१३ बैशाख २०८१, बिहीबार
Follow Us

हतियारसहित लागुऔषध कारोवारी पक्राउ

sarusaru
२८ आश्विन २०७६, मंगलवार ०४:४३

धरान : भारतीय रिभल्वर पेस्तोलसहित एकजना लागुऔषध कारोवारीलाई धरान प्रहरीले पक्राउ गरेको छ ।आइतबार राति इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले सुनसरीको कोसी गाउँपालिका-३ घर भएका २३ वर्षीय निरज कुमार राउतलाई पक्राउ गरेको हो। उनी लामो समयदेखि धरानमा लागुऔषध कारोवार गर्दै आएको बुझिएको छ।

प्रहरीले उनको साथबाट ठूलो मात्रामा लागुऔषध बरामत गरेको छ । विशेष सुराकीको आधारमा धरान उपमहानगरपालिका १० स्थित बलबहादुरको घरमा डेरा गरी बस्दै आएका राउतको कोठामा छापामारी लागुऔषध र हतियार बरामत गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले बताए ।

पक्राउ परेका राउतलाई प्रहरीले सोमबार पत्रकार सम्मेलनमा सार्बजनिक गरेको हो । प्रहरीले राउतको कोठामा एउटा भारतीय म्याग्जिन सहितको पेस्तोल, १३ राउण्ड गोली, लागुऔषध स्पास्मो प्रोक्सिवन १ हजार ९४४ क्याप्सुल, डाइलेक्स डिसी २२५ बोतल, नाइट्रजन ६ सय ४० थान, ७ ग्राम खैरो हिरोइन र नगद ११ हजार ३३० रुपैयाँ नगद बरामत गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले बताए।

उनले पक्राउ परेका राउत विरुद्ध लागुऔषध कारोवार र हातहतियार खरखजना ऐनअन्तर्गत मुद्धा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाएको जानकारी दिए।
अन्नपूर्ण पोस्ट