७ बैशाख २०८१, शुक्रबार
Follow Us

लन्डन दूतावासमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१८ आश्विन २०७६, शनिबार २१:५६

लन्डन । नेपाली दूतावास लन्डनको आयोजनामा दशैं तथा तिहार शुभकामना कार्यक्रम सम्पन्न भएको छ । शनिवार दिउसो दुतावास भवनमा आयोजित कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले दूतावासले राहदानी लगायतका सेवा आधा घण्टा भित्रै दिने व्यवस्था मिलाएको र घरघरमै भिसा उपलब्ध गराइरहेको जानकारी दिए।

उनले ‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसरमा आउंदो वर्ष बेलायतबाट कम्तिमा एक लाख पर्यटक नेपाल पठाउने गरी काम भै रहेको जानकारी पनि गराए। राजदूत सुवेदीले दशैं, तिहार, म्ह पूजा, नेपाल संवत, छठ तथा ल्होसारको अवसरमा सबै नेपालीहरुलाई शुभकामना दिए।

उनले निकट भविस्यमै दूतावासले बेल्फास्ट, स्विन्डन, डब्लिन, ग्लासगो लगायत शहरमा गएर नेपालीहरुका घरघर मै सेवा पुराउने लक्ष लिएको पनि बताए।

कार्यक्रमका प्रमुख अतिथि भूतपूर्व परराष्ट्र मन्त्री डा। भेषबहादुर थापाले नेपालमा छोटो समयमा ठूल्ठूला राजनीतिक परिवर्तनहरु भएको तर त्यस अनुसार आर्थिक प्रगति हुन नसकेको बताए। ‘राजनीतिक काँचुली मात्रैले समृद्धि हुंदैन, आर्थिक र सामाजिक काँचुली फेर्न बांकी नै छ’-उनले भने।

भारत तथा अमेरिकाका लागि नेपाली राजदूत रहिसकेका डा थापाले नेपालीहरुले संसार भरि गरेको प्रगतिबाट आफु अत्यन्त हर्षित भएको पनि बताए। कार्यक्रममा कोसेली संस्कृतिक परिवारले विभिन्न रोचक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेको थियो।

समारोहमा एनआरएन युकेकी नवनिर्वाचित अध्यक्ष पूनम गुरुङसहित कार्यसमितिका सदस्य, पदाधिकारी तथा आइसीसी सदस्यहरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा बेलायतका विभिन्न शहरहरुबाट झन्डै ३०० को संख्यामा नेपाली तथा केही ब्रिटिश पाहुनाहरु पनि उपस्थित थिए।