११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए महाधिवेशन आजदेखि, राष्ट्रपतिले उद्घाटन गर्ने

sarusaru
२८ आश्विन २०७६, मंगलवार ०४:३१

काठमाडौं । विदेशिएका नेपालीहरूको हक–हितका लागि भनेर स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

होटल ह्यातमा हुने सम्मेलन ३० असोजसम्म सञ्चालन हुनेछ । एनआरएनएले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट महाधिवेशन उद्घाटन गराउने तय भएको जनाएको छ ।

हरेक २ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार, एनआरएनएले नवौं महाधिवेशन गर्न लागेको हो ।

सिट ४२, आकांक्षी धेरै

नवौं महाधिवेशनले आगामी कार्याकालका लागि नयाँ नेतृत्व चयनलगायतका महत्त्वपूर्ण सांगठनिक निर्णय गर्नेछ । एनआरएनएमा अध्यक्षसहित कुल १२ पद छन् । यी पदहरूमा ४२ जना निर्वाचित गर्नुपर्ने विधानमा व्यवस्था छ । तर, सीमित पदहरूमा धेरैले आकांक्षा देखाउने गरेपछि अघिल्ला महाधिवेशनदेखि नै एनआरएनएमा रोचक चुनावी भिडन्त हुने गरेको छ । यस वर्ष पनि विगतझैं कडा प्रतिस्पर्धा हुने ठानिएको छ ।

अध्यक्षका लागि यसपटक हालका दुई उपाध्यक्ष कुमार पन्त र कुल आचार्य मैदानमा छन् । पन्त वाम र आचार्य प्रजातान्त्रिकनिकट मानिन्छन् । दुवैले नयाँ नेतृत्वका लागि आफू योग्य भएको दाबी गर्दै चुनावी माहोल आफ्नो पक्षमा पार्न प्रचार तीव्र पारेका छन् ।

उपाध्यक्षमा एक महिलासहित ५ उम्मेदवार एनआरएनएले छनोट गर्नुपर्नेछ । यसअघि प्रायः सहमतिमा यी पद पूर्ति हुने गरे पनि यसपटक अध्यक्षको तुलनामा बढी आकांक्षी देखिएका छन् । उपाध्यक्षका लागि आकांक्षीहरूले उम्मेदवारी घोषणा गरिरहे पनि खासगरी डा. बद्री केसी, सोनाम लामा, रवीना थापा, डा. केशव पौडेल, नरेन्द्र भाट, हिक्मत थापा, अर्जुनकुमार श्रेष्ठबीच कडा टक्कर पर्ने अनुमान गरिएको छ । पन्तको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका नुवाकोट तारुकाका धर्मराज अधिकारीलाई पनि बलिया उम्मेदवारका रूपमा हेरिएको छ ।

महाधिवेशनले १ महासचिव, २ सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १/१ जना निर्वाचित गर्नेछ । यी पदमा पनि धमाधम उम्मेदवारी घोषणा भइरहेका छन् ।

प्रत्येक क्षेत्रीय समितिबाट एक/एक गरी ६ जना क्षेत्रीय संयोजकहरु विश्व सम्मेलनबाट निर्वाचित हुनेछन् । त्यसैगरी, क्षेत्रीय उपसंयोजकअन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुने एनआरएनएले जनाएको छ । विधानबमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने निर्वाचन समितिको सूचनामा उल्लेख छ ।

त्यस्तै एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २/२ जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १/१ जना क्षेत्रीय उपसंयोजक चयन हुनेछन् ।

प्रत्येक क्षेत्रबाट १/१ जनाका दरले ६/६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने समितिले जनाएको छ ।

काठमाडौं उत्रिए २५ सय प्रतिनिधि

विभिन्न पेसा–व्यवसायको सिलसिलामा ८० लाख नेपाली देश बाहिर रहेको अनुमान छ । एनआरएनएमा विश्वका विभिन्न देशमा पुगेका यिनै नेपालीहरू संगठित छन् ।

आफ्नो छाता संगठनको सांगठनिक सुदृढीकरण, नयाँ नेतृत्व चयनलगायत महत्त्वपूर्ण निर्णय महाधिवेशनमार्फत हुने भएकाले विदेशमा रहेका नेपालीहरूमा चटारो बढेको छ । एनआरएनएले सोमबार दिएको जानकारी अनुसार, सम्मेलनमा सहभागिताका लागि २५ सय प्रतिनिधि काठमाडौं आइपुगेका छन् ।

निर्वाचन एकै दिनमा

काठमाडौंमा सम्मेलन उदघाटनको भोलिपल्ट अर्थात बुधबार उम्मेदवारको मनोनयन दर्ता प्रक्रियादेखि मतदानको प्रक्रियासम्म चल्नेछ ।

बुधबार दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म मतदान भइसक्ने र निर्वाचन सम्पन्न भएको एक घण्टामा मतगणना गर्ने समितिको सूचनामा उल्लेख छ ।
अनलाइनखबर