१३ बैशाख २०८१, बिहीबार
Follow Us

धनुषामा घुमुवा प्रहरी आतंक, भिड नियन्त्रण गर्न ५ राउन्ड अश्रुग्यास फायर

नेपालब्रिटेन डट कम्
२२ आश्विन २०७६, बुधबार १९:५१

धनुषाको सिमावर्ती क्षेत्रमा एक घुमुवा प्रहरीले दुई जना बालकलाई हातपात गर्दै हत्कडी लगाएर भारत तर्फ लग्न खोजेपछी स्थानीयवासीहरु आक्रोशित बनेका छन् ।
मङ्गलवार करिब ११ बजे तर्फ नगराईन नगरपालिका वडा नम्बर ८ बस्ने १६ वर्षिय बिजय साह हलुवाई आफ्नो भाउजुलाई माइती छाडेर मोटरसाइकलबाट आउदै गर्दा खिरखिरया- बिर्ताको मोडिमा घुमुवा हवल्दार प्रेम शंकर ठाकुरले एक्कासी नियन्त्रणमा लिएर हातपात गर्दै बिजय र १२ वर्षको राजकुमार मण्डललाई पछाडिपट्टि हात बटार्दै हत्कडी लगाएर भारत तर्फ लग्न खोजेको आरोप लगाउदै स्थानियवासी आक्रोशित भएपछि बहुअर्वा प्रहरी चौकीले घुमुवा हवल्दार ठाकुर, उनको सहयोगी राजेश साह, बिजय र राजकुमारलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले बालकलाई नियन्त्रणमा लिएको र कुटपिट गरेको भन्दै स्थानीयवासीले बहुअर्वा प्रहरी चौकी घेराउ गरेका छन् । अत्यधिक संख्यामा भिड बढ्न थालेपछि प्रहरीले विभिन्न ठाउमा गरि ५ राउन्ड अश्रुग्यास प्रहार गरेका छन् भने अहिले अवस्था शान्तिपुर्ण रहेको बहुअर्वा प्रहरी चौकीका असई रामबाबु रायले बताए ।
उनका अनुसार नियन्त्रणमा रहेका घुमुवा प्रहरी हवल्दार ठाकुर र उनका सहयोगी राजेश साहलाई जिल्ला प्रहरी कार्यालय धनुषालाई जिम्मा लगाईएको छ भने ती दुई जना बालकलाई स्थानीय जनप्रतिनिधि तथा अभिभावकको जिम्मा लगाइने बताए ।
यता प्रहरी नियन्त्रणमा रहेका बिजयले आफुलाई प्रेम शंकर ठाकुरले थप्पडै थप्पडले हिर्काएको र पछि हत्कडी लगाएर मोटरसाइकलमा बसाएर सिमावर्ती क्षेत्र तर्फ लग्न खोजेको बताए ।