बैंकक । थाइल्याण्डका राजाले आफ्नी एक रानीबाट शाही उपाधि खोसेका छन् । राजा माहा वाजिरालङकोर्नले गएको वैशाखमा आफ्नो सुरक्षाका लागि खटिने टिमकी कार्यकारी प्रमुख सुथिदासँग विवाह गरेका थिए । राजाको चौथो श्रीमती बनेकी सुथिदालाई राजाले रानीको उपाधि दिए । त्यसअघिकी सिनीनात वङ्वाचिराफाकबाट राजा माहाले शाही उपाधि खोसेका हुन् ।

उच्च तहमा नियुक्ति पाएको केही महिनामै विश्वासघात गरेको आरोप लगाउँदै राजा माहाले सिनीनातबाट उपाधि घोसेको बताइएको छ । राजाका तर्फबाट सोमबार जारी गरिएको घोषणामा सिनीनात वङ्वाचिराफाक महत्वाकाङ्क्षी बनेको र उनले आफूलाई रानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको उल्लेख छ । राजसंस्थाप्रति उनका व्यवहारहरु अपमानजनक रहेको पनि राजाले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

राजा माहाले चौथो श्रीमतीका रूपमा रानी सुथिदासँग बिहे गरेको दुई महिनापछि गएको जुलाईमा सिनीनातलाई ‘चाओ खुन फ्रा सिनिनात बिलासकलयानी’ को उपाधि प्रदान गरेका थिए । सो उपाधि झन्डै एक शताब्दीमा पहिलो पटक दिइएको थियो ।