१३ बैशाख २०८१, बिहीबार
Follow Us

पोर्चुगलको आम निर्वाचनमा सोसलिष्ट पार्टी विजयी, आप्रवासी खुशी !

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७६, सोमबार १७:५९

राजकुमार थापा । वल्डनेपाली डटकम, लिस्बन, पोर्चुगल । पोर्चुगलमा आइतबार सम्पन्न संसदीय आम निर्वाचनमा वर्तमान प्रधानमन्त्री आन्तानियो कोष्टाको सोसलिष्ट पार्टी बिजयी भएको आज प्रकाशित परिणामहरुले देखाएको छ । २३० संसदीय सीटहरुमा कोष्टाको पार्टीले ३६.७ प्रतिशत मतकासाथ १०६ सीटमा विजय हासिल गरेको छ । पोर्चुगलमा दस करोड भन्दा बढी मतदाता रहेका थिए । त्यसमा झन्डै चार हजार जति नेपाली मुलका मतदाता थिए तर, कति नेपालीमुलकाले मतदान गरे भन्ने यकिन हुन सकेको छैन ।

पुनः सोसलिष्ट पार्टीको बिजयले पोर्चुगिस जनता स्थीरताको पक्षमा रहेको पोर्चुगलका राजनैतिक बिश्लेषकहरुले जनाएका छन् । प्रतिस्पर्धी सोसियल डेमोक्रेटिक पार्टीले सन् १९८३ पछिको सबैभन्दा खराव नतिजाको सामना गर्नु परेको छ । मत प्रतिशत २७.९ आएपनि सीट संख्यामा भने उ कमजोर देखियो ।

निर्वाचन परिणाम संगै सरकार बनाउने तयारीमा रहेको कोष्टाको सोसलिष्ट पार्टीले चार बर्ष अगाडि सन् २०१५ का आफ्ना गठबन्धनका कम्युनिस्ट र अन्य साना पार्टीहरुसंगको छलफल तीब्र बनाएको पोर्चुगिस मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री कोष्टाले एक सम्बोधन मार्फत आफ्नो पार्टी बिजयी गराएकोमा मतदाता धन्यवाद दिदै आफु मतादेश अनुसार मिलेर सरकार बनाउने तयारी रहेको जनाएका छन् ।

आप्रवासी खुशी !

तुलनात्मक रूपमा आप्रवासी प्रति उदार मानिएको सोसलिष्ट पार्टी र गठबन्धन बिजयी भएकोमा पोर्चुगलका आप्रवासीहरुले सन्तोष ब्यक्त गरेका छन् । किनकी सन् २०१५ मा सोसलिष्ट पार्टीको सरकार बने पछि आप्रवासी नियमहरु धेरै सहज बनाइएको छ । धेरैले पोर्चुगल आवासीय अनुमति पाएका छन् ।

राजनैतिक बिश्लेषक तथा वल्डनेपाली डटकमका प्रधानसम्पादक राजकुमार थापाको बिष्लेषणमा,”युरोप बढ्दै गएको आप्रवासीप्रति अनुदार र दक्षिणपन्थी राजनैतिक धारलाई पोर्चुगलले अस्वीकार गरेको छ, सम्भवत: बेलायतले आप्रवासीप्रति भावनामा बगेर जनमत सग्रहको ब्रेजिक्ट निर्णयले जे परिणाम भोगिरहेको छ, पोर्चुगिस जनता भने उदार र मित्रवत देखिए ।”

पोर्चुगल आप्रवासीहरु प्रति युरोपमै सबैभन्दा उदार र सहज मुलुक मानिन्छ । नेपालीहरुको अहिले युरोप गन्तव्यमा पोर्चुगल प्रमुख देखिएको छ । गतबर्ष नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भ्रमणबाट द्विपक्षीय सम्बन्धमा आएको निकटताले नेपालीहरुलाइ पोर्चुगलमा झन् सहज बनाएको छ । यहाँ झन्डै तीस हजार नेपाली रहेको अनुमान छ ।