१३ बैशाख २०८१, बिहीबार
Follow Us

२८ केजी चाँदीसहित दुई पक्राउ

sarusaru
२ कार्तिक २०७६, शनिबार ०३:४५

वीरगन्ज : सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका पर्सा र बाराका नाकाबाट शुक्रबार ठूलो परिमाणमा अवैध चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले झण्डै २८ किलो चाँदीसहित दुइ जनालाई पक्राउ गरेको हो । वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले शुक्रबार दिउँसो ८ केजी ८ सय ८० ग्राम चाँदीसहित सप्तरीको नेगरा स्थायी घर भई हाल चितवनको खैरहनीमा बस्दै आएका ४५ वर्षीय अंगद साहलाइ पक्राउ गरेको हो ।

वीरगन्ज भन्सारको राजश्व चुहावट नियन्त्रणमा खटिएको सशस्त्र प्रहरीले भन्सार नजिकै रहेको रजत जयन्ति चोकबाट साहलाई पक्राउ गरेको हो ।

भारतको रक्सौलबाट टयाम्पुमा चढेर वीरगन्ज आउँदै गरेका साहलाई अवैध चाँदीसहित पक्राउ गरिएको शसस्त्र प्रहरी नायव उपरीक्षक अमर खत्रीले जानकारी दिए ।

ट्याम्पो रोकेर चेकजाँच गर्दा साहको साथमा रहेको बोरा भित्र आलु , धनिया र लसुनभित्र लुकाएर राखिएको अवस्थामा चाँदी फेला परेको उनले बताए ।

साहलाई आवश्यक अनुसन्धान र कावारहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

शुक्रबार नै बाराको सिम्रौनगढ नाकाबाट पनि सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध चाँदीसहित अर्का एक जना पनि पक्राउ परेका छन् ।

भारतसँग सीमा जोडिएको सिम्रौनगढ नगरपालिका– ६ सतुवाही नाकाबाट सशस्त्र प्रहरीले १९ किलो १ सय ग्राम चाँदीसहित बाराको साविकको बारागढी गाँउपालिका ६ घर भएका ३२ वर्षीय मुख्ती साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गोप्य सुराकीको आधारमा गोलागन्जमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउटपोष्टबाट सशस्त्र प्रहरी निरीक्षक कविर मल्लको नेतृत्वमा खटिएको टोलीले साहलाई शुक्रबार बिहान पक्राउ गरेको हो ।
अन्नपूर्ण पोष्ट