७ बैशाख २०८१, शुक्रबार
Follow Us

बचौं ह्रदयाघातबाट

नेपालब्रिटेन डट कम्
२७ कार्तिक २०७३, शनिबार १९:३६

लन्डनमा हालै मात्रै ३९ बर्षको कलिलो उमेरमा नै ह्रदयाघातबाट ज्यान गुमाएकी विष्णुकुमारी बुढाथोकीको दुखद मृत्युले नेपाली समुदायको माझ मुटुरोग सम्बन्धि चेतना फैलाउन अरु टड्कारो आवश्यकता महशुस भएको देखिन्छ । हालैका दिनहरुमा यसरी ह्रदयाघातको कारणबाट अकालमा नेपालीहरु मर्ने या पिडित हुने क्रम बढ्दो छ । “मलाई के हुन्छ र ?” भन्ने मनस्थितिलाइ त्यागेर “रोग जुनबेला जसलाई पनि लाग्न सक्छ” भनि स्वास्थ र जीवनशैली सम्बन्धि न्यूनतम ज्ञान राखेर मनन गर्न जरुरी छ । सामान्य रोगको लक्षण बारे थाह नपाउनु या बेवास्ता गर्नु, अस्पताल जान या अरुलाई भन्न संकोच मान्नु जस्ता कुराहरुले जीबन नै जोखिममा रहनसक्छ भन्ने कुरालाई सबैले बुझ्नुपर्छ ।

अझ बेलायत जस्तो निशुल्क स्वास्थ सुबिधा भएको देशमा बस्नेले यसको फाइदा लिइ अकालमा मुटुरोगबाट ज्यान गुमाउनु पर्ने अवस्थाबाट बच्न सबैले सचेत भइ आफ्नो अधिकारको उपयोग गर्न सक्नुपर्छ । अकस्मात छाति दुखिरहेको र त्यो दुखाइ घाँटी, गर्धन, पाखुरा तिर सरिरहेको, श्वास फेर्न गाह्रो जस्तो भएमा तुरुन्त एम्बुलेन्स बेलाउनु पर्छ । शंकामा नबसी उपलब्ध रहेको निशुल्क एम्बुलेन्स सेवा बोलाउने या नजिकको अस्पताल सकेको चाडै पुग्नुपर्दछ ।
धेरै मान्छेहरु अस्पताल नै नगई अकालमा हृदयाघातबाट मरेपछि बेलायती सरकार र गैर सरकारी संस्थाहरुले “छाती दुखेको बेवास्ता नगरौ” भनि धेरै नै बिज्ञापन गरि मानिसहरुलाई अस्पतालमा जान उक्साहित गरिरहेका छन् । छाति दुखेको व्यक्तिलाई प्राथमिकताको साथ अस्पतालमा उपचार गरिन्छ ।

अस्पतालमा पहिले पुगेपछि के हुन्छ ?

तपाइँ यदि छाति दुखेर अस्पतालको इमर्जेन्सी कक्षमा पुगेपछि सामान्य दर्ताको प्रक्रिया गरेपछि अस्पताल आउनेको कारण बारे सोधिन्छ । “छाति दुखेर आएको” भनेपछि रातो कार्ड दिइन्छ । केहीबेरमा नै शारीरिक जाँच, रक्तचाप र मुटुको धड्कन नापि इसिजी (इलेक्टोकार्डियोग्राम) गरि दुखाइको लक्षणहरुबारे डाक्टर या नर्सले सोधपुछ गरि जाँचबुझ गर्दछन् । एम्बुलेन्सबाट आएमा सिधै आकस्मिक कक्षको बेडमा राखिन्छ र सोधपुछ जारी गरिन्छ । एम्बुलेन्स भित्र इसिजी गरि एस्पिरिन ट्याब्लेट खान पनि दिन सक्ने हुन्छ ।

परिवारमा मुटुरोगको इतिहास, धुमपान गर्ने बानि, आफ्नो वजन आदि बारे जानाकारी लिइ जोखिमका तत्वहरु जस्तै कोलेस्ट्रोल, मधुमेहको लागि रगत परिक्षण गरी त्यसको मूल्यांकनको जांच गर्दछन् ।
इसिजीले कोरोनरी आर्टरीमा खास परिवर्तनहरू हेर्न र के कस्तो ब्ल्केज छ भनि जान्न डाक्टरलाई मद्दत गर्दछ । यसको साथै छातीको एक्सरे पनि गरिन्छ ।


रगत परीक्षण : ट्रोपोनीन र कार्डिक एन्जाइम टेष्ट

यदि तपाई छाती दुखेर अस्पतालमा जानु भएको छ भने यी परिक्षणहरूले बताउन सक्दछन कि तपाईको मुटुको मांसपेशी नोक्सान भएको छ छैन भनेर । यदि नोक्सान भएको छ भने कति धेरै भएको छ भनेर बताउँदछ ।

ट्रोपोनीन टेष्ट द्वारा प्राय: तपाईलाई हृदयाघात भइरहेको छ छैन भनेर डाक्टरले पत्ता लगाउँने प्रयत्न गर्छन् ।
ट्रोपोनीन भनेको एक किसिमको प्रोटिन हो र यो चाहिँ साधारणतया मुटुको मांसपेशीको कोषहरू भित्र पाइन्छ, तर रगतमा होइन । यदि हृदयाघातद्वारा मुटु नोक्सान भएको छ भने ट्रोपोनीन रगतमा चुहिन्छ, जहाँ यसलाइ १२ घण्टा भित्रमा रगत परीक्षणद्वारा देखिन सकिन्छ । कुनै अस्पतालहरूमा कार्डिक एन्जाइम टेष्टको सट्टामा ट्रोपोनीन टेष्ट गरिन्छ ।
एन्जाइमहरू प्रोटिन हुन, जसले शरीर भित्र तथा मुटुको मांसपेशीको कोषहरू भित्र पनि रासायनिक प्रक्रियाहरुलाई मद्दत गर्दछ । जब हृदयाघात भइरहदा मुटुको मांसपेशी नोक्सान हुन्छ र केही एन्जाइमहरू रगतमा चुहिन्छ ।
यी टेष्टहरुको परिणामले तपाईंलाई कस्तो किसिमको उपचार या अरू परिक्षणहरु गर्नुपर्ने भन्ने डाक्टरलाई निर्णय गर्न सहयोग पुर्याउँछ ।

इसिजी तथा यी अरु परिक्षणहरु सबै गर्दा सबैकुरा ठिक देखियो भने तपाईलाई डाक्टरले सबै जानाकारी दिई घर पठाउछन् । सबै छाति दुखाइ मुटुसंग सम्बन्धित हुदैन । अपच, ग्यास्ट्रिक, बढी ब्यायाम या मांसपेशीय, चिन्ता, हेमोग्लोबिनको कमि, महिलामा महिनावारी हुदामा आदिले पनि छाती दुख्ने हुन्छ । कुनै पनि छाति दुखाइ बेवास्ता भने गर्नु हुदैन ।

तर , छाति दुखेको या छातीमा असुविधालाई मुटुबाट आएको ठानिन्छ, तब डाक्टर र नर्सहरूलाई हृदयाघात भएको या अस्थिर एन्जाइना भएको भनेर छुट्याउन गाह्रो पर्दछ । अनि डाक्टरले उक्त बिरामीलाइ एक्युट कोरोनरी सिन्ड्रोम भएको भन्न सक्दछन् । सिन्ड्रोम भनेको लक्षणहरू एक साथ हुने र कोरोनरी भनेको कोरोनरी आर्टरीमा हुने भन्ने हो ।
त्यसैले एक्युट कोरोनरी सिन्ड्रोमलाई साधारण भाषामा हृदयाघात या अस्थिर एन्जाइना भनेर बुझिन्छ ।

अस्थिर एन्जाइना भनेको के हो ?

एन्जाइना लक्षणहरू देखिन्छन् जब कोरोनरी आर्टरीहरुमा चिल्लो पदार्थ जम्मा भइ साँघुरो हुन्छ जसले गर्दा मुटुको मांसपेशीमा उपयुक्त मात्रामा रगतको आपूर्ति हुँदैन ।
एन्जाइना ले छाती दुख्ने या छातीमा असजिलो महसुस हुन्छ । स्थिर एन्जाइना भनेको कुनै खास क्रियाकलाप जस्तो व्यायाम या चिन्तामा आउन भविष्यबाणी गर्न सकिन्छ, यसलाई औषधीले नियन्त्रण गरिन्छ । अस्थिर एन्जाइना चाहि एन्जाइना भर्खर पहिलोचोटि विकास भएको अथवा एन्जाइना जुन पहिला स्थिर थियो, तर हालसाल यसको अवस्थामा परिवर्तन हुने हो । उदाहरणको लागि इन्जाइनाको दुखाइ कुनै ठेगान नभएको व्यायाम गर्दा, चिन्ता या त्यसै वसिरहदामा पनि आउन सक्छ । अस्थिर एन्जाइना अचानक हुन सक्छ र यसले एकदम बिरामी बनाएको महसुस गरिन्छ ।

कसले एक्युट कोरोनरी सिन्ड्रोम ल्याउछ ?
हृदयाघात या अस्थिर एन्जाइना यी दुवै पहिला कुनै मुटुको रोग नलागेको मान्छेलाई पनि हुन सक्छ । कसैलाई स्थिर एन्जाइना छ, हप्तौ, महिनौ, वर्षै पछि हुन सक्छ । धेरै कारणहरूमा व्यक्तिको स्थिर इन्जाइनाबाट अस्थिर एन्जाइनाको अवस्था फरक हुन्छ तब हृदयाघात हुन्छ । त्यसैले यदि इन्जाइनाको अवस्था यसरी फरक भएमा डाक्टरकहाँ तुरुन्त जानुपर्दछ र अस्पतालमा केही दिन बस्नुपर्ने हुन सक्छ ।
हृदयाघात दिन, रात जुनसुकै बेलामा पनि हुनसक्छ काम गरिरहेको बेलामा या त्यसै आराम गरेको बेलामा पनि । कहिलेकाहिँ ह्रदयाघात अति शारीरिक क्रियाकलाप जुन अक्सर गर्ने वानी नभएकोमो बेलामा पनि हुनसक्छ ।

अहिलेसम्म निश्चित रूपमा थाह छैन हृदयाघात वा अस्थिर इन्जाइनाको भविष्यबाणी कहिले हुन्छ भनेर । तर, यिनीहरू धेरै वर्षको प्रक्रियाको परिणाम प्राय: हुन्छ । कोरोनरी आर्टरीहरूको काम रगत र अक्सिजन मुटुको मांसपेशीलाई आपूर्ति गर्नु हो । कोरोनरी मुटुरोग तब हुन्छ जब कोरोनरी आर्टरीहरूका भित्ताहरूमा विस्तार विस्तार चिल्लो जम्मा भइ साँघुरो बनाइन्छ । समयमा आर्टरी यति साँघुरो बन्छ कि यसले चाहिएको बेलामा मुटुको मांसपेसीमा अक्सिजनयुक्त रगत जस्तो व्यायाम गर्दामा पठाउन सक्दैन । यस्तो अवस्थामा मुटुमा पिडा हुन्छ । यही दुखाइ या असजिलो हुनुको कारणलाई एन्जाइना भनिन्छ । यो अवस्थालाई आर्थलोसोर्लोशिस भनिन्छ र चिल्लो जम्मा भएकोलाइ आर्थोरोमा भनिन्छ ।
जव आर्थोरोमा अस्थिर बन्न पुग्छ, यो टुट्नसक्छ र रगत जम्ने (ब्लड क्लट) हुनसक्ने बनाउन सक्छ । यदि ब्लड क्लटले कोटोनरी आर्टरी बन्द गर्छ भने मुटुको मांसपेशी अक्सिजन र रगत नपाएर त्यसै रहन्छ र सधैको लागि नोक्सान हुन सक्छ । यसलाई हृदयाघात भनिन्छ । हृदयाघातको अवधिमा जीबन नै जोखिम हुन मुटुका रिदमहरुको विकास हुन सक्छ । त्यसैकारणले हृदयाघातलाई मेडिकल इमर्जेन्सीको रूपमा उपचार गरिन्छ ।
हृदयाघातको लक्षण छातीको बीच भागमा एकदम दुख्ने देखी छातीमा साधारण असुविधा हुन्छ जसले बिरामी जस्तो अनुभव गर्दछ । दुखाई चाहिँ एकदम गरुङ्गो या कसिंएको जुन दुखाइ पाखुरा, घाटी, गर्धन, पछाडि या भुडीमा पनि सर्न सक्दछ । घाटी, बंगारा, पाखुरा या भुडीमा मात्रै असर गर्न सक्छ । हृदयाघात भइरहेको मान्छेलाई पसिना आउने, टाउको हलुंगो हुने, वान्ता आउने या श्वास फेर्न गाह्रो हुने पनि हुन्छ । केही मान्छेहरू हृदयाघात हुँदा खाना अपच जस्तो ठानेर झुक्किन्छन् ।
कहिलेकाहिँ हृदयाघात ‘शान्त’ हुन्छ र यसले कम असुविधा महसुस हुन्छ । जस्तै कोही मान्छेहरूलाई छाती दुख्न यति कम हुन्छ कि डाक्टरकहाँ जाँदैनन् । अरू मेडिकल टेष्ट गर्दामा धेरै समय पछि थाह हुन सक्छ अथवा नियमित स्वास्थ्य परीक्षण गर्दा मात्र हृदयाघात भएको भन्ने पत्ता लाग्दछ ।
कसैलाई हृदयाघात भइरहेको छ भने तुरुन्त एम्बुलेन्स बोलाउनु या अस्पताल पुग्नुपर्दछ । धेरै मान्छेहरू एम्बुलेन्स बोलाउन कुर्दा या अस्पताल जान ढिलो गरेर जीवनलाई जोखिममा राख्दछन । यसर्थ सकेको चाडै अस्पताल पुग्नुपर्दछ यसले जीवन बचाउन सक्दछ ।

कार्डियाक यारेष्ट भनेको के हो ?
हृदयाघात भइरहँदा मुटुको रिदमलाई बाधा पार्न सक्छ । यसको गम्भीर रूपलाई भेन्ट्रीकुलर फिब्रिलेसन भनिन्छ । यो हुन्छ, जव मुटुको विद्युतीय गतिविधि यति अस्तव्यस्त हुन्छ कि मुटुले पम्प गर्न छोड्दछ र यसको सट्टामा काम्ने गर्छ । यसलाई कार्डियाक यारेष्ट भनिन्छ । यदि व्यक्तिलाई कार्डियाक यारेष्ट भएको छ भने उसले होस करिव एकैमा गुमाउँदछ । बाँचेको जस्तो कुनै लक्षण देखिंदैन । यो चाहि अत्यन्त जरुरी इमर्जेन्सीको अवस्था हो ।
कसैले सिपिआर (Cardiopulmouary resusciatation) तीन / चार मिनेटभित्र नगरेमा, उक्त व्यक्तिको दिमाग र अरू अंगहरू सदाको लागि नोक्सान हुन्छ । यो कहिलेकाहिँ छातीको भित्तामा ठूलो विद्युतीय झट्का द्वारा ठिक गर्न सकिन्छ, यसो गर्न प्रयोग गरिने मेशिनलाई डेफिब्लिएटर भनिन्छ । साधारण मुटुको धड्कन स्थापित गर्नलाई प्राय सफल हुन्छ र यसपछि मान्छेलाई कार्डियाक यारेष्ट नभएको जस्तै राम्रो हुन सक्छ ।

सिपिआर भनेको फोक्सोलाई फुलाउन मुखबाट मुखमा श्यास दिने जसले मुटुलाई पम्प गराउन बाहिरबाट छातीमा मालिस गर्ने गर्नुपर्छ । यसो गर्दा एम्बुलेन्स आउनुभन्दा पहिले श्वास प्रश्वास र रक्त सञ्चार चालु राख्नलाइ मद्दत गर्न सक्छ ।

ह्रदयाघात भएको एकिन भएमा साँघुरिएको आर्टरीलाई फराकिलो पार्न कोरोनरी एन्जियोप्लाष्टी या बाइपास, थ्रम्बोसिस जस्ता उपचारहरू हुनसक्छ । अरू परीक्षणहरू जस्तै एक्सरे, एको कार्डियोग्राम, ब्यायाम इसिजी, रेडियोन्क्युलीड स्क्यान, एमआराई आदि पनि गर्न सकिन्छ । यस्ता टेष्टहरु मार्फत मुटुले कति राम्रोसँग पम्प गरिरहेको छ र अरू उत्तम उपचार विधिको लागि निर्णय गर्न सहयोग पुर्याउँदछ ।

कसरी अरू कोरोनरी मुटुरोग लाग्ने जोखिमलाई कम गर्न सकिन्छ ?

कोरोनरी मुटुरोग रोकथाम गर्न सकिन्छ । यदि तपाईंलाई यसको जोखिमहरु जस्तै
धूमपान, उच्च रक्तचाप, उच्च रगत कोलेस्ट्रोल, शारीरिक निश्क्रियता, बढी वा धेरै वजन भएर, मधुमेह आदिको नियन्त्रण गर्नुपर्छ ।
हृदयाघात भएको छ भने पनि तपाईको मुटुलाई स्वस्थ राख्न र मुटुका अरू समस्याहरूको जोखिमलाई कम गर्न तपाईले धेरै कुराहरू गर्न सक्नुहुन्छ । तपाईंको कोरोनरी मुटु रोग या मुटुको समस्याको कतिवटा जोखिमका तत्वहरू छन् र तिनीहरू कति धेरै छ भन्नेमा निर्भर गर्दछ । त्यसैले आफ्नो जोखिमका तत्वहरू थाह पाउनु राम्रो हुन्छ र तिनलाई नियन्त्रण गर्नलाई तपाईलाई सहयोग पुग्दछ ।

ह्रदयाघात भए तल भनिएका लक्षण देखिन्छ :
– छाती एकदम दुख्ने, एकदम समातिएको जस्तो हुने र एकदम गहुगो हुनसक्छ
– दुखाई छाती, घाँटी, पाखुरा, गर्धन, पछाडि भुडीमा हुनसक्छ
– तपाईंलाई पसिना आउने, टाउको हलुगो हुने, बान्ता आउने र श्वास लिन गाह्रो हुन सक्छ
के गर्ने त ?
१) जे काम गरिरहनु भएको छ, रोक्किने
२) बस्ने र आराम गर्ने,
३) यदि जिटीएन स्प्रे छ भने भनिएबमोजिम लिने । यति गर्दा १५ मिनेट भित्रमा पनि दुखाइ नरोकिएमा तुरुन्त एम्बुलेन्स बोलाउने अरू नकुर्ने ।
यदि जिटीएन स्प्रे छैन भने शान्त भएर १०/१५ मिनेट बस्ने र दुखाइ भइरहेमा तुरुन्त एम्बुलेन्स बोलाइहाल्ने ।
४) यदि एस्पिरिनमा एलर्जी छैन भने पाइएको खण्डमा एस्पिरिन ट्याब्लेट ९३० चपाउने, हृदयाघात भएमा तपाईंले दुईवटा महत्त्वपूर्ण काम गर्न सक्नुहुन्छ: ‘एम्बुलेन्स बोलाउने र आरामसँग बस्ने ।’ याद गरौँ समय महत्वपूर्ण हुनसक्छ ।

मुटुरोग र जीवनशैली सम्बन्धि न्यूनतम ज्ञान राख्ने, धुमपान त्याग्ने, क्रियाशील हुने, रक्तचाप, कोलेस्ट्रोल, रगतमा चिनीको मात्राको नम्बर थाह पाउने र त्यहि अनुरुप जीवनशैली बदल्ने, मधुमेहको नियन्त्रण गर्ने , मदिरा सेवन कम गर्ने, मोटोपन घटाउने, चिन्ताको ब्यबस्थापन गर्ने, परिवारमा मुटुरोगको इतिहास भएको व्यक्ति तथा माथि भनिएको जोखिमहरुलाई ध्यान दिई बर्षमा घटीमा एकपल्ट रगत जाच्ने र आफ्नो स्वास्थ्यको बारे जागरूप हुनुपर्छ ।
डाक्टरकहाँ जान संकोच नमानौ, मुटुरोगको कारणबाट अकालमा ज्यान जाने या यसबाट पिडित हुने क्रमबाट बचौं । स्व. विष्णुकुमारी बुढाथोकी तथा वहांको परिवारले भोग्नुपरेको क्षण कसैलाई पनि व्यहोर्न नपरोस । यसको लागि आफुले गर्नसक्ने कुरामा बिलम्ब नगरौ ।

(आचार्य कोरोनरी मुटुरोग -२०१० पुस्तकका लेखक तथा नेप्लिज हार्ट फाउन्डेसन बेलायतका अध्यक्ष हुन्)