१३ बैशाख २०८१, बिहीबार
Follow Us

करिव साढे तीन करोडको पाँच सय र हजारका भारतीय नोट

नेपालब्रिटेन डट कम्
२६ कार्तिक २०७३, शुक्रबार ०६:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफू र अनुमति प्राप्त वित्तीय संस्थासँग झण्डै साढे तीन करोड रुपैयाँ बराबरको एक हजार र पाँच सय दरका भारतीय नोट रहेको भन्दै सटहीमा सहयोग गर्न भारतीय रिजर्भ बैंकलाई अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले पनि काठमाडौंस्थित भारतीय दूतावासमार्फत सोही आशयको औपचारिक पत्र पठाएको छ । भारत सरकारले एक हजार र पाँच सय दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा रहेका त्यस्ता नोट सटहीको समस्या देखिएको छ । भारतको केन्द्रीय बैंकले नेपालमा रहेको भारतीय नोटको परिमाणको जानकारी मागेपछि राष्ट्र बैंकले त्यसको जवाफसमेत पठाइ सकेको छ । राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थासँग अढाई करोड बराबरको भारतीय रुपैयाँ रहेको बताइएको छ । सर्वसाधारणले करिब चार करोड बराबरको एक हजार र पाँच सय दरका भारतीय नोट सञ्चित गरिरहेको अनुमान छ ।