७ बैशाख २०८१, शुक्रबार
Follow Us

दशैं सकिएसँगै बैंकमा तरलता अभाव

नेपालब्रिटेन डट कम्
५ कार्तिक २०७६, मंगलवार ०५:४८

काठमाडौं । दशैं सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरुमा क्रेडिट क्रञ्च (लगानी गर्ने रकम अभाव) को समस्या देखिन थालेको छ । विगत वर्षहरूमा बैंकहरुले खेप्दै आएको समस्या यस वर्ष पनि दोहोरिएको हो । विगतमा पनि ठूला चाडबाड तथा निर्वाचन सकिएपछि तरलता अभाव हुने गरेको थियो । तर, चालु आर्थिक वर्षमा भने कतिपय नीतिगत सुधारका कारण बैंकिङ क्षेत्रमा यस्तो समस्या नहुने विश्लेषण थियो ।

दशैंअघि अधिक तरलता रहेको अवस्थामा बैंकहरु निक्षेप नहेरी कर्जा विस्तारमा हौसिए । फलस्वरूप, दशैंलगत्तै बैंकिङ क्षेत्रमा तरलता अभावको समस्या देखिएको छ ।
बैंकहरुमा लगानीयोग्य रकमको अभाव हुने संकेत कर्जा तथा निक्षेपबीचको अनुपात (सीसीडी रेसियो)ले समेत गर्छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई सीसीडी रेसियो ८० प्रतिशतभन्दा कम राख्नुपर्ने व्यवस्था गरेको छ । तर, लगानीयोग्य रकमको अभाव हुँदा केही बैंकको सीसीडी ८० प्रतिशत नाघिसकेको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले सीसीडी रेसियो औसतमा ७६ प्रतिशत रहेको जानकारी दिए । ‘तरलता अहिले ५३ अर्ब छ, सीसीडी रेसियो कुन–कुन बैंकको ८० प्रतिशत नाघ्यो भनेर हेर्नै पर्ने हुन्छ,’ उनले भने ।