१३ बैशाख २०८१, बिहीबार
Follow Us

बिस्व सम्मेलनमा एनआरएन युकेको दमदार प्रस्तुति


८ कार्तिक २०७६, शुक्रबार १८:५५


लन्डन । एनआरएन यूकेकी अध्यक्ष श्रीमती पुनम गुरुङको नेतृत्वमा गैर आवासीय नेपाली संघको को नवौ महाधिवेशनमा भाग लिन पुगेको प्रतिनिधी मण्डल सहित काठमाडौं ओर्लिएको एनआरएन यूकेको कार्यसमितिले महाधिवेशनमा सहभागिता बाहेक के कस्ता क्रियाकलापमा सहभागी भयो भन्ने संक्षिप्त चर्चा यो आलेखमा गर्न खोजिएको छ ।

बेलायतको सहभागिता, प्रतिनिधी चयन र नतिजा माथिको सफलता असफलताको बारेमा अर्को आलेखमा छुट्टै बहस गर्ने छौ । तर अहिले भने हामी हाम्रो उद्देश्यमा के कति निहित रहन सक्यौ र संस्थागत रुपमा दुरगामी महत्वका विषयवस्तुमा हाम्रो प्रस्तुति कस्तो रह्यो भन्ने चर्चा गर्दैछौ ।
गैर आवासीय नेपाली संघको यो अभियानले डेढ दशक पार गरिरहदा आज हाम्रो सामुका अवसर र चुनौतीहरु पनि परिवर्तित अवस्थामा रहेका छन । अन्य समस्या र मुद्दाहरुको तुलनामा नेपालको संबिधानमा प्रावधान भए अनुरुप गैर आवासीय नेपालीहरुलाई प्रदान गरिने नेपाली नागरिकताको सवाल जत्तिको महत्वपूर्ण र दुरगामी सायदै अरु कुनै सवाल होला भन्दा अतिशयुक्ति नहोला ।
अहिले नेपाली नागरिकता सम्बन्धि विधेयक नेपालको संसदमा विचाराधीन अवस्थामा रहेको छ । गैर आवासीय नेपाली नागरिकता सम्बन्धि बन्दै गरेका कानुन र नीति नियमहरुले हामीलाई पुस्ता पुस्तान्तर सम्म असर पार्ने कुरा घाम जत्तिकै छर्लंग छ ।

नागरिकताको सवाल हाम्रो लागी अहिले दिनहु जप्नु पर्ने मन्त्र जस्तै भएको छ । हामीले यो सवाललाई यसको तार्किक निष्कर्षमा नपुगुन्जेल एक पटक उठाएर चुप लागेर बस्न सक्ने अवस्था छैन । नेपाल सरकार र सम्बन्धित निकायका अधिकारीहरु लाई उनीहरुका कान तातुन्जेल सम्म पटक पटक पुनरावृति हुने गरी झक्झकाउने अहिलेको हाम्रो कर्तब्य हुन आउछ । चाहे त्यो अन्तर्राष्ट्रिय समन्वय परिषदको तत्वावधानमा होस् अथवा संसारको अर्को कुनै राष्ट्रिय समन्वय परिषद मार्फत होस यो मागको आवश्यक सुनुवाई नभए सम्म निरन्तर र अविरल लागिरहनु हामी सबैको दायित्व हो । पूर्ववत कार्यसमितिले समेत पटक पटक उठाउदै आएको यो सवाललाई हामीले अहिलेको नेपाल बसाईमा पनि यथासक्य उठाउने पहल गरेका छौ ।
काठमाडौंमा सम्पन्न महाधिवेशन, निर्वाचनको विषम परिस्थितिको वावजुत पनि हामी हाम्रो कित्ताको यो अत्यन्तै महत्वपूर्ण मागलाई सम्बोधन गराउन यथासक्य प्रयास गर्यौ । यसै शिलशिलामा निम्न उल्लेखित निकायहरुमा सम्बन्धित अधिकारीहरु संग भेट गरेर हामीले हाम्रो मागलाई दोहोर्याउदै ज्ञापन पत्र दिने लगायत घनिभुत छलफलमा सहभागी बनेका हौ ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसंगको भेट
प्रधानमन्त्री के पी शर्मा ओलीले आईसीसीको नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा आयोजित समारोहमा एनआरएन यूकेको आमन्त्रित टोलीले छोटो भेट गरेको थियो । त्यस अन्तर्गत एनआरएन यूकेकी अध्यक्ष श्रीमती पुनम गुरुङले आफ्नो परिचयात्मक भेटमा प्रधानमन्त्रीको हालै सम्पन्न बेलायत भ्रमणको हवाला दिदै तत्कालिन समयमा एनआरएन यूकेले नागरिकता तथा भूपू गोर्खा हरुको माग सम्बन्धमा स्मरण गराउनु भएको थियो । जवाफमा प्रधानमन्त्री ओलीले आफु यस बारेमा पूर्ण अवगत भएको जानकारी गराउनु भएको थियो । प्रधानमन्त्रीसंग एनआरएन यूकेको टोलीले छुट्टै बिशेष भेटवार्ता गर्ने योजना भने दुवै पक्षको ब्यस्त कार्यतालिकाको बावजुत हुन नसकेको हो । प्रधानमन्त्रीका स्वकीय सचिव ईन्द्र भण्डारीले आगामी दिनमा प्रधानमन्त्री संगको भेट मिलाउने आश्वासन दिनु भएको छ ।
त्यसगरी सम्माननीय राष्ट्रपति संग भेट गर्ने हाम्रो चाहना भने राष्ट्रपतिको म्यान्मार भ्रमणको कारण सफल हुन सकेन ।

राज्य व्यवस्था तथा शुसाशन समितीको अध्यक्ष शशी श्रेष्ठसंगको भेट
नागरिकता सम्बन्धि विधेयकको निर्क्यौल गर्ने जिम्मा पाएको राज्य व्यवस्था तथा शुसाशन समितीको अध्यक्ष शशी श्रेष्ठ संग एन आर एन यूकेको टोलीले विशेषत नागरिकता सम्बन्धि एक ज्ञापन पत्र बुझाउदै गैर आवासीय नेपाली नागरिकता सरल, निसर्त र सर्वसुलभ तरिकाले वितरण गर्ने कानुनि प्रावधानको व्यवस्था गर्ने माग गरेको छ । झन्डै डेढ घण्टा लामो छलफल र सुझाव प्रस्तुत गर्दै गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था सम्बधित देशको कुटनैतिक निकाय मार्फत गरियोस भन्ने हाम्रो मागमा माननीय शशी श्रेष्ठ ज्यूले नागरिकता वितरणको सर्वमान्य सिद्दान्त अनुरुप नागरिकता प्राप्तिको लागी मातृभूमिमै आउने पर्ने भएता पनि यसको व्यवाहारिक पक्षलाई आत्मसात गर्दै नागरिकताको आवेदन दुतावास मार्फत दिन सकिने प्रावधानको व्यवस्था गर्न सकिनेमा आश्वस्त पार्नु भएको थियो । त्यसैगरी गैर आवासीय नेपालीहरुको नेपालमा रहेको सम्पतिको सुरक्षाको ग्यारेन्टी हुनु पर्ने मागलाई पनि हामीले जोडदार रुपमा उठायौ । जवाफमा माननीय श्रेष्ठले त्यसमा निश्चिन्त रहन हामीलाई आश्वासन दिनु भयो ।

गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने संक्रमण काल एक वर्ष सम्म राख्न सकिने बारे भएको छलफलमा अनेकन व्यवाहारिक पक्षलाई उठान गर्दै हामीले कमसेकम त्यो अवधि दुई बर्ष सम्म कायम रहनु पर्ने मागलाई दोहोर्याएका थियौ । उहाले गैर आवासीय नेपालीहरुलाई प्रदान गर्न लागिएको नेपाली नागरिकता संबिधानमै व्यवस्था भएको हुनाले त्यसमा अन्यथा हुन नसक्ने भन्दै आफुहरु कानुनि देखि वितरण प्रक्रिया सम्म हदै सम्म लचक रहने विश्वास हामीलाई दिलाउनु भएको छ ।
त्यसैगरी हामीले नागरिकता सम्बन्धि कानुनको अन्तिम प्रारूप तयार गर्ने बेलामा सरोकारवाला हामीहरु संग पनि समन्वय र सहकार्य गर्न अनुरोध गरेका छौ । आवश्यक परेको खण्डमा तत् अवस्थामा उहाँ स्वयंलाई बेलायत निम्त्याएर आम जनसमुदायको चासोको सुनुवाई गराउने अथवा हाम्रो कार्यदलले फेरी भेटवार्ता गर्न सक्ने बारे पनि हामीले स्मरण गराएका थियौ ।
त्यसैगरी भूपू गोर्खाहरुको विशिष्ठ परिस्थिती लाई मध्यनजर गर्दै नागरिकता सवालमा नेपाल सरकारले उनीहरुलाई दिने सक्ने प्रावधानमा पृथक व्यवस्था गर्न समेत हामीले अनुरोध गरेका छौ ।
वास्तवमा नागरिकता सम्बन्धि कानुनलाई अन्तिम रुप दिने निकाय यो नै भएकोले पनि अन्य मन्त्री लगायत संगको भेट भन्दा पनि अत्यन्तै महत्वपूर्ण रुपमा लिएर नै हामीले यो भेटवार्ता लाई बिशेष महत्व दिएका हौ । यसको संयोजन आई सी सीका निर्वतमान सल्लाहकार तथा कानुनविध सुरेन्द्र श्रेष्ठले गर्नु भएको थियो ।


माननीय गृहमन्त्री राम बहादुर थापासंगको भेट

त्यसैगरी एन आर एन यूकेको टोलीले यहि दौरानमा गृहमन्त्री राम बहादुर थापा संगको भेट मार्फत हाम्रा मागहरुलाई ज्ञापन पत्रमा बुँदागत गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । नेपालमा आई परेका विगतका बिभिन्न दैवी प्रकोप राहत तथा उदार कार्यमा नेपाल सरकार गृह मन्त्रालय संगको सहकार्यलाइ स्मरण गराउदै गृह प्रशाशन अन्तर्गत हुने नागरिकता वितरण प्रक्रियालाइ सर्वसुलभ र सरल बनाउनु पर्ने मागलाई हामीले दोहोर्याएका थियौ । जवाफमा उहाले गृह मन्त्रालय बाट यसमा सक्दो सहयोग हुने बताउदै गैर आवासीय नेपालीहरुको माग र भावनालाई नेपाल सरकारको सम्बन्धित निकाय सम्म पुर्याउने आश्वाशन दिनु भएको थियो । यो भेटको संयोजन वर्तमान कार्यसमितिका कोषाध्यक्ष तेजेन्द्र रोका मगरले गर्नु भएको थियो ।

माननीय उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादबसंगको भेट
एन आर एन यूकेकी अध्यक्ष श्रीमती पुनम गुरुङको संयोजनमा एन आर एन यूकेको टोलीले स्वास्थ्यमन्त्री उपेन्द्र यादब संग भेटवार्ता गर्दै एक ज्ञापनपत्र बुझाएको छ । उहाँसंगको भेटमा नेपालका दुर दराजमा स्वास्थ सेवा बाट बन्चित निम्न वर्गीय समुदायलाई स्वास्थ्य सेवामा पहुच बढाउन एन आर एन यूकेले सहकार्य गर्न सक्ने क्षेत्रको पहिचान गर्दै टेलीमेडिसिन जस्ता उपयोगी सेवामा समन्वय गर्न सक्ने सम्बन्धी छलफल भएको थियो । साथै ज्ञापन पत्रमा स्वास्थ्य मन्त्रालय मार्फत हाम्रा मागहरुमा नेपाल सरकारको ध्यानाकर्षण गराएका थियौ ।


माननीय पर्यटनमन्त्री योगेश भट्टराई संगको भेट
नेपाल सरकार पर्यटन मन्त्रालय र एन आर एन आइ सी सीले एम ओ यू (मेमोरेंडम अफ अन्डरस्टानडिंग ) गरिसकेको परिप्रेक्षमा एन आर एन यूकेको टोलीले एक भेट गर्दै नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन बेलायतबाट के कस्तो कार्य गर्न सकिन्छ भन्ने बारे छलफल गरेको छ । यसबारेमा आगमी महिना हुने पर्यटन मन्त्रीको आसन्न बेलायत भ्रमणमा थप छलफल र अन्तरक्रिया गर्ने बारे समेत छलफल भएको छ । यो भेटको लागी मन्त्री भट्टराईले हामीलाई स्वयं आमन्त्रित गर्नु भएको थियो ।


पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई संगको भेट

नेपाल बसाईको उत्तर्रार्धमा एन आर एन यूकेकी अध्यक्ष श्रीमती पुनम गुरुङले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई संग उहाकै कार्यकक्ष सिंहदरवारमा भेटवार्ता गर्नु भएको छ । भेटमा अध्यक्ष गुरुङले पूर्व प्रधानमन्त्री भट्टराई लाई गैर आवासीय नेपाली नागरिकता तथा भूपू गोर्खाहरुको मागलाई सम्बोधन गराउन पहल गरिदिन अनुरोध गर्नु भएको थियो । जवाफमा पूर्व प्रम भट्टराईले आफुले यसमा हर सम्भव प्रयास गर्ने आश्वासन दिनु भएको थियो । भेट पश्चात पूर्व प्रम भट्टराईले एक ट्वीट गर्दै भूपू गोर्खा तथा गैर आवासीय नेपाली हरुको माग सम्बोधनमा गम्भीर हुन् नेपाल सरकारको ध्यानाकर्षण समेत गर्नु भएको थियो । पूर्व प्रम भट्टराईले विशेषत् भूपू गोर्खाहरुको मागको सम्बन्धमा आफु गम्भीर रहेको र यस सम्बन्धमा आफ्नो यथासक्य प्रयास रहने जानकारी गराउनु भएको थियो ।

अत्यन्तै छोटो सुचना र तयारीको बावजुत आयोजित उपरोक्त भेटवार्ता हरुमा कार्यसमितीका बिभिन्न पदाधिकारी, निर्वतमान अध्यक्ष, आई सी सी सदस्य तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

नागरिकता लगायतक माग हरुलाई गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले जोडदार रुपमा उठाउदै आएको छ । तथापी तुलनात्मक रुपमा बेलायतको हकमा जनसख्या तथा सेटलमेन्ट प्रकृतिको कारण हामीले यसमा विशेष पहल कदमी लिनु पर्ने आवश्यकता महसुस गरेका छौ । हामी यो आन्दोलनमा आम बेलायतवासी नेपाली जनसमुदायको विशेष साथ् सहयोग र सहकार्यको अपेक्षा गर्दछौ ।
एन आर एन यूकेको कार्यसमितिले के गर्नु पर्छ र आगामी कार्यदिशा कस्तो हुनु पर्छ भन्ने सवालमा हामीहरु तपाईहरुको राय सल्लाह र सुझाव बमोजिम चल्ने नै छौ । यसैबीच कार्यसमिति मार्फत भए गरेका क्रियाकलापहरुको बारेमा तपाईहरु लाई सुसुचित गर्ने शृंखला अनुरुप यो पहिलो शृंखला पस्किएका छौ । कार्यसमितिले पूर्ण रुपमा कार्यभार ग्रहण समेत नगरिसकेको परिप्रेक्षमा यसको गतिशिलतामा अझै केहि धैर्य गर्नु पर्ने देखिएको छ । आगामी दिनमा यसको सुचना संजाललाइ अझै चुस्त दुरुस्त रुपमा परिस्कृत गर्दै जाने छौ ।

फडिन्द्र भट्टराई
महासचिव, एन आर एन यूके
सम्पर्कको लागी : info।nccuk@nrna।org