७ बैशाख २०८१, शुक्रबार
Follow Us

दुई महिनाभित्र लाप्राक वस्ती हस्तान्तरण हुन्छ : अध्यक्ष पन्त

नेपालब्रिटेन संवाददाता
९ कार्तिक २०७६, शनिबार १४:३४

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले लाप्राकको एकीकृत नमूना वस्ती निर्माण दुई महिनाभित्र सम्पन्न भई हस्तान्तरण हुने बताए । शनिबार गृहजिल्ला गोरखा पुगेका पन्तले सञ्चारकर्मीहरुसँग भने, दुई महिनाभित्र लाप्राकको वस्ती निर्माणको काम सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गर्ने बताए । उनले भने, ‘सम्झौता अनुसारको हामीले गर्नुपर्ने काम लगभग सकिसक्यौं, अब पुननिर्माण प्राधिकरणले गर्नुपर्ने काम मात्र बाँकी छ ।’

अध्यक्ष पन्तले भने, जिम्मेवारीबाट एनआरएनए नपन्छिने अध्यक्ष पन्तले स्पष्ट पारे । उनीभन्दा अघिल्ला अध्यक्ष भवन भट्टले आफ्नो कार्यकालको अन्तिम दिन लाप्राक बस्ती निर्माणबाट हात झिक्ने संकेत गरेका थिए ।

राष्ट्रपतिको हातबाट वस्ती हस्तान्तरण गर्ने तयारी भइरहेको अध्यक्ष पन्तले जानकारी दिए । ‘अहिले शौचालय निर्माणको काम भइरहेको छ । ७० वटा बनिसक्यो, ३०० वटाको खाडल खनेर ढलान भइसक्यो,’ उनले थपे, ‘स्थानीयले गर्नुपर्ने श्रमदान नगर्दा केही घरमा शौचालय बनाउने काम शुरु हुन सकेको छैन । अब त्यसलाई के गर्ने भनेर हामी छलफल गरिरहेका छौ ।’

वस्तीको सडक, विद्युत लगायतका आवश्यक पूर्वाधार निर्माणबारे पनि छलफल भइरहेको उनले बताए । वस्तीको संरक्षण र दिगोपनका लागि गाउँपालिकासँग सहमति समेत गर्ने उनले बताए ।