६ चैत्र २०८०, मंगलवार
Follow Us

एनआरएनए नवनिर्वाचित पदाधिकारीको एक स्वर : भ्रमण वर्ष सफल पार्छौं

नेपालब्रिटेन डट कम्
३ कार्तिक २०७६, आईतवार ०४:२०

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुले एक स्वरमा नेपाललाई समृद्ध बनाउनको लागि आफ्नो प्रतिबद्धता जनाएका छन् । नवनिर्वाचित पदाधिकारीलाई रिपोर्टर्स क्लब नेपालले सम्मान तथा बधाई दिन आयोजित कार्यक्रममा बोल्दै उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

क्लबका सभापति ऋषि धमलाले नवनिर्वाचित पदाधिकारीहरुलाई खादा तथा माला लगाएर सम्मान गरेका हुन् । अध्यक्ष कुमार पन्त, उपाध्यक्षत्रय सोनाम लामा, मन केसी र अर्जुनकुमार श्रेठ, महासचिव डा. हेमराज शर्मा, सचिव आर.के. शर्मा, सह–कोषाध्यक्ष लोक दाहाल, एशिया प्यासिफिक डेपुटी रिजनल कोअर्डिनेटर खगेन्द्र न्यौपाने, अमेरिका क्षेत्रिय महिला संयोजक उमा कार्कीथापालगायतलाई धमलाले सम्मान तथा बधाई र सफल कार्यकालको शुभकामना दिएका हुन् ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कुमार पन्तले मुलुक समृद्ध बनाउनको लागि गैरआवासीय नेपालीहरुले अहम भूमिका खेल्दै आएकोले आगामी दिनमा नेपालको विकास र समृद्धिको लागि झन ठूलो योगदान पुर्याउने विश्वास दिलाए । उनले भने,‘हामी यो देशको विकासमा केही गर्छौं भनेर लागिरहेका छौं । नयाँ भिजनसहित हाम्रो फ्रेश टिम निर्वाचित भएर आएको छ ।’

पन्तले आफूहरुसँग अत्यन्त छोटो समय रहेकोले आफ्नो २ वर्षे कार्यकालमा यसअघि गरेका वाचा तथा प्रतिबद्धताहरु पूरा गरेरै छोड्ने पनि स्पष्ट पारे । उनले भने,‘हामीसँग अब टाईम लिङगरिङ गर्ने छुट छैन् । यो २४ महिनामा हामीले गरेका सबै वाचा तथा प्रतिबद्धताहरु पूरा गर्नुपर्छ । हामी आजैबाट दत्तचित्त भएर लागिपरेका छौं ।’ अध्यक्ष पन्तले मुलुकमा रोजगारीको अवसर सिर्जना गर्नको लागि एनआरएनएले ठूलो भूमिका निर्वाह गर्ने पनि बताए ।

उनले भने,‘गैरआवासीय नेपालीहरुले विदेशमा हाँसिल गरेको ज्ञान, सिप, पुँजी र लगानी नेपाल भित्र्याउनेछौं । हामी यो देशको विकास र समृद्धिको लागि सामूहिक लगानी ल्याउँछौं । पछिल्लो समय हामीले नेपालमा सामूहिक लगानी सुरु गरिसकेका छौं । यसैको उदाहरण हो २७ मेगावाटको तोर्दी खोला हाईड्रोपावर, जुन हामीले निर्माण सम्पन्न गरिसकेका छौं ।’ त्यस्तै, नेपाल सरकारसँग १२ अर्व लगानी भित्र्याउने भनेर एम.ओ.यु.पनि गरिसकेको उनले सुनाए । उनले भने,‘हामीले यो प्रतिबद्धता पूरा गर्नको लागि काम पनि सुरु गरिसकेका छौं ।’ उक्त म्युच्युअल फण्डमा ९० प्रतिशत लगानी गैरआवासीय नेपालीको रहने र बाँकी १० प्रतिशतमा ५ प्रतिशत निजी क्षेत्र र अर्को ५ प्रतिशत नेपाल सरकारको रहने पनि उनले जनाए ।

अध्यक्ष पन्तले विदेशबाट ठूलो संख्यामा नेपाल आउने रेमिट्यान्स अनउत्पादनशिल क्षेत्रमा खर्च भैरहेको सुनाउँदै आगामी दिनमा उक्त रेमिट्यान्स उत्पादनको क्षेत्रमा लगानी गर्ने पनि बताए । विदेशमा श्रममा रहेका नेपालीहरुको हित र कल्याणको लागि स्थापना गरिएको श्रमिक कल्याणकारी कोषमा भएको रकम दोब्बर गर्ने भनेर बोलिएअनुसार आजैबाट काम सुरु भएको पनि उनले स्पष्ट पारे ।

उनले भने,‘आज बसेको हाम्रो नवनिर्वाचित कार्यसमितिको बैठकबाट कोषमा एक करोड ५ लाख रकम जम्मा भैसकेको छ ।’ त्यस्तै, उनले श्रमसम्बन्धी समस्या समाधानको लागि कसरी अघि बढ्ने भन्नेबारे आफूले श्रममन्त्री गोकर्ण विष्टसँगपनि छिट्टै छलफल सुरु गर्ने जनाए ।
पन्तले संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा निर्वाचनको भोटिङ मेशिनमा समस्या देखिएको बताए । उनले भने,‘यसपालि आलोचना हुनुको कारण भनेको भोटिङ सिस्टमले गर्दा हो । हामीले यसअघि रामलक्ष्मण दाजुभाइको कम्पनीबाट भोटिङ मेसिन ल्याएर निर्वाचन गराएका थियौं । त्यो मेसिन अन्य निर्वाचनहरुमा पनि प्रयोग भइरहेको रहेछ । त्यही मेसिन ल्याएर हामीले निर्वाचन सम्पन्न गराउन खोज्यौं । तर, प्राविधिक समस्या सिर्जना भयो ।’

उनले गैरआवासीय नेपालीभन्दा पनि बाहिरका मान्छेले निर्वाचनमा संघलाई बदनाम गराएको टिप्पणी गरे । उनले भने,‘हाम्रो संस्था गैरराजनीतिक संस्था हो । राजनीतिकरण गर्नुहुँदैन् । हामी सबै गैरआवासीय नेपालीहरु एकताबद्ध भएर बस्न चाहन्छौं । विभाजित हुन चाहँदैनौं ।’ उनले राजनीतिको नाममा आफूहरुलाई विभाजित नगरियोस भन्ने धारणा राखे ।

नेपालमा ठूला दलका ठूला नेताहरुले जबरजस्ती राजनीतिकरण गरेर निर्वाचित प्रभावित गरेकोले आगामी महाधिवेशन र निर्वाचन नेपालमा नगर्ने भनेर आफूले बोलेको पनि उनले सुनाए । उनले भने,‘आगामी निर्वाचन हामी नेपालबाहिरै गर्छौं । अनलाईन भोटिङ सिस्टम लागु गर्छौं ।’
यो पटकको निर्वाचनमा पैसाको पनि विकृति देखिएको उनको भनाई छ । उनले भने,‘मेरो दुईवर्षे कार्यकाल पूरा गर्नका लागि मैले केही ठोस योजना तर्जुमा गरेको छु । मैले नम्बर वान के भनेको छु भने विदेशमा बस्ने जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरु हुनुहुन्छ, उहाँहरुलाई पञ्जीकृत शुल्क हटाएर निःशुल्क सदस्यता दिलाउँछु । किनकि पैसाका नाममा हाम्रो अभियानमा केही विकृतिहरु भित्रिएका छन् । यस्ता विकृतिहरुलाई म मेरो कार्यकालमा हटाउन चाहान्छु ।’ यसको लागि आफूहरुको आज बसेको बैठकले एउटा कार्यदल गठन गरेर काम पनि सुरु गरिसकेको पन्तको भनाई छ ।

नेपाल र नेपाली जनताले संघबाट ठूलो आशा र भरोशा गरेकोले परोपकारी काममा संघ बढि केन्द्रित हुनेपनि उनले विश्वास व्यक्त गरे । उनले भने,‘च्यारिटी काम बढि गर्नको लागि फाउण्डेशन बनाएर अघि बढ्छौं ।’ त्यस्तै, उनले महिला उद्यमशिलता बढाउनको लागि आफूहरुले विशेष ध्यान दिएर काम गर्ने बताए । अहिलेको पुस्ता विस्तारै बुढो हुँदै जाने भएकोले आगामी सक्षम युवा पुस्ता तयार पार्नको लागि युथ अन्टरप्रेन्युअरसिप कार्यक्रम सञ्चालन गरिने पनि उनले जानकारी दिए ।

विश्वभरि छरिएर रहेका ८० लाख गैरआवासी नेपालीहरुले मातृभूमी नेपाल समद्ध र धनी भएको हेर्न चाहेको सुनाउँदै त्यसकै लागि काम गर्ने पनि पन्तले बताए । उनले भने,‘हामी मुलुक समृद्ध बनाउने अभियानमा होमिएका छौं । अहिले स्वर्णिम अवस्था हो । अहिलेको पुस्ताले केही नगरे आउने पुस्ताले हामीलाई धिक्कार्नेछ । हामीले अर्को पुस्ताले वाह भन्ने काम गर्नुपर्छ ।’ नवनिर्वाचित पदाधिकारी उच्च मनोबलका साथ आएकोले नेपाललाई समृद्ध बनाउनेगरि काम गर्ने र नेपालको विकसित हुने भाग्य रहेको पनि उनले बताए ।

नवनिर्वाचित उपाध्यक्ष मन केसीले आफूहरुले दिर्घकालिन योजनासहित काम गर्ने बताए । यसअघि गरिएका प्रतिबद्धताहरु कार्यान्वयन गरेरै छोड्ने पनि उनको विश्वास छ । संस्थामा बौद्धिक, उद्यमी, व्यवसायीलगायत सफल व्यक्तिहरु रहेकोले आगामी दिनमा मुलुकको विकास र समृद्धिको लागि योगदान पुर्याउनेगरि काम गर्ने पनि केसीले प्रतिबद्धता जनाए ।

नवौं महाधिवेशन भव्य रुपमा सम्पन्न भएको सुनाउँदै उनले सम्मेलनबारे अहिले जनस्तरबाट मिश्रित प्रतिक्रिया आएको बताए । उनले भने,‘चामलमा बियाँहरु देखियो भने नाङलोले फ्याँकेजस्तै, हामी पनि संस्थाभित्र देखिएका बियाँहरु फ्याँक्छौं ।’ उनले संस्थामाथि लागेका सबैखाले दाग र खोटहरु मेटाउने पनि विश्वास दिलाए ।

त्यस्तै, अर्का उपाध्यक्ष सोनाम लामाले आफूले सुरुदेखि नै दोहोरो नागरिकताको निरन्तरताको बारेमा वकालत गरिरहेकोले उक्त काम पूरा गर्नको लागि सदैव प्रयास गर्ने स्पष्ट पारे । त्यस्तै, उनले नेपाल सरकारले घोषणा गरेबमोजिम पर्यटन वर्ष–२०२० लाई सफल तुल्याउनको लागि आफूहरुले सक्दो भूमिका निर्वाह गर्ने पनि विश्वास दिलाए ।

उनले भने,‘नेपालमा २० लाख पर्यटक भित्र्याउनको लागि हाम्रो पनि ठूलो भूमिका र जिम्मेवारी छ । एक एनआरएनए एक विदेशी नेपाल भित्र्याउनको लागि पहल गर्नुपर्छ । यसको लागि म पूर्ण रुपले लाग्नेछु ।’ मुलुकलाई आर्थिक सम्पन्नशाली बनाउनको लागि आफूहरुको पूरा साथ र सहयोग रहने पनि लामाले बताए । उनले भने,‘यसअघि घोषणा गरिएको निर्माणाधिन मेगा प्रोजेक्टहरु जो छन्, ती पूरा गर्नको लागि हामी निरन्तर लाग्नेछौं । म भाषणमा विश्वास गर्दिन् । काममा विश्वास गर्छु ।’

कार्यक्रममा अर्का उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले अहिलेको नयाँ निर्वाचित टिमले धेरै कुरा बोल्नेभन्दा पनि बोलेका कुरा पूरा गर्ने र पूरा गर्नसक्ने कुरामात्रै बोल्ने स्पष्ट पारे । आफूहरुले गरेका वाचा तथा प्रतिबद्धताहरु समयमै कार्यान्वयन गर्ने पक्षतर्फ दत्तचित्त भएर लाग्ने उनको धारणा छ । त्यस्तै, उनले भिजिट नेपाल–२०२० लाई सफल तुल्याउनको लागि आफूहरुले ठूलो भूमिका निर्वाह गर्ने र नेपाल सरकारलाई सहयोग गर्ने बताए ।

कार्यक्रममा नवनिर्वाचित महासचिव डा. हेमराज शर्माले नवौं विश्व सम्मेलनमा निर्वाचनको क्रममा उत्पन्न समस्याका कारण संघको छविमा केही प्रश्न उठेको भएपनि त्यसलाई छिटपुट घट्नाको रुपमा चित्रण गरे ।

उनले भने,‘हामीले यस विषयलाई गम्भिर रुपमा लिएका छौं । निर्वाचन पद्धती र संगठनात्मक संरचनाबारे हामीले सोचेका छौं । निर्वाचन पद्धती परिवर्तन गर्नेबारे हामीले निश्कर्ष निकालेका छौं । निर्वाचनमा कसैले पनि यसरी भाग लिनुपर्दैन्, सिधै अनलाईन भोटिङ प्रणालीको व्यवस्था गर्छौं ।’ शर्माले आज बसेको कार्यसमितिको पहिलो बैठकले पनि यसबारेमा कार्यदल बनाएको सुनाए । उपाध्यक्ष मन केसीको संयोजकत्वमा कार्यदल बनाएको उनले जनाए ।

सन् २०२१ मा हुने दशौं विश्व सम्मेलनमा आफूहरु व्यवस्थित् भएर आउने पनि उनले विश्वास दिलाए । उनले अहिले नयाँ टिम निर्वाचित भएर आएको र देशको समृद्धि र विकासको लागि योगदान पुर्याउनेगरि आफूहरुले काम गर्ने पनि प्रतिबद्धता जनाए ।

कार्यक्रममा नवनिर्वाचित सचिव आर.के. शर्माले मध्यपुर्व एशियामा रहेका श्रमिक नेपालीहरुको समस्या समाधानको लागि आफूहरु सधैं लागिपर्ने बताए । नेपालको विकासमा मध्यपुर्व एशियाबाट आउने रेमिट्यान्सले ठूलो टेवा पुगेको बताउँदै आगामी दिनमा उक्त रेमिट्यान्सलाई लगानीमा परिणत गर्ने सुनाए।

त्यस्तै, सह–कोषाध्यक्ष लोक दाहालले पनि आफूहरु देशको विकास र समृद्धिमा एकजुट भएर लागिपर्ने बताए । अमेरिका क्षेत्रीय महिला संयोजक उमा कार्की थापाले विदेशमा बसेपनि आफूहरुको मन, मस्तिष्कमा नेपाल रहेको सुनाउँदै मातृभुमीको विकासमा जहिल्यैपनि जोडिने विश्वास दिलाईन् ।

उनले आफू समाजसेवामा सुरुदेखि नै सक्रिय रहेको सुनाउँदै आगामी दिनमा संघमार्फत मुलुकको विकासमा टेवा पुर्याउने बताईन् । नेपालमा केही विपत्त पर्दा विदेशमा बस्ने आफूहरुजस्त नेपालीहरु पनि रुने गरेको उनले नेपालको हरेक सुख, दुखमा आफूहरु पनि सँगै रहेको सुनाईन् । नेपाललाई आर्थिक रुपमा धेरै माथि उठाउन आफूहरुले भूमिका निर्वाह गर्ने कार्कीको भनाई छ ।

त्यस्तै, एशिया प्यासिफिक डेपुटी रिजनल कोअर्डिनेटर खगेन्द्र न्यौपानेले पनि श्रमिकको समस्या समाधानको लागि आफूहरुले पहल गर्ने र नेपालको विकास र समृद्धिमा टेवा पुर्याउने वचनबद्धता व्यक्त गरे ।

त्यस्तै, एसिया प्यासिफिक क्षेत्रीय संयोजक रोविन्द प्रसाद श्रेष्ठ ‘गोविन्द’ ले श्रमिकको मुद्दालाई आफूहरुले जोडदार रुपमा उठाउने र श्रमिक फण्ड बलियो बनाउने बताए ।

कार्यक्रममा क्लबका सभापति धमलाले नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिँदै अध्यक्ष पन्तलाई सबै साथीहरुलाई मिलाएर लैजान आग्रह गरे । नेपालको विकास र समृद्धिमा गैरआवासीय नेपालीहरुले ठूलो योगदान गर्नसक्ने बताउँदै उनले त्यसको लागि विभाजित भएर भन्दापनि एकताबद्ध भएर अघि बढ्नुपर्ने सुझाव दिए ।