१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सुविधा बढाएपछि आर्यघाट सुचारु

नेपालब्रिटेन संवाददाता
६ कार्तिक २०७६, बुधबार १०:०८

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेको छ । घाट सेवा केन्द्रका कर्मचारीहरुले घोषणा गरेको आन्दोलन आफ्ना सेवा सुविधा बढाउन पशुपति क्षेत्र विकास कोषले सहमति गरेपछि फिर्ता गरेका छन् । उनीहरुले आज बिहान शव जगाउनेलगायतका काम ठप्प पारेपछि कोषले तत्काल वार्ताका लागि बोलाएको थियो । कोषका सदस्य सचिव डा. प्रदीप ढकालले उनीहरुको सेवा सुविधा बढाएको बताए ।

सहमति अनुसार घाट सेवा केन्द्रका कर्मचारीहरुले अव एउटा शव जलाएवापत १२ सय रुपैयाँबाट १५ सय रुपैयाँ पाउनेछन भने औषधि उपचार खर्च पाँच हजारबाट बढाएर १५ हजार पुर्‍याइएको छ । त्यसैगरी अवकाश पाउँदा उपदानवापत डेढ लाख पाउनेमा पाँच लाख पुर्‍याइएको छ । १० वर्ष काम गरेका घाट सेवाका कर्मचारीलाई अवकाशवापत ५० हजार दिँदै आएकोमा अव १ लाख ५० हजार पाउनेछन् । यता, घाट सेवाका कर्मचारीहरुले पनि १५ वर्ष सेवा पूरा गरेका आफूहरुलाई पाँच लाख मात्रै उपादान दिने सहमति गरिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दिनेशकुमार डंगोलले १५ वर्षभन्दा बढि काम गरेका घाट सेवाका कर्मचारीहरुलाई ५ लाख उपदान दिने सहमतिप्रति असन्तुष्टि जनाउँदै कम्तिमा १० लाख पु-याउन आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।