१३ बैशाख २०८१, बिहीबार
Follow Us

डेनमार्क स्थित नेपाली दुतावास बन्द नगर्न अपिल गर्दै ज्ञापनपत्र बुझाइयो

नेपालब्रिटेन डट कम्
२७ कार्तिक २०७३, शनिबार १९:५३

नी कोपन्हेगनमा रहेको नेपाली दुतावास बन्द नगर्न नेपाल सरकार परराष्ट्र मन्त्रालय समक्ष अपिल गर्दै डेनमार्क, नर्वे, स्वीडेन र फिन्ल्यान्ड़का नेपाली संघसंस्थाले दूतावासमार्फत शुक्रबार ज्ञापनपत्र बुझाएका छन् ।

दुतावास बन्द गर्ने परराष्ट्रमन्त्री प्रकाशशरण महतको अभिव्यक्तिपछि चिन्तित बनेका डेनमार्क लगायत नोर्डिक देशहरुका नेपाली संघ-संस्था एकजुट भई सो अभिव्यक्तिको बिरुद्ध उभिएका हुन। केहि दिन अघि काठमाडौँमा आयोजित पत्रकार अन्तरक्रियामा परराष्ट्र मन्त्री महतले डेनमार्कमा रहेको दुतावास बन्द गर्ने विचार व्यक्त गरेका समाचार आएपछि नोर्डिक क्षेत्रका नेपाली संघ-संस्था र सरोकारवाला नेपाली समुदाय रुष्ट बनेका थिए ।

डेनमार्क लगायत स्क्यान्ड़ीनेभियन युरोपेली मुलुकहरू नर्वे, स्वीडेन र फिनल्याण्ड समेत हेर्दै आएको कोपन्हेगन स्थित नेपाली दुतावास सन् २००७ मा स्थापना गरिएको थियो । सो दुतावास बन्द गर्दा उक्त क्षेत्रका १५ हजार भन्दा बढी नेपालीहरु प्रभावित हुने उनीहरुले बताएका छन् । साथै संसारकै अति विकशित मध्यका मुलुकहरुसंग नेपालको कुटनैतिक स्तरको सम्बन्धमा आंच आउने, सम्पन्न मुलुकहरुसंगको आयात-निर्यात प्रक्रिया मार्फत अर्थतन्त्रमा पुग्ने योगदानबाट बन्चित हुनुपर्ने प्रति उनीहरुले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

सम्बन्धित संघ- संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सो क्षेत्रका गैर आवासीय नेपाली संघ, नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मंच, नेपाली जनप्रगतिशिल मंच, इनास, क्रियटिभ नेपलिज विमेन, अभियान नेपाल, नेपाल म्युजिक फेस्टिवल, नेपाल हाउस, फोकस नेपाल, स्क्याण्डनेभियन हेल्प- डेनमार्क,पोर्चुगल समाज- डेनमार्क लगायतका संस्थाहरुको तर्फबाट गैर आवासीय नेपाली संघ- डेनमार्कका अध्यक्ष दीपेन्द्र चुडालले डेनमार्कका लागि कार्यबाहक नेपाली राजदुत रामकाजी खड्कालाई ज्ञापनपत्र बुझाए। खड्काले ज्ञापनपत्र बुझ्दै यथासक्य चाँडो सो ज्ञापनपत्र सम्बन्धित मन्त्रालयमा पुर्याउने बताउनुभएको बताइएको छ ।

ज्ञापनपत्रको व्यहोरा यसप्रकार छ:

श्री माननीय परराष्ट्रमन्त्री ज्यू,
नेपाल सरकार
परराष्ट्र मन्त्रालयको कार्यालय,
सिंहदरवार काठमाडौ, नेपाल।
विषय: डेनमार्कमा अवस्थित नेपाली दुतावास बन्द नगर्नुहुन हार्दिक अपिल !
उपरोक्त सम्बन्धमा डेनमार्कमा अवस्थित नोर्डिक मुलुकहरूकै एकमात्र नेपाली दुतावास बन्द गर्ने भनी संचारमाध्यममार्फत अचानक आएको अप्रत्याशित खबरले हामीलाई आश्चर्यचकित, गम्भीर र चिन्तित बनाएको छ। तात्कालिन समयमा नै आवश्यक महसुस गरी सन् २००७मा कोपन्हेगनमा स्थापना गरिएको दुतावास वर्तमानमा झन् धेरै आवश्यक भएको तथ्य अवगत गराउन चाहन्छौं ।

त्यसै पनि १५ हजार नेपालीहरुको संख्या नाघिसकेको उत्तरी युरोप क्षेत्रको नेपाली कुटनीतिक प्रतिनिधिमुलक संस्था बन्द गर्ने कुरा यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको हित र मर्म विपरित छ । एकाएक पत्रकार अन्तरक्रियामा माननीय परराष्ट्र मन्त्रीज्यूले दुतावास बन्द गर्ने अभिव्यक्ति दिएको भन्ने खबरले नोर्डिक मुलुकका नेपाली समुदायलाई स्तब्ध पारेको छ ।

यसैबीच नोर्डिक देशहरुमा अध्ययन, रोजगारी, व्यबसायका माध्यमले बसोबास गर्ने सम्पुर्ण नेपाली समुदायमा यहाँको दुतावास बन्द गरिएमा पर्न जाने व्यापक असुविधालाई मध्यनजर गर्दै परराष्ट्रमन्त्री ज्यूबाट व्यक्त सार्वजानिक अभिव्यक्तिप्रति डेनमार्क तथा सम्पुर्ण नोर्डिक देशका नेपाली राजनैतिक तथा सामाजिक संघ-संस्थाहरु एवम नेपाली समुदायको गम्भीर ध्यानाकर्षण भएको छ ।

१) यस क्षेत्रमा दुतावास रहनै पर्ने आधारहरु प्रस्तुत गर्न चाहन्छौं:
– डेनमार्क लगायत नोर्डिक देशहरुको नेपालसंग कायम दौत्य र कुटनैतिक सम्बन्ध यथावत राख्न र अझै विस्तार गर्न जरुरी छ।
– युरोपकै विकशित मुलुकहरु रहेका यस क्षेत्रका विकासका मोडेलहरु अबलोकन र अबलम्बन गर्ने अवसर प्राप्तिका लागि सम्भावना अध्ययन गर्ने क्षेत्र भएकाले महत्व बुझ्नु जरुरि छ।
– १५ हजार बढी नेपालीहरुका कागजी काम तथा अन्य अप्ठ्याराहरुमा अभिभावकत्व प्रदान गर्ने कमसेकम एउटा आधिकारिक सरकारी निकाय यस क्षेत्रमा हुनु जरुरी छ।
– स्वदेशी उत्पादनको निर्यातका लागि बलियो बजार सम्भावना भएको क्षेत्र भएकाले यहाँ नेपाल सरकारको निकाय रहनु जरुरी छ।
– नोर्डिक देशका नागरिकहरुलाई नेपालको प्राकृतिक, भौगोलिक, सास्कृतिक, पर्यावरणीय अवस्थाका जानकारी अभिवृद्धि गर्दै पर्यटन प्रवर्द्धनमा भूमिका खेल्न दुतावासको महत्व छ ।

२) यस क्षेत्रको एकमात्र दुतावास बन्द गरिएमा पर्न जाने असरहरुबारे ध्यानाकर्षण गर्न चाहन्छौं:
– संसारकै अति विकशित मध्यका मुलुकहरुसंग नेपालको कुटनैतिक स्तरको सम्बन्धमा आंच आउनेछ।
– सम्पन्न मुलुकहरुसंगको आयात-निर्यात प्रक्रिया मार्फत अर्थतन्त्रमा पुग्ने योगदानबाट बन्चित हुनुपर्नेछ।
– पन्ध्रौँ हजार नेपालीहरुले सामान्य सरकारी कामकाजको लागि पनि अपायक पर्ने अन्यत्रै धाउनुपर्नाले व्यवधानको स्थिति आइ पर्ने र यस क्षेत्रका प्रवासी नेपालीहरुले राज्यको सहयोगबाट बन्चित हुनुपर्नेछ र उनीहरुमा राज्यप्रति बितृष्णा बढ्न सक्नेछ।
– सम्भावित वाह्य पर्यटकको ठूलो संख्यामा प्रतिकुल असर पर्न जानेछ।
अत: यस क्षेत्रका नेपाली समुदायको भावना र यस क्षेत्रसँगको कुटनैतिक सम्बन्धलाई बेवास्ता गरी यस क्षेत्रबाट हासिल गर्न सकिने आर्थिक, व्यापारीक, राजनीतिक, शैक्षिक र व्याबहारिक सहयोग तथा नेपालको पर्यटन क्षेत्रमा पुग्नसक्ने टेवाको समेत कत्ति पनि ख्याल नगरी नेपाल सरकारबाट हुनलागेको भनिएको सो प्रक्रियालाई पुनर्विचार मात्र नभई खारेज गर्न अपिल गर्दछौं। साथै दुतावास बन्द गर्ने निर्णय गरिएमा यस क्षेत्रका सम्पूर्ण नेपाली समुदायबाट कठोर संघर्षका कदम चाल्न समेत हामी प्रतिनिधि संघ-संस्थालाई दबाब पर्नसक्ने संकेत देखिएको हुँदा यहाँको नेपाली समुदाय सरकार (परराष्ट्र मन्त्रालय) को यो कदमको बिपक्षमा रहेको अबगत गराउँछौं ।

अन्त्यमा, डेनमार्कस्थित नेपाली दुतावास विस्थापन गर्ने प्रकृयालाई अविलम्व रोकी नोर्डिक क्षेत्रमा वसोवास गर्ने सम्पुर्ण नेपाली समुदायको मर्म र भावना विपरीत हुनलागेको उक्त प्रकृयालाई अविलम्व वन्द गर्न अनुरोधका साथ अपील गर्दछौ ।
बोधार्थ: नेपाली दुतावास, कोपन्हेगन- डेनमार्क

गैर आवासीय नेपाली संघ, डेनमार्क
गैर आवासीय नेपाली संघ, स्वीडेन
गैर आवासीय नेपाली संघ, नर्बे
गैर आवासीय नेपाली संघ, फिनल्यान्ड
नेपाली जनसम्पर्क समिती, डेनमार्क, नर्बे
प्रवासी नेपाली मञ्च, डेनमार्क
नेपाली जनप्रगतीशिल मञ्च, डेनमार्क
ईनास, डेनमार्क
क्रियटिभ नेपाली वुमन, डेनमार्क
अभियान नेपाल, डेनमार्क
नेपाल म्युजिक फेष्टिवल, डेनमार्क
नेपाल हाउस, डेनमार्क
फोकस नेपाल, डेनमार्क
स्क्याण्डनेभियन हेल्प, डेनमार्क
पोर्चुगल समाज, डेनमार्क