६ चैत्र २०८०, मंगलवार
Follow Us

मिडियाविरुद्ध बेलायती राजकुमार, अदालत जाने तयारी


१८ आश्विन २०७६, शनिबार १६:११

लन्डन — अहिले बेलायती राजपरिवार सदस्यको गोपनियता सम्बन्धी अधिकार र सञ्चार जगतको प्रकाशन स्वतन्त्रताबीच अन्तर्विरोध अदालत प्रवेश गरेको छ ।
बेलायती राजकुमार हयारीले केही मिडियाले गैरकानुनी रुपमा आफ्नो ‘भ्वाइस मेसेज’ सुनेको आरोप लगाउँदै ब्रिटेनबाट प्रकाशित हुने सन तथा डेली मिरर समाचारपत्रविरुद्ध कानुनी कारबाही सुरु गरेका छन् । ‘ड्यूक अफ ससेक्स’ पनि भनिने ह्यारीले ती पत्रिकाका मालिकविरुद्ध हाइकोर्टमा मुद्दा दायर गरेको बकिंगघम राजदरबारले पुष्टि गरेको छ । सन र दि न्यूज अफ दि वल्र्ड पत्रिकाको प्रकाशन समूह ‘न्यूज ग्रुप न्यूजपेपर्स’ की प्रवक्ताले पनि मुद्दा दायर भएको जनाएकी छन् ।

उनकी श्रीमती मेघनले पनि मेल अखबारविरुद्ध गत साता मुद्दा दायर गरेकी थिइन् । उक्त अखबारमाथि उनले आफ्ना पितालाई लेखेको गोप्य पत्र प्रकाशित गरेको आरोप लगाइएको छ । यसै साताको सुरुमा १० प्यारा लामो वक्तव्य लेख्दै ह्यारीले ट्याबलोइड पत्रिकाहरुले आफ्नी आमा स्वर्गीय डायनाले भोगेको जस्तो पीडा दोहोरयाउन खोजेको आरोप लगाएका थिए । फोटोग्राफरहरुको झुन्डबाट जोगिन उनको चालकले तीव्र गतिमा गाडी चलाउँदा दुर्घटना भई राजकुमारी डायनाको सन् १९९७ मा पेरिसमा निधन भएको थियो ।

मिडिया वकिल मार्क स्टेपहेन्सले शाही परिवारले कानुनी उपचार खोज्ने घट्ना दुर्लभ नै भएको बीबीसीसंग बताएका छन् । पत्रपत्रिका विरुद्ध कानुनी कारवाही गर्नु उच्च जोखिमयुक्त हुने भएकाले ब्रिटिश राजपरिवारका सदस्यहरुले मिडिया विरुद्ध विरलै मात्र कानुनी उपचार खोज्ने गर्दछन् । मार्कका अनुसार, वकिल र शाही परिवारबीच कयौं सूचना आदानप्रदान गर्नुपर्ने भएकाले पनि यो उच्च जोखिम रणनीति हुन सक्छ ।

‘यो विषय दुई पक्षबीचको जित हारको रूपमा भन्दा पनि कुन हदसम्मको प्रविधि प्रयोगलाई प्रकाशन स्वतन्त्रता अन्तर्गत मान्ने भन्ने कानुनी जटिलताका रूपमा बुझ्नु पर्छ’ लेखक एवं अधिवक्ता गोविन्द बेल्बासे भन्छन्-‘कानुनी शासन लागू गर्ने र लोकतन्त्रलाई सन्तुलित पार्ने अभिभारा अदालतको पनि हो ।’ यो विषय प्रविधि विकाससंगै दिनानुदिन स्थापित मान्यताहरूमा चुनौती थपिँदै गएका कारण उब्जिएको रूपमा बुझ्छन् बेल्बासे ।

नयाँ प्रविधिबाट समाजका गतिविधिहरू थपिएसँगै कानुनी जटिलताहरू उब्जने गर्छन् । विगतमा कसैको गोपनीयता भंग गरिदिएको अवस्थामा कलमजिवी पत्रकारलाई सजाय दिएर मिडिया टाइकुनहरूलाई उन्मुक्ति दिइएको प्रसंग बेलायतमा अहिले पुनः उठेको छ ।

नेपालको परिप्रेक्ष्यमा संविधानको धारा १९ मा उल्लेखित सञ्चारको हक सीमा कति हो भन्ने विषय र नागरिकको गोपनीयता अधिकारसँग यो विषय जोडिएको बेल्बासेले बताए । बेलायती राजपरिवार विश्वमै लोकप्रिय छ । सन् २०१७ मा बेलायती महारानी एलिजावेथ बस्ने लन्डनस्थित बकिङहम प्यालेस हेर्न करिब ५० लाख आगन्तुक दरबार पुगेका बताइन्छ । शाही पर्यटनले बेलायतको अर्थतन्त्रमा वार्षिक ७४७ मिलियन डलरको योगदान गर्ने बताइएको छ ।

बेलायती राजपरिवारले पछिल्लो दशक धेरै उतारचढाव खेपेको छ । सन् १९९७ मा राजकुमारी डायनाको कार दुर्घटनामा निधन भयो । त्यतिबेला बुहारी र राजतन्त्रको भविष्यबारे पत्रपत्रिका एवं टेलिभिजनमा अनेक वहस र भविष्यवाणी भएपछि रानीले सार्वजनिक रुपमै विज्ञप्ति जारी गर्न बाध्य भएकी थिइन् ।

महाभूकम्प लगत्तै नेपाल भ्रमण गरेका राजकुमार हयारीले उत्तरी गोर्खाको लापु गाउँ विकास समितिस्थित प्रभातकिरण निमाविको पुनर्निर्माणमा सघाएका थिए । नेपाली दूतावासमा आयोजित एक समारोहमा उनले अन्नपूर्ण हिमश्रृंखला तथा बर्दिया राष्ट्रिय निकुन्जको प्राकृतिक सौन्दर्यको दृश्य कहिल्यै नभुल्ने बताएका थिए । नेपालीको न्यानो आतिथ्य पनि उनको स्मृतिमा ताजै छ ।

ह्यारी ब्रिटिस गोर्खाहरुका प्रशंसक हुन् । कुनै बेला अफगानिस्तान युद्धमा संगै रहेका हयारीले गोर्खा सैनिकहरुको दृढ चरित्र कसरी बन्छ भन्ने कुरा आफूले बुझ्ने मौका पाएको बताउँदै आएका छन् । गोर्खा सैनिकहरुसंगको सम्बन्धबाट खुसी र गर्व महसुस गर्ने गरेको उनी बताउंछन् । राजकुमार हयारीले गोर्खालीहरुको साहस, निस्वार्थ त्याग र व्यावसायिकताको प्रशंसा गर्दै आएका छन् ।