१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बन्दका कारण राजधानीको जनजीवन प्रभावित

नेपालब्रिटेन डट कम्
२८ कार्तिक २०७३, आईतवार ०४:४७

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले आह्वान गरेको नेपाल बन्दका कारण राजधानीको जनजीवन प्रभावित भएको छ । खाद्य सुरक्षाको माग गर्दै सो पार्टीले गरेको बन्दका कारण काठमाडौँमा सार्वजनिक सवारीसाधन न्यूनमात्रामा चलेका छन् । निजी नम्बर प्लेटका सवारी साधन भने केही बढी चलेका छन् ।
बन्दका कारण राजधानीका विद्यालय, क्याम्पस, पसललगायत बन्द भएका छन् । सडकमा बन्दकर्ताका खासै सहभागिता नभए पनि बन्दको प्रभाव परेको छ ।

७६ बन्दकर्ता पक्राउ
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले काठमाडौँका विभिन्न स्थानबाट ७६ जना बन्दकर्ता पक्राउ परेको जानकारी दिनुभयो । कलङ्की, कोटेश्वर, महाराजगन्ज, चावहिललगायतका क्षेत्रबाट बन्दकर्ता पक्राउ परेको उहाँले बताउनु भयो ।
सडकमा बन्दकर्ता देखिए प्रहरीले तत्काल पक्राउ गरिरहेको छ ।

बन्दकर्ताले बलेरो जिपमा आगजनी गरे
सिन्धुलीमा आज बिहान विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले एउटा बलेरो जिपमा आगजनी गरेका छन् । बन्दकर्ताले बिपी राजमार्गअन्तर्गत भद्रकाली गाविस–२ चियाबारीमा सिरहा जाँदै गरेको बलेरोमा आगजनी गरेका हुन् ।

काठमाडौँबाट सिरहा जाँदै गरेको स१च ११४४ नंको बलेरोमा बन्दकर्ताले आगजनी गर्दा बलेरो पुर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार पाँच सातजना बन्दकर्ताले गाडी रोकी बन्दको अवज्ञा गरेको भन्दै आगो लगाइदिएका थिए ।

जिप्रका सिन्धुलीका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले बलेरोमा आगजनी गर्नेलाई पक्राउ गरी कारबाही गर्ने बताउनुभएको छ । आगजनी भएको बलेरोमा कुनै पनि यात्रु नरहेको बलेरो चालक रामचन्द्र महतोले बताउनुभयो । बन्दकर्ताले आफूलाई गाडीबाट निकालेर आगो लगाएको उहाँको भनाइ छ ।

यता सिन्धुलीमा आज विगतमा हुने गरेको विप्लव माओवादीको बन्द प्रभावकारी नहुने गरेको भन्दै विद्यालय सञ्चालन गर्ने भनिए तापनि चियाबारीमा एक बलेरोमा आगजनी भएपछि एकाएक बन्द गरिएको छ । यस्तै सिन्धुलीमाढीमा खुलेका पसल पनि गाडीमा आगजनी भएको खबर थाहा पाएपछि बन्द गरिएको छ ।
banda-1