१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपाल–चीनबीच भएका उच्चस्तरीय भ्रमण

नेपालब्रिटेन डट कम्
२५ आश्विन २०७६, शनिबार ०१:२२

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको नेपालको बहुप्रतीक्षित राजकीय भ्रमण आजदेखि सुरु हुँदैछ । चीन विश्व समृद्ध राष्ट्र बन्ने मार्गतिर अग्रसर रहँदै गर्दा नेपालमा हुन लागेको राष्ट्रपतिको सीको भ्रमणलाई राजनीतिक, आर्थिक र कूटनीतिक जगत्मा महत्वपूर्ण रूपमा हेरिएको छ ।

नेपाल र चीन मित्रताको ऐतिहासिक सम्बन्ध पाँचौँ शताब्दीदेखि हालसम्म विकसित हुँदै अगाडि बढेको पाइन्छ । चिनियाँ भिक्षु फा सियान र नेपाली भिक्षु बुद्धभद्रको यात्राले त्यो सम्बन्धलाई विगतदेखि वर्तमानसम्मको डोरीमा बाँधिराखेको छ । भिक्षु फाले आफ्नो यात्रा वृत्तान्तमा बुद्धभूमि नेपालमा आफूले देखेका र भोगेका विषय प्रष्ट लेखेक पाइन्छ । करिब एक हजार छ सय वर्षअघि कपिलवस्तु र लुम्बिनीको भ्रमण गरेको त्यो क्षण अझै पनि अभूतपूर्व यात्रा वृत्तान्त मानिन्छ ।

भिक्षु फाका अनुसार, एसिया भ्रमणपछि चीन फर्केका बेला नानचिङमा बुद्धभद्रसँग भेट भएको थियो । दुवै मिलेर बौद्ध दर्शनका सूत्र प्रतिपादन गरे । सातौँ शताब्दीको सुरुताका नै लिच्छवि राजकुमारी भृकुटीको विवाह तिब्बतका राजकुमार स्रङचङ गम्पोसँग भएको थियो । चिनियाँ यात्रीको नेपाल भ्रमणपछि नेपालमा चिनियाँ नागरिकको आवतजावत बढ्न थालेको पाइन्छ । त्यसैक्रममा १३ औँ शताब्दीको आधाआधीको समयमा नेपालका कलाकार अरनिकोसहितको टोलीले चीन भ्रमण गरी चीनमा नेपालको कला संस्कृतिको प्रसार गरेको सुनौलो इतिहास छ । गोरखापत्रमा खबर छ ।