२६ बैशाख २०८१, बुधबार
Follow Us

उपनिर्वाचन हुने क्षेत्रमा आजदेखि आचारसंहिता लागू

नेपालब्रिटेन संवाददाता
८ कार्तिक २०७६, शुक्रबार ०३:३३

काठमाडौं । १४ मंसिरमा हुने उपनिर्वाचनका लागि आजबाट लागू हुने गरी निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । निर्वाचन हुने क्षेत्रभित्र संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकार र सरोकारवाला निकाय तथा व्यक्तिले आचारसंहिता पालना गर्नुपर्ने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन हुने तहमा निर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित सरकारहरूले प्रचारप्रसार तथा नयाँ कार्यक्रम गर्न नपाउने आयोगले जनाएको छ । त्यस्तै भवन, सवारीसाधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने, पद सिर्जना, विज्ञापन, सुविधा वृद्धि र पुरस्कार दिन नहुने आचारसंहिता पालना गर्नुपर्नेछ ।

कर्मचारी सरुवा, बढुवा गर्न वा काजमा खटाउन नहुने, तटस्थ र निष्पक्ष रहनुपर्ने आचारसंहिता तोकिएको छ । राजनीतिक दल तथा उम्मेदवारले मनोनयनपत्र दर्ता मितिदेखि निर्वाचनको अन्तिम परिणाम नआउँदासम्म पालना गर्नुपर्ने आचारसंहिता पनि लागू गरिएको छ ।

आयोगले एक प्रतिनिधिसभा र तीन प्रदेश सभा सदस्यका लागि उम्मेदवारको २४ कात्तिक र स्थानीय तहका अन्य ४८ सदस्यका लागि उम्मेदवारको अन्तिम नामावली ३० कात्तिकमा प्रकाशित गर्ने तालिका छ ।