१५ बैशाख २०८१, शनिबार
Follow Us

पत्रकारितामा तपाईं कि तिमी  ?

नेपालब्रिटेन डट कम्
४ कार्तिक २०७६, सोमबार ०१:०६

काठमाडौँ। नेपाली पत्रकारिता क्षेत्रमा आदरार्थी शब्दको कञ्जुस्याइँ भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा नै चिन्ता व्यक्त गरेपछि नेपाली भाषाका विद्यार्थी, प्रयोगकर्ता र पत्रकारिता क्षेत्रमा भाषा बहसले पुनः स्थान पाएको छ ।
साहित्यकार श्यामप्रसाद शर्माले २०१४ सालमै निबन्ध लेखेका थिए, ‘तँ तिमी तपाईं हजुर !’ नेपाली समाजमा वर्ग र समुदायको विभेदसँगै भाषामा रहेको छुवाछूतलाई शर्माको निबन्धले चिरफार गरेको छ । आखिर तिमी र तपाईंको साँध सिमाना के हो ?
वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले भने, “कतिपय समुदायले अहिले पनि बा–आमालाई तिमी भनेको सुनिन्छ तर जे चलेको छ, त्यही मापदण्ड हो वा हुनुपर्छ भन्ने हुँदैन । आदरार्थी शब्दको प्रयोग नेपाली भाषामा मात्र होइन, संसारका सबै भाषामा प्रयोग भइरहेको छ ।”
सन्दर्भअनुसार ‘तँ’समेत आदरार्थी हुने धारणा उनको छ । वरिष्ठ पत्रकार अधिकारीले भने, “स्नेहबस बच्चालाई तँ, तिमी भन्छौँ । तँ, तिमी, तपाईं भाषाको विशेषता होइन । बोलीचालीमा दाइ, भाइ, दिदी, बहिनी, बुवा, आमालाई सन्दर्भअनुसार तँ, तिमी, तपाईं, हजुर भन्नुपर्ने हुन्छ ।”
उनले पञ्चायतकालमा राजाले प्रधानमन्त्रीलाई ‘तिमी’ भनेर सम्बोधन गर्ने गरेको स्मरण गर्दै भने, “त्यो परम्परा पाच्य नभएपछि तपाईं भन्न थालियो । सबैभन्दा ठूलो कुरो सन्दर्भ र प्रसङ्ग हो । त्यसअनुसार सम्बोधन गर्नुपर्ने हुन्छ ।” उनले भाषा प्रयोगमा खुम्चिने नभई दायरा र विकल्प फराकिलो बनाउँदै जानुपर्ने बताए । उनले समाजको दिशा निर्देशकसमेत पत्रकारिताले गर्ने भएकाले पत्रकारमा भाषाको दख्खल हुनुपर्नेमा जोड दिँदै भने, “पत्रकारिताले मर्यादा राख्दा राम्रो हुन्छ । विदेशी मिडियाले नामका अगाडि मिस्टर, श्रीमती प्रयोग गर्छन् तर हामी सीधै तिमी लेखिदिन्छौँ ।”
त्यस्तै वरिष्ठ पत्रकार गोविन्द अधिकारीले संसारका सबै पुराना भाषामा श्रेणी रहेको चर्चा गर्दै ‘तिमी’ आदरणार्थी शब्द नै भएको जिकिर गरे । गोरखापत्रमा खबर छ।