१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अष्ट्रेलियाका एक गैरआवासीय नेपाली युवा विश्वकपमा छनोट

नेपालब्रिटेन डट कम्
११ कार्तिक २०७६, सोमबार २१:३२

काठमाडौं– अष्ट्रेलियामा एक नेपाली युवा विश्व शारीरिक सुगठन प्रतियोगिताका लागि छनोट भएका छन्। भिक्टोरिया स्टेटको मेलबर्नमा आइतबार १८० प्रतियोगीबीच भएको राष्ट्रिय प्रतिस्पर्धामा स्वर्ण जित्दै नेपालको कञ्चनपुर घर भएका प्रेमराज भट्ट विश्व शारीरिक सुगठनका लागि छनोट भएका हुन्। विश्व शारीरिक सुगठन यहीँ नोभेम्बर ९ र १० गते मेक्सीकोमा हुँदैछ। उनी एसियन गेमका लागि समेत छनोट भएका छन्। एसियन गेम यहीँ नोभेम्बर ३० र डिसेम्बर १ मा भारतको बेंग्लोरमा हुँदैछ।

भट्टले राष्ट्रिय प्रतिस्पर्धामा पनि दुई विधामा खेल्दा एकमा स्वर्ण र अर्काेमा रजत जितेका हुन्। पुरुष फिजिक्स तर्फ स्वर्ण जितेका छन भने बडीविल्डर तर्फ रजत जितेका छन् । यसअघि भट्ट पुरुष फिजिक्सतर्फ राज्यस्तरीय खेलको उपाधि जित्दै राष्ट्रिय खेलका लागि छनोट भएका थिए। उनले राष्ट्रिय खेलमा न्यू साउथ वेल्स राज्यको प्रतिनिधित्व गरेका थिए। भट्ट राज्यस्तरीय खेलमा नेपाली क्लब फिटनेस नेपाल (क्याम्सी), सेप्स टु (काठमाडौं)बाट सहभागी भएका थिए।

विश्वकप तथा एसियन कपका लागि छनोट भएका भट्टलाई विश्व शारीरिक सुगठनका अध्यक्ष ग्रिम लान्सफिल्डले प्रमाणपत्र र मेडल प्रदान गरेका थिए। अध्यक्ष लान्सफिल्डले विश्वकपको तयारी गर्न त्यो नभ्याए एसियन कपको तयारी गर्न सुझाव दिएका छन्। ‘समय कम छ, पैसा बढी खर्च हुन्छ, समयमै भिसा अप्लाइ गर, तयारी गर भनेर अध्यक्ष लान्सफिल्डले सुझाव दिनुभयो’, भट्टले भने, ‘मसँग पनि पैसा छैन। भएको राज्य र राष्ट्रिय गेममै सकियो भन्ने जवाफ दिएको थिए। उहाँले विश्वकप सक्दैनौं भने एसियनका लागि तयारी गर भन्नुभएको छ। एसियन गेमबारे योजना बनाउँदैछु।’

नेपालबाट खेल्ने धोको

विश्वकपमा छनोट भएका भट्टले अष्ट्रेलिया तथा नेपालमध्ये कुनै एक देशको प्रतिनिधित्व गर्दै खेल्न पाउने छन्। उनको इच्छा भने नेपालबाटै खेल्ने छ। तर, आर्थिक समस्याको मारमा उनी परेका छन्। अष्ट्रेलियाको प्रतिनिधित्व गर्दा उनको खर्च त्यहाँको सरकारले व्यहोर्न भनेको छ। तर, भट्ट नेपालबाटै खेल्न चाहन्छन्। नेपालमा भने खेलाडीलाई बजेट दिने व्यवस्था नरहेको सुनेको उनले बताए। ‘केही सहयोग पाए खेल्ने इच्छा थियो। सायद विश्वकप खेल्दिन होला। नेपाली भएर अरु देशको झण्डा बोक्न सक्दिन। एसियन गेमको तयारीमा लाग्छु’, उनले बाध्यता सुनाए।