१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए नवौं महाधिवेशन : कोषाध्यक्ष र सचिवका उम्मेद्धवारले उठाए दोहोरो नागरिकता पाउनुपर्ने माग

नेपालब्रिटेन डट कम्
२२ आश्विन २०७६, बुधबार १९:५७

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरुले दोहोरो नागरिकता पाउनुपर्ने मागलाई जोडतोडका साथ उठाएका छन् । संघको नवौं महाधिवेशनमा भाग लिन विश्वभरिबाट गैरआवासीय नेपालीहरु काठमाडौं आईसकेका छन् । कतिपयले उम्मेद्धवारी समेत घोषणा गरिसकेका छन् । नवौं महाधिवेशनमा अध्यक्षका लागि कुमार पन्त र कुल आचार्यको भीडन्त हुने निश्चित् भैसकेको छ ।
नवौं महाधिवेशनमा कोषाध्यक्षका लागि उम्मेद्धवारी घोषणा गरेका सोम सापकोटा, महेश कुमार श्रेष्ठ र सुदन थापाले पनि गैरआवासीय नेपालहरुले दोहोरो नागरिकता पाउनुपर्ने कुरा उठाएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले संघको नवौं महाधिवेशनको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै कोषाध्यक्षका उम्मेद्धवार सोम सापकोटाले आफू कोषाध्यक्षमा निर्वाचित भए संघको कोषलाई पारदर्शी रुपमा चलाउने विश्वास दिलाए ।
त्यस्तै, सापकोटाले स्वरोजगार कल्याणकारी कोषलाई चलायमान बनाउँदै गैरआवासीय नेपालीहरुको समस्या समाधान गर्नको लागि उपयोग गर्ने बताए । आफूले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुसँग साक्षात्कार गरेको र उनीहरुको सल्लाह र सुझावकै आधारमा कोषाध्यक्षको उम्मेद्धवार बनेको सुनाउँदै आफ्नो जीत सुनिश्चित् रहेको पनि सापकोटाको दाबी छ ।
उनले प्यानल बनाएर चुनाव लड्नुभन्दा संस्था बलियो हुनुपर्छ भन्ने पक्षमा रहेको सुनाए । यद्धपी प्यानलबाटै चुनाव लड्नुपर्ने अवस्था आए अध्यक्षका उम्मेद्धवारी कुल आचार्यसँग आफू नजिक रहेकोले सोहीअनुसार निर्णय लिने पनि उनले स्पष्ट पारे । सापकोटा अहिले संघका सह–कोषाध्यक्ष हुन् । संघलाई कसरी आर्थिक रुपमा बलियो बनाउन सकिन्छ भन्नेबारे आफूसँग विगत १३ वर्ष लामो अनुभव रहेकोले अब उक्त अनुभवलाई व्यवहारमा उतार्ने बेला आएको सुनाउँदै कोषाध्यक्षमा उम्मेद्धवारी दिने निर्णय गरेको सापकोटाको भनाई छ ।
संघमा आवद्ध भएदेखिको १३ वर्षको अवधिमा आफू संसारभरि रहेका राष्ट्रिय समन्वय परिषदमा आफू पुगेको पनि उनले सुनाए । वैदेशिक रोजगारीका समस्यालाई हल गर्नको लागि पनि आफूले पहलकदमी लिने उनले सुनाए । ‘म कल्याणकारी समितिको सदस्य पनि हुँ, आगामी दिनमा वैदेशिक रोजगारीको समस्या जो छन्, ती सबै हल गर्नको लागि पनि म पहल गर्नेछु ।’–उनले भने ।
उनले २ करोड रहेको वैदेशिक रोजगार कल्याणकारी कोषलाई कम्तिमा पनि पाँच करोडको कोष बनाउने जनाए । विभिन्न कालखण्डमा आफूहरुले गरेका सञ्चालनमा रहेका परियोजनाहरुको लेखाजोखा गर्नुपर्ने बताए । राष्ट्रिय समन्वय परिषदलाई पनि आर्थिक रुपमा पारदर्शी बनाउनुपर्ने उनको धारणा छ । उनले आफू निर्विरोध कोषाध्यक्ष हुने सम्भावना सुनाए । तर, चुनावी प्रतिष्पर्धा भएपनि आफू नै विजयी हुने उनले सुनाए ।
उनले संघको नेतृत्वमा उम्मेद्धवारी दिएका कुमार पन्त र कुल आचार्यबीच समझदारी बन्नेमा आफू विश्वस्त रहेको पनि सुनाए । उनले भने,‘हामीसँग अझै एक हप्ता समय छ, हामी सर्वसम्मतीमा नेतृत्व चयन गर्नेबारे प्रयासरत छौं ।’
कोषाध्यक्षका अर्का उम्मेद्धवार महेशकुमार श्रेष्ठले आफ्नो फाईनान्सियल अनुभवलाई संघमा उपयोग गर्ने सोचका आधारमा नै कोषाध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरेको सुनाए । आफू विगत लामो समयदेखि संघका विभिन्न समितिमा बसेर काम गरिसकेको व्यक्ति भएको पनि उनले सुनाए ।
श्रेष्ठले भने,‘मैले संघको विधान र लगानी समितिमा बसेर काम गरिसकेको छु । संघमा मैले लामो योगदान गरेको छु ।’ त्यस्तै, उनले सरकारले गठन गरेको ईन्भेष्टमेन्ट कमिटीमा पनि आफूले लामो समय काम गरेको बताए । संघको कोषलाई कसरी सवलीकरण गर्न सकिन्छ भन्नेबारे आफूसँग ठोस योजना रहेको पनि उनले सुनाए । उनले भने,‘हाम्रो संघको कोष सेफ सन्टेनेवल हुन आवश्यक छ । त्यो अहिले भैरहेको छैन्, हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’ उनले कोषलाई सवलीकरण गर्नेबारे आफ्नो तत्काल, अल्पकालिन र दिर्घकालिन योजना पनि सुनाए । उनकाअनुसार तत्काल गर्न सकिने योजनामा ८ करोड जम्मा गर्न सकिने योजना सुनाए ।
उनले भने,‘म रेमिट्यान्स सेक्टरमा काम गरेको व्यक्ति हुँ, मलाई के थाहा छ भने विश्वभरिबाट अहिले ८ खर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ । रेमिट्यान्स भित्र्याएबापत राष्ट्र बैंकले ३० पैसा ईनसेन्टिभ गर्छ । त्यसको एक पैसामात्रै श्रमिकहरुको लागि कलेक्सन गर्न सकियो भने ८ करोड हुन जान्छ ।’ यसबारेमा आफूले राष्ट्रबैंकका अधिकारीसँग छलफल अघि बढाईएको पनि उनले सुनाए ।
संघको वार्षिक आर्थिक नीति बनाउनुपर्ने आफ्नो धारणा रहेको पनि उनले स्पष्ट पारे । आगामी दिनमा संघका परियोजना र घोषणाहरु आर्थिक योजनामा आधारित हुनेपनि आफूले विश्वास लिएको उनको भनाई छ । संगठनमा हुने खर्चहरु पारदर्शी हुनुपर्ने आफ्नो मान्यता रहेको श्रेष्ठको भनाई छ ।
उनले कोषलाई अनुशासित, मर्यादित र पारदर्शी रुपमा चलाउने प्रतिबद्धता व्यक्त गरे । संघको सांगठानिक संरचनालाई मजबुद बनाउँदै अघि बढाउने पनि उनले विश्वास दिलाए । संघभित्र पार्टीको राजनीति हावी हुन नदिने पनि उनले स्पष्ट पारे ।
कोषाध्यक्षका अर्का उम्मेद्धवार सुदन थापाले संस्थालाई आर्थिक रुपमा बलियो र सशक्त बनाउनको लागि आर्थिक पाटो स्पष्ट हुनुपर्ने बताए । उनले भने,‘नेपालमा विदेशी लगानी भित्र्याउनको लागि पनि मेरो उम्मेद्धवारी हो । सन् २००८ देखि कार्यसमितिमा रहेर कार्यरत छु । लाखौं नेपालीहरुको लागि कल्याणकारी कोषको आवश्कत्ता छ ।’ उनले आफू जापानको अध्यक्ष बन्दै गर्दा नेपालीहरुको ठूलो समस्यालाई मध्यनेजर गर्दै कल्याणकारी कोष खडा गरेको सुनाए । उनले भने,‘वैदेशिक रोजगारमा रहेका साथीहरु अंगभंग हुँदा हामीले सहयोग गर्न नसकेको अवस्था थियो । ती अवस्थालाई देखेर, बुझेर र सिकेर तीनिहरुलाई सहयोग गर्नको लागि पाँच करोडको आपतकालिन कोष जापानमा खडा गरेको थिएँ । त्यो कोष धेरै उपयोगी भएको थियो ।’ उनले आफ्नो समग्र उम्मेद्धवारी देशसँग जोड्नको लागि पनि भएको जिकिर गरे । उनले भने,‘१४ वर्षको अनुभवलाई अब उपयोग गर्नको लागि पनि कोषाध्यक्षमा उम्मेद्धवारी दिन लागेको हुँ। ’
आईसिसीको युवा संयोजक भएर काम गरेको सुनाउँदै थापाले गैरआवासीय नेपाली युवाहरुको वृद्धिविकासमा पनि आफूले ध्यान दिने बताए । उनले भने,‘नेपालमा हालै सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हाम्रा साथीहरुले भाग लिनुभएको थियो । उहाँहरुलाई खेल्ने वातावरण सिर्जना गरेका थियौं ।’ उनले सबैलाई समेटेर जाने पनि प्रतिबद्धता व्यक्त गरे ।
सचिवका उम्मेद्धवार अभिमान सिंह बस्नेतले नेपालको सुनौलो भविष्य भनेको नै पर्यटन क्षेत्र रहेको सुनाए । उनले अहिले संघ झण्डैझण्डै चेम्बर अफ कमर्स हुन गैरहेको पनि टिप्पणी गरे ।
उनले भने,‘टुरिष्ट आउने भनेको मनोरञ्जन गर्न आउने हो । सरकारसँग कुरा गर्नुपर्छ, उनीहरुलाई दिने सेवा तथा सुविधाको लागि ध्यान दिनुपर्छ ।’ उनले एनआरएनए बिल्डिङ सरकारीकरण हुने खतरा रहेको पनि सुनाए । उनले भने,‘यो कुरा उठाउने नेतृत्वमा डिस्कसन गर्न सक्ने क्षमता हुनुपर्छ । संस्थालाई सामूहिक रुपमा अघि बढाउन आफ्नो उम्मेद्धवारी रहेको बताए ।
उनले आफूलाई अध्यधिक बहुमतले सचिवामा जिताउने पनि विश्वास व्यक्त गरे । गैरआवासी नेपालीहरुले दोहोरो नागरिकता पाउनुपर्ने आफ्नो पनि अडान रहेको बस्नेतको भनाई छ । उनले भने,‘नेपालमा प्लेन चढ्दा दुई गुण तीन गुणा भाडा बुझाउनुपर्छ । यहाँको अधिकार पाउनको लागि पनि हामीले दोहोरो नागरिकता पाउनुपर्छ ।’