१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भेटवार्ता

नेपालब्रिटेन डट कम्
२७ कार्तिक २०७३, शनिबार ०८:२७

काठमाडौं । संविधानको दोस्रो संशोधनको प्रस्तावलाई अन्तिमरुप दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा उहाँहरुबीच संविधान संशोधनको प्रस्तावको मुख्य विषय सीमाङ्कन हेरफेरमा छलफल केन्द्रित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

संविधानमा तराई केन्द्रित दलले समानुपातिक समावेशीता र नागरिकतालगायतका विषयमा असन्तुष्टि राख्दै संविधानको दोस्रो संशोधनको माग गर्दै आएका छन् ।

प्रधानमन्त्री दाहालले सत्तारुढ, प्रतिपक्ष र आन्दोलनरत दललाई मान्य हुने गरी संविधान संशोधनको प्रस्ताव तयार गर्न राजनीतिक दलका नेतासँगको छलफललाई तीव्र बनाउनुभएको छ ।

यसै सन्दर्भमा सभापति देउवाले प्रमुख प्रतिपक्ष दलका नेता एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटी संविधान संशोधनका विषयमा शुक्रबार छलफल गर्नुभएको थियो ।