७६, बिहीबार २२:००

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङ अर्को साता एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदै छन् । विमानस्थलस्थित स्रोतका अनुसार उक्त विशेष विमान एक रात काठमाडौं विमानस्थलमै पार्किङ गरिनेछ । यो जहाजको पार्किङ नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल वायुसेवा निगमका अधिकारीहरूका लागि भने निकै चुनौतीपूर्ण बनेको छ ।

चिनियाँ राष्ट्रपतिको जेट विमानलाई विमानस्थलको टर्मिनल भवनतर्फ फर्काएर पश्चिम–पूर्व राख्न नसकिने भएको छ । अहिले जसरी अन्य विदेशी एयरलायन्स राखिन्छन्, त्यसरी पार्किङ गर्न नसकिनुको कारण यस जहाजलाई पुसब्याक (धकेल्न) गर्न सकिने उपकरण नहुनु हो । काठमाडौं विमानस्थलमा नेपाल वायुसेवा निगमले विदेशी विमानको ग्राउन्ड ह्यान्डल (भूमिस्थ व्यवस्थापन) गर्छ ।

चिनियाँ राष्ट्रपतिको जेट विमानलाई ह्यान्डल गर्ने क्षमताको उपकरण निगमसँग छैन । राष्ट्रपति चढेर आउने विमान डबल डेकर (दुईतले) र चारवटा इन्जिनयुक्त हो । ‘निगमसँग भएको उपकरण (ट्र्याक्टर) ले २ सय ५० टनसम्मको जेट विमान पुसब्याक गर्न सक्छ तर राष्ट्रपति सी आउने जहाजको तौल ३ सय टनभन्दा बढी छ,’ निगमका प्राविधिकले भने ।

चिनियाँ राष्ट्रपतिको जहाज अहिलेजसरी पश्चिम टर्मिनल भवनतर्फ पार्किङ गरिए फर्किने बेला पुसब्याक गर्न सकिने छैन । विमानस्थलका अधिकारीहरूले उक्त जहाजलाई उत्तरतर्फ फर्काएर राख्ने योजना चिनियाँ अधिकारीहरूलाई बताइसकेका छन् । ७६ मिटर लामो जहाजलाई उत्तरतर्फ फर्काएर पार्किङ गरिए यसले तीनवटा जहाजको पार्किङ स्थान ओगट्नेछ । कान्तिपुर दैनिकमा खबर छ ।