७ बैशाख २०८१, शुक्रबार
Follow Us

यमपञ्चकको चौथो दिन : आज गाई र गोरुको पूजा

नेपालब्रिटेन संवाददाता
११ कार्तिक २०७६, सोमबार ०४:५२

काठमाडौं । यमपञ्चकअन्तर्गत आज गाई, गोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइयो । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता छ ।

गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा–मीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा–मीठा परिकार खुवाइन्छ ।