१६ चैत्र २०८०, शुक्रबार
Follow Us

महरालाई अझै ७ दिन थुन्नु : अदालत

नेपालब्रिटेन संवाददाता
७ कार्तिक २०७६, बिहीबार १३:५७

काठमाडौं । संसद सचिवालयमा कार्यरत् महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको हिरासतमा राखेर अनुसन्धान गर्न तेस्रोपटक म्याद थपिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको बहसपछि प्रहरीले मागेअनुसारकै सात दिनको म्याद थपिएको हो ।

यो म्यादअनुसार महरा यही कात्तिक १३ गतेसम्म हिरासतमै रहनेछन् । यसअघि, हिरासतमा राखेर अनुसन्धान गर्न दोस्रोपटक थप भएको पाँच दिनको म्याद बुधबार सकिएको थियो । गएको असोज १९ गते साँझ बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका महरा १८ दिनदेखि हिरासतमा छन् ।

असोज २३ गतेदेखि स्वास्थ्यमा समस्या आएपछि उनको थापाथलीस्थित नर्भिक अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्नसक्ने कानुनी प्रावधान रहेको छ । बलात्कार प्रयासको आरोप लागेपछि महराले गएको असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।