लण्डन । एनआरएनए विश्व सम्मलेन हुनु तीन महिनाअघि गत अगस्टमा पूर्वअध्यक्ष जीवा लामिछानेले जर्मनीको फ्याङ्कफर्टस्थित आफ्नै होटलमा केही सञ्चारकर्मीहरुसँग भनेका थिए–संस्थाभित्रको लगानी, क्षमता, योग्यता र सक्रियताका आधारमा उपाध्यक्ष कुमार पन्तलाई नवौं विश्व सम्मेलनबाट नेतृत्व दिइनुपर्छ ।’
उनको भनाइमात्रै होइन, निरन्तरको सम्पर्क, सक्रियताका साथै लविङले यति व्यापकता पायो कि लामिछानेको बलियो व्यवस्थापनको सहयोगमा कुमार पन्त अध्यक्षमा उदय भइसकेका छन् ।
हुन त एनआरएनको महाधिवेशनमा निकै ठूलो धनराशिको चलखेल हुने गरेको बताइन्छ । सन् २००३ मा रसियालाई कर्मथलो बनाएका धनाढ्य डा. उपेन्द्र महतोको सक्रियतामा बेलायतबाट शुभारम्भ भएको गैरआवासीय नेपाली संघको नेतृत्व तीन कार्यकाल डा. महतोले एकछत्र चलाएका थिए ।

संस्था विधिविधानले होइन भावनाले चलाउनु पर्छ भन्ने सिद्धान्तका आधारमा डा. महतोले तीन कार्यकाल एकलौटी राज जमाए । त्यसबेला संस्थामा डा. महतोको एकल निर्णय नै अन्तिम निर्णय मानिन्थ्यो । उनले संस्थालाई विश्वव्यापी बनाउन तथा गैरआवासीय नेपालीको नागरिकताको निरन्तरता मुद्दालाई संस्थागत रुपमा स्थापित गर्न सफल भए ।

सन् २००९ मा डा. महतोले आफ्नो नेतृत्व तत्कालीन उपाध्यक्ष देवमान हिराचनलाई हस्तान्तण गरेका थिए । यद्यपि उनले अर्का उपाध्यक्ष रामप्रताप थापा र हिराचनबीच चिठ्ठा प्रथाद्वारा नेतृत्व चयन गर्न खोजेपछि डा. महतोको आलोचना सुरु भएको थियो ।

देवमान हिराचनको कार्यकालपछि सन् २०११ मा तत्कालीन संघका उपाध्यक्ष तथा उनै जीवा लामिछाने नेतृत्वका रुपमा उदाए । प्रष्ट भिजन र योजनासहित सर्वसम्मतबाट नेतृत्वमा आएका लामिछानेले प्रमुख दुई मुद्दा अगाडि सारेका थिए । उनले लामो समयदेखि दर्ताबिनै गतिविधि सञ्चालन गर्दै आएको गैरआवासीय नेपाली संघ नेपाल सरकारमा औपाचारिक रुपमा दर्ता भयो । संघ नेपाल सरकारसँग दर्ता भएपछि मात्र एनआरएनएले आफ्ना आर्थिक र सामाजिक गतिविधि निर्धक्क भएर संचालन गर्न पाएको थियो ।

लामिछानेको सकृयतामा संघले पहिलो पटक सामूहिक लगानीको अवधारणाअनुरुप विश्वभर छरिएका करिब १ हजार नेपालीको लागानीमा २७ मेघावाट दर्दिखोला जलविद्युत परियोजना सुरु भयो । उक्त परियोजना यसै वर्ष सम्पन्न भएर बिजुली बेच्ने तयारीमा छ ।

लामछिानेले आफ्नो कार्यकालमा संघको विधानअनुरुप दर्जनौ नियमावली बनाएर संघलाई विधि र विधानमा कसेर राख्दै संस्थागत गर्न सफल भए । संघको २ वर्ष कार्यकालको मात्र नेतृत्व लिएका लामिछानेमाथि पुनः अर्को कार्यकालको नेतृत्व लिन दवाव थियो, तर उनले अस्वीकार गर्दै अष्ट्रलियाका अर्का धनाढ्य शेष घलेलाई नेतृत्वमा पु¥याए । लामिछानेले घलेलाई नेतृत्वमा स्थापित गरेपछि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र उनी बीच बोलचालसमेत बन्दको अवस्था सिर्जना भयो ।

डा. महतो नयाँ नेतृत्व संस्थाभित्रैबाट आउनुपर्नेमा जोड दिन्थे भने संस्था चलाउन सक्ने क्षमतावान र आफ्नो गतिलो उत्तराधिकारीको खोजीमा लामिछाने थिए । डा. महतोको चर्को विरोधका बाबजुद लामिछानेको एकल प्रयासले घले संघको नेतृत्वमा पुग्न सफल भएका थिए ।

घलेको आगामनसँगै संस्थापक नेता रामप्रताप थापाको नेतृत्व लिने आकांक्षा त्यहीबाट समाप्त भयो । सन् २०१३ देखि नेतृत्व समालेका घलेको पहिलो कार्यकाल निकै सहज रुपमा अघि बढ्यो । घलेले गैरआवासीय नेपाली संघको आफ्नै भवन बनाउने अभियान चलाए । नेपालमा २०७२ सालमा भूकम्प गएका बेला राहत वितरणमा सकृय रुपमा लागेर नेपाल र विश्वभर रहेका नेपालीको मन जिते । ४ वर्ष संघको नेतृत्व समालेका घलेले संघको लागि दीर्घकालिन नीति स्वरुप भिजन–२०२० एन्ड वियोन्ड प्रस्ताव गरेका थिए । घलेले प्रस्ताव गरेको भिजिन–२०२० को नीतिसँगैं आफ्नै श्रीमति जमुना घलेलाई नेतृत्व सुम्पन्ने प्रपञ्च गरेपछि उनी पनि विवादमा मुछिए ।

उनलाई नेतृत्वमा स्थापित गर्ने पूर्वअध्यक्ष जीवा लामिछानेसँग मतभेद सुरु भयो । घलेले विवादका बीच भिजन–२०२० एन्ड बियोण्ड महाधिवेशनमा प्रस्तुत मात्र गरेनन् श्रीमति जमुना गुरुङलाई अध्यक्षको रुपमा उम्मेदवार बनाए । घलेको सो प्रस्तावविरुद्ध पूर्वअध्यक्षद्वय डा. उपेन्द्र महतो र लामिछाने एकै ठाउँमा उभिएर प्रतिवाद गर्दै तत्कालीन उपाध्यक्ष भवन भट्टलाई नेतृत्वमा ल्याउन सफल भए । त्यसपछि घले दम्पति संघको अभियानमा विस्तारै ओझेल पर्न थाले ।

घलेले सुरुवात गरेका भूकम्प पीडितको लागि लाप्राकमा निमार्णाधीन ५ सयभन्दा बढी घर, एनआरएन भवन, शंखमुल पार्कलगायतका परियोजना लथालिङ पारेर औपचारिक रुपमा नयाँ नेतृत्वलाई हस्तान्तरण नगरिकन अष्टे«लिया हानिए ।

भट्टको एक प्रयासले बाँकी काम सम्पन्न गरे । शंखमुल पार्क, एनआरएन भवनको काम सम्पन्न भए पनि लाप्राकको परियोजानको काम भने अझैं सकिन बाँकी छ ।
भट्टले संघभित्र नयाँ नीति तथा कार्यक्रम दिन नसकेनन् । घलेको कार्यकालमा सुरु भएका परियोजना समाल्दासमाल्दै ठिक्कै भयो ।

उनले संघभित्रका आर्थिक अवस्थासमेत चुस्त राख्न सकेनन् । संघको इतिहासमा पहिलो पटक नवौं महाधिवेशनले आर्थिक प्रतिवेदन अनुमोदन गर्न सकेन् । सचिवालयका कर्मचारीको मिलोमोतोमा लाप्राक, शंखमुललगायत सचिवालय सञ्चालनमा ठूलो आर्थिक घोटला भएको अनुमान गरिएको छ ।


पन्तको उदय

तत्कालीन अध्यक्ष शेष घलेले आफ्नो उत्तराधिकारी श्रीमति गुरुङलाई बनाउन लागेको सुइको पाएका निर्वतमान अध्यक्ष भवन भट्ट र वर्तमान अध्यक्ष कुमार पन्तले सन् २०१७ को अगष्ट महिनामा ९ बुँदे लिखित सहमति गरेका थिए ।

अध्यक्ष पदको लागि दौडमा रहेका पन्त र भट्टले लिखित सहमति गर्दै पहिलो कार्यकाल भट्ट र दोस्रो कार्यकाल पन्तले लिने सहमति भएको थियो । सोही सहमतिपछि पन्तले आफ्नो उम्मेदवारीलाई दरिलो बनाउँदै लगेका थिए ।

कतिपयले दोस्रो कार्यकालमा पनि उम्मेदवारी लिन भट्टलाई उस्काएका थिए । तर उनी पूर्वसहमतिमा अडिग रहे । भट्ट पछि हटेपछि निवर्तमान उपाध्यक्ष कुल आचार्यले अध्यक्षमा आफ्नो दावी प्रस्तुत गर्दै आए । आचार्यले संघको निर्वाचनलाई पहिलो पटक राजनैतिक ध्रुवीकरणतिर डो¥याए । यद्यपि उनको अभियान त्यसै तुसरापात भयो ।

आचार्यलाई पूर्वअध्यक्ष जीवा लामिछाने विरोधी पक्षले साथ दिएको थियो । आचार्यको चुनावी क्याम्पमा एनसेलको कर काण्डका नाइके निरज गोविन्द श्रेष्ठ र चर्चित व्यवसायी अजय सुमार्गीसमेत सकृय रुपमा लागेका थिए । श्रेष्ठको सहयोगमा आचार्यले माओवादी नेतृत्वसम्म आफ्नो पहुँच पु-याएका थिए ।

संघको ८ औं महाधिवेशनमा कोषाध्यक्षको उम्मेदवारको रुपमा हेरिएका आचार्य पूर्वअध्यक्ष जीवा लामिछाने र नवनिर्वाचित महासचिव डा. हेमराज शर्माको सहयोगमा उपाध्यक्षमा निर्वाचित भएका थिए ।

एक एनआरएनए पदाधिकारीका अनुसार चुनाव जितेकै दिन देखि आचार्यले आफूलाई भावी अध्यक्षको रुपमा प्रस्तुत गर्दै पूर्वअध्यक्षद्वय लामिछाने र डा. महतोविरुद्ध अभिव्यक्ति दिएका थिए । उनको त्यो अभिव्यक्तिलाई संघको नेतृत्ववर्गले उत्ताउलोपनको रुपमा लिदैं आएको थियो ।

एनआरएनमा कांग्रेस प्रवेश

अध्यक्षका प्रत्यासी कुल आचार्यले संघका कुनै पनि पदाधिकारी तथा पूर्व अध्यक्षहरुको साथ नपाउने देखेपछि नेपाली कांग्रेसको सहारा लिन पुगेका थिए । संघको एक उच्च स्रोतका अनुसार संघको नेतृत्वमा कुल आचार्यलाई सहयोग गर्ने भन्ने नेपाली कांग्रेसभित्र एक मत रहेको थियो । आचार्यले वरिष्ठ नेता रामचन्द्र पौडेलमार्फत आफूलाई पार्टी समक्ष प्रस्तुत गरेका थिए । पौडेल पुत्र चिन्तन पौडेल कुल आचार्यको समर्थन नाराबाजी गर्न हायात होटल पुगेका थिए ।

पौडेलको चाहानालाई पूरा गर्न सभापति शेरबहादुर देउवाले सघाएका थिए । नेपाली कांग्रेसको पदाधिकारी तथा कार्यसमितिमा पटकपटक छलफल हुँदासमेत कांग्रेसले औपाचारिक रुपमा आचार्यको पक्षमा निर्णय गर्न सकेको थिएन । कतिपयले देउवा समुहले पौडलेलाई एनआरएन निर्वाचनमा समेत फसाएको रुपमा बुझेका छन् ।

गैरआवासीय नेपाली संघलाई राम्रो संघ बुझेका तथा संघको अभियानलाई दलीय भागबन्डाभन्दा बहिर राख्नुपर्छ भन्ने मान्यता राख्ने युवा नेता गगन थापा, सुरेन्द्र पाण्डे, डा. रामशरण महतलगायतले सहमतिमा नेतृत्व चयन गर्दा उचित हुने तर्क गरेका थिए । यसैबीच नेपाली कांग्रेसले संघको नेतृत्वको लागि उम्मेदवार चयन गर्न महान्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा ७ सदस्सीय कार्यदल गठन गरेको थियो ।

कार्यदलले संघका पुर्वअध्यक्ष जीवा लामिछानेसँग एक तथा सामुहिक रुपमा पटकपटक छलफल गरेको थियो । लामिछानेले संघको नेतृत्वमा दलीय उम्मेदवार बनाउन नहुने र संघको परम्परा र पूर्वसहमतिको आधारमा नेतृत्व चयन हुनुपर्नेमा जोड दिएपछि कांग्रेसद्वारा गठित कार्यदल अप्ठ्यारोमा परेको थियो ।

लामिछानेलाई आचार्यको पक्षमा उभ्याउन पार्टीले पटकपटक बैठकमा डाकेको थियो । पार्टीका कयौै नेताहरुले आचार्यको पक्षमा उभिएदेखि पार्टीले लामिछानेको उचित मुल्यांकन गर्ने भन्दै लोभ्याउन खोजेका थिए । तर लामिछाने आफ्नो अडानबाट पछि हटेनन् । लामिछानेको अडानले अनिर्णयको बन्दी बनेको पार्टीले देशैभरिका नेता तथा कार्यकर्तालाई आचार्यको पक्षमा प्रचार गर्न उर्दी जारी गरेको थियो ।

यता, संघको आन्तरिक राजनीतिका पोख्त लामिछानेले आफ्नो तयारीलाई भने तीब्र बनाएका थिए । नेपाली कांग्रेस, पूर्वअध्यक्षद्वय शेष घले र भवन भट्टसमेत पन्तका विरुद्धमा लागेपछि लामिछानेका लागि निर्वाचन निकै चुनौतिपूर्ण बनेको थियो । उनले नेपाली कांग्रेस युवा पुस्ताका नेता र नेकपा सिंगो पार्टीभित्र आफ्नो वर्चस्व कायम राख्दै सबैलाई आफ्नो चुनावी महाअभियानको सहमति ल्याउन सफल भए । उता नेकपा निकट नेताहरुले समेत लामिछानेले तयार पारेको नेतृत्वको मार्गचित्रलाई बिनासर्त स्वीकार गरेका थिए ।

प्यानल फुटाउने प्रयास

कुमार पन्त समूहबाट निर्वाचनमा लड्न चाहनेहरुको संख्या ठूलो थियो । धेरैलाई समेट्न सक्ने अवस्था थिएन् । उनी प्यानल बनाउने पक्षमा नरहे पनि महासचिवमा डा. हेमराज शर्मा र कोषाध्यक्ष महेश श्रेष्ठलाई अघि सारेका थिए । शर्मा र श्रेष्ठलाई आचार्यको पक्षबाट चुनाव लड्न चर्को दबाब थियो । धेरै आन्तरिक बैठकमा शर्मा र श्रेष्ठले साथ दिए मात्र आफूले चुनाव जित्ने पक्का भएको आचार्यले भन्दै आएका थिए तर शर्मा र श्रेष्ठसमेत टसकामस भएनन् ।


बलियो र सशक्त टिम

गैरआवासीय नेपाली संघको इतिहासमै नवौ महाधिवेशनबाट निर्वाचित कार्यसमिति निकै सशक्त र बलियो टिमको रुपमा आएको धेरैको बुझाई छ । संघका अध्यक्ष कुमार पन्त सफल व्यवसायी हुन् भने उनी संघको स्थापना कालदेखि नै सकृय छन् । गोर्खामा जन्मिएका पन्तले युरोपका बिभिन्न शरहमा २८ वटा होटल सञ्चालन गर्दै आएका छन् । उपाध्यक्षमा निर्वाचित डा. बद्री केसी रसियामा स्थापित व्यवसायी हुन् । यस्तै उपाध्यक्ष मध्यका एक मन केसी संघका पूर्वप्रवक्ता तथा अस्टेलियामा कानून व्यवसायीका रुपमा सकृय छन् ।

अर्का उपाध्यक्ष अर्जुन श्रेष्ठले बेल्जियममा व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनले संघको सचिवको जिम्मेवारी समेत समालिसकेका छन् । उपाध्यक्ष सोनाम लामाले गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजकको जिम्मेवारी पूरा गरिसकेका छन् । उनी नेपाल र अमेरिकामा निकै सफल व्यवसायीका रुपमा चिरपरिचित छन् । उनको एकल लगानीबाट मुस्ताङमा चारतारे होटल सञ्चालनमा छ ।

यस्तै संघका महासचिव डा. हेमराज शर्माले तत्कालीन अध्यक्ष जीवा लामिछानेको कार्यकालमा प्रवक्ताको जिम्मेवारी समालेका थिए । संघको विधिविधानमा पोख्त शर्माले नेपालमा पहिलो पटक विज्ञ सम्मेलनको आयोजना गरेर चर्चा कमाएका थिए ।
उनी बेलायतको लिभरपुर विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन् । नवनिर्वाचित कोषाध्यक्ष महेशकुमार श्रेष्ठ जापानमा स्थापित सफल युवा व्यवसायी हुन् । उनले नेपालमा हाइड्रो, बैंकिङ तथा रियलस्टेडमा लगानी गरेका छन् ।


पूर्वअध्यक्षहरुको विवादस्पद भूमिका

संघको निर्वाचनका संघ पूर्वअध्यक्षहरु समेत विभाजित भएका थिए । अध्यक्षका प्रत्यासी कुल आचार्य नेपाली कांग्रेसको उम्मेदवार भन्ने हल्लाचले पछि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नवौ विश्व सम्मेलननै बहिस्कार गरेका थिए । यस्तै पूर्वअध्यक्ष शेष घले अध्यक्ष प्रत्यासी कुल आचार्यको क्याम्पबाट उम्मेदवार बनेकी महासचिवकी उम्मेदवार जानकी गुरुङको पक्षमा चुनावी क्याम्पेनमा लागेका थिए । घलेले गुरुङलाई जिताउन निर्वाचनको अघिल्लो रात करिब २ करोड रुपैयाँ ह्यात होटलमा बाढेको चर्चा समेत चलेको थियो । घले र उनीकी श्रीमति जमुना गुरुङले महासचिव पदलाई प्रतिष्ठाको विषय बनाएर महासचिवमा प्रत्यासी डा. हेमराज शर्मालाई हराउन लागेका थिए । यस्तै अर्का पूर्वअध्यक्ष देवमान हिराचन र घलेले अध्यक्ष मण्डलको बाहाना बनाएर प्रमुख निर्वाचन आयुक्तको अधिकार खोसेर अनधिकृत रुपमा मतपत्रमा हस्ताक्षर गरेका थिए । भने घले दम्पतीले दिनै भर जस्तो खुलेआम जानकी गुरुङको पक्षमा भोट मागेका थिए । उनीहरुले गुरुङको पक्षमा माहोल बनाउन आफ्नै स्पोन्सरमा अन्नपूर्ण होटलमा डिनर खुवाएका थिए ।

शक्तिशाली लामिछाने
अहिले एनआरएनको नयाँ कार्यसमितिले वरियताको हिसावले डा.महतो पहिलो स्थानमा राखेको छ । तर चारै पूर्व अध्यक्षको तुलनामा एनआरएनमा सम्बन्ध र सम्पर्क जीवाको व्यापक रहेको बताइन्छ । उनले वर्तमान कार्यसमितिमा मात्र नभएर सिंग्गो गैरआवासीय नेपाली संघका आफ्नो पकड जमाउन सफल भएका छन् । वर्तमान कार्यसमितिमा निर्वाचित अधिकांस पदाधिकारी लामिछाने निकट छन् । पछिल्लो निर्वाचन बाहिर सुन्दा कांग्रेस – कम्युनिस्ट बीचको भनेर हल्ला चलाए पनि अध्यक्षका प्रत्यासी कुल आचार्य समुहले सिन्डिकेट तोड्ने भन्दै जीवा लामिछाने बिरुद्ध चुनावी अभियान छेडेको थियो । कतिपयले रसियन सिन्डिकेटको अन्त गरौं भन्दै चुनावी नारा लगाएका थिए । संघको पछिल्लो निर्वाचनबाट आएका पदाधिकारीहरुको नतिजाले संघको अभियान र पूर्वअध्यक्ष लामिछाने थप बलियो बनाएको वताइन्छ ।