१३ बैशाख २०८१, बिहीबार
Follow Us

मेरो प्रशंसा गर्नुभयो, मैले उहाँलाई मन पराएँ

नेपालब्रिटेन डट कम्
५ कार्तिक २०७६, मंगलवार ०५:५५

पिंकी लामा श्रेष्ठ, प्रोपराइटर, फेमिना मेकअप स्टुडियो, चितवन

फेमिना ब्युटिपार्लर भर्खर मेकअप स्टुडियोमा रुपान्तरण भएको छ । समयसापेक्ष सेवाग्रहीको आवश्यकता पूरा गर्न ब्युटिपार्लरलाई स्टुडियोमा रुपान्तरण गरेको यसका प्रोपराइटर पिंकी लामा श्रेष्ठ बताउँछिन् । पर्सनालिटी र आत्मविश्वास वृद्धिका लागि सौन्दर्य आवश्यक छ । पर्सनालिटी र आत्मविश्वासले सधैं अरुभन्दा एक कदम अगाडि राख्ने पिंकीको भनाइ छ । सौन्दर्य किन आवश्यक छ, यो पेसामा देखिएको समस्या तथा उनको निजी जीवनबारे गरेको कुराकानी :

० अरुलाई सिंगारेर पनि व्यवसाय चलाउन सकिन्छ ?
– लिपिस्टिक पाउडर लगाउनु मात्रै मेकअप हो भन्ने मान्यता पुरानो भइसक्यो । यो सौन्दर्यसँग जोडिएको विषय हो । यसका विभिन्न विधा हुन्छन् । सौन्दर्यले स्मार्ट देखिन्छ, स्मार्ट भएपछि आत्मबल प्राप्त हुन्छ, आत्मबलले मानिसलाई जहिले अगाडि हिँड्न पे्ररित गर्छ । त्यसैले मेकअप पेसा व्यावसायिक रूपमा विकसित भएको हो ।

० यो पेसालाई हाम्रो समाजले कसरी हेरेको छ ?
– नयाँ पुस्तामा यसबारे सकारात्मक धारणा विकास भइसकेको छ । यद्यपि यसलाई नपढेका महिलाहरूको टाइम पास गर्ने, नक्कली बनाउने र विकृति ल्याउने पेसा भन्नेहरूको जमात पनि छ ।

० सुन्दरता निखार्न किन आवश्यक छ ?
– छालामा डण्डीफोर आएर कोही निरास भइरहेका हुन्छन्, जसले मानिसको पर्सनालिटीमा धक्का दिइरहेको हुन्छ । सुन्दरता निखारियो भने पर्सनालिटी वृद्धि हुन्छ, आत्मविश्वास बढ्छ । महिलाको मात्र होइन, पुरुषको समेत सुन्दरता निखार्न जरुरी हुन्छ ।

० केहिलेदेखि यो पेसामा हुनुहुन्छ ?
– १८ वर्ष लाग्यो । ब्युटिपार्लरबाट सुरु गरेकी थिएँ, यस वर्षदेखि मेकअप स्टुडियोमा रूपान्तरण भएको छ । समयसापेक्ष आफूलाई परिवर्तन गर्दै सेवाग्राहीको चाहनाअनुरूप मेकअप स्टुडियोको सेवा दिन थालेका हौं ।

० मेकअप स्टुडियोले के सेवा दिन्छ ?
– मूलतः सौन्दर्यसम्बन्धी काम नै हो । बडीटक्सन, स्टिमवाथदेखि लिएर नशा दुख्ने समस्या समाधानसम्म र आमाहरूलाई श्वासप्रश्वासमा सजिलो हुने सेवा हामी दिन्छौं । दुलही, मोडल सिंगार्नुका साथै यो क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरेर महिलाहरूलाई आत्मनिर्भर बनाउँछौं । हामीकहाँ प्रशिक्षण लिएर धेरैजना स्वरोजगार मात्र भएका छैनन्, व्यवसायी नै बनेका छन् ।

० सौन्दर्य सामग्रीको प्रयोगले विभिन्न समस्या निम्त्यायो भनिन्छ नि ?
– हो, बजारमा पाइने चाइनिज र कोरियन सौन्दर्य सामग्रीको प्रयोगले समस्या निम्त्यिाएको डाक्टरहरूले नै भनेका छन् । यसप्रति हामी एकदमै सचेत छौं । त्यस्ता सौन्दर्य सामग्रीको प्रयोगले सुरुका दिनमा राम्रो गरेको देखिए पनि दीर्घकालमा राम्रो गर्दैन । हामी कहिल्यै पनि केमिकल प्रयोग गर्दैनौं, आयुर्वेदिक सौन्दर्य सामग्री मात्र प्रयोग गर्छौं ।

० यससम्बन्धी अध्ययन गर्नुभएको हो ?
– अध्ययनभन्दा पनि अनुभवले खारिएको छु । यही विषयमा अध्ययन गर्न नपाए पनि अहिलेको सूचना प्रविधिको प्रयोग गरेर ग्राहकलाई सेवा दिइरहेको छु । अहिलेसम्म त्यस्तो कुनै गुनासो सुन्न आएको छैन ।

० सूचना प्रविधिको प्रयोग भन्नाले ?
– विकसित नयाँ प्रविधिबारे जानकारी लिन्छु युट्युबको माध्यमबाट सिक्ने र सिकाउन सकिन्छ । बजार प्रतिस्पर्धात्मक छ, त्यसबाट पनि धेरै कुरा सिक्न सकिँदो रहेछ ।

० तालिम लिन महँगो होला नि ?
– त्यस्तो महँगो छैन, चार महिनामा डिप्लोमा कोर्ष सकिन्छ, त्यसको शुल्क २५ हजार मात्र हो । कम आय भएका र यो पेसा सिक्ने र सीपको सदुपयोग गर्ने इच्छा भएकालाई हामी निःशुल्क प्रशिक्षण दिन्छौं । हात नबसुन्जेलसम्म अभ्यास गराउँछौं ।

० अहिलेसम्म कति उत्पादन भए ?
– धेरै छन्, कतिपय त व्यावसायिक रूपमा स्थापित भइसकेका छन् ।

० पार्लरको सेवा महँगो होला नि ?
– हामीकहाँ सरल नै छ भन्ने लाग्छ । रेटअनुसारको सुविधा छ । विशेषतः हाम्रा नियमित र वार्षिक ग्राहक हुन्छन् ।

० व्यवसाय गर्न सजिलो छ ?
– कुनै काम सजिलो हुँदैन, तर आफूले इच्छा गरेको काम गर्नलाई जाँगर लाग्दो रहेछ । कामबाट आनन्द लिन थालियो भने बिहान ८ देखि राति ८ बजेसम्म गरिँदो रहेछ । दुई महिनाको बच्चा बोकेर ग्राहकलाई सेवा दिएको अनुभव मसँग छ ।

० परिवारको सहयोग होला नि ?
– निश्चय नै परिवारको सपोर्ट चाहिन्छ । परिवारको सपोर्टले व्यवसायमा उत्साह थप्दो रहेछ । उहाँहरूको सहयोगले पर्लारलाई स्टुडियोमा रूपान्तरण गर्न सफल भएँ ।

० थातथलो कहाँ हो ?
– चितवन भरतपुरकी हुँ, आईएसम्म यहीको कलेजसम्म पढें । पढ्न अलि अल्छी लाग्थ्यो, यही पेसामा जम्न मन लाग्थ्यो, अहिले चाहिँ पढ्न अल्छी नगरेको भए हुन्थ्यो जस्तो लाग्छ ।

० विवाह ?
– व्यवसायी प्रवीण श्रेष्ठसँग पे्रम विवाह गरेकी हुँ । उहाँको क्याफे थियो, कफी खान जाँदा लभ प¥यो, विवाहअघि एक वर्षजति साथीका रूपमा रमायौं, त्यसपछि विवाह गरेका हौं ।

० कसरी लभ प-यो ?
– मेरो सौन्दर्यको प्रशंसा गर्न थाल्यो भने, मलाई पनि उहाँ मन पर्न थाल्यो । एक अर्काको कुरा मिल्यो, साथीका रूपमा थियौं, परिवारकै सल्लाहमा विवाह गर्ने निधो ग-यौं ।

० प्रस्ताव पहिला कसले राख्यो ?
– केटाले नै राख्ने भइहाल्यो नि । परिवारले नै पनि मन पराएपछि कुनै हाम्रा विवाहका लागि कुनै समस्या भएन ।

० कति दिदीबहिनी ?
– दुई परिवारका हामी सात दिदीबहिनी र एउटा भाइ छ । हामीपट्टि चाहिँ दिदीबहिनी मात्र छौं । सबैको आफ्नै व्यवसाय छ । दिदी १३ वर्ष अमेरिका बसेर अहिले यही स्टुडियोमा तालिम दिनुहुन्छ । ७५ वर्षकी आमा हुनुहुन्छ, उहाँलाई साथै राखेका छौं ।

० छोराको भूमिका पनि निर्वाह गर्नुभएको रहेछ ?
– छोरीहरूको विवाह भएपछि म एक्लै हुन्छु भनेर दुखेसो गर्नुहुन्थ्यो, दुखेसो नगर्नुस् आमा हामी पाल्छांै भन्थ्यौं । त्यही कर्तव्य निर्वाह गरेको मात्र हुँ । उहाँकै आशीर्वादले अहिलेसम्म राम्रो भइरहेको छ ।