६ बैशाख २०८१, बिहीबार
Follow Us

ब्रेक्जिट समयसीमा ३१ जनवरी सम्मलाई बढाइयो

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७६, मंगलवार ०५:३४

लन्डन — युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) को समयसीमा पुन: थप गरिएको छ । युरोपेली संघमा आवद्ध देशका राजदूतहरू संलग्न बैठकमा ब्रेक्जिट समयसीमा थप गर्ने सहमति भएको हो । बीबीसीका अनुसार बैठकले ईयूबाट बेलायतको बहिर्गमनको अन्तिम मिति एक साताभित्र निर्धारण गर्ने निर्णयसमेत गरेको छ ।

युरोपेली आयोगका प्रवक्ता मीना आन्द्रेभाले भनेकी छन्, ‘म के भन्न सक्छु भने युरोपेली संघका २७ वटै देश ब्रेक्जिट समयसीमा थप्न तथा त्यसका लागि निरन्तर क्रियाशील रहन सहमत भएका छन् ।’ उनका अुनसार ईयू मुख्यालय ब्रसेल्समा सोमबार हुने बैठकमा त्यसको टुंगो लगाइनेछ ।

बेलायतका चान्सलर साजिद जाभिदले ‘बेलायत पूर्वनिर्धारित समयअघि नै युरोपेली संघबाट बाहिरिन असम्भव’ रहेको बताएपछि म्याद थपका लागि बैठक गरिएको हो । पूर्वनिर्धारित समयसीमाअनुसार बेलायत यही अक्टोबर ३१ भित्र ईयूबाट बाहिरिनुपर्ने थियो । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफू ईयूको निर्णय पर्खिरहेको बताएका छन् ।

ब्रेक्जिटबारे आफ्नो प्रस्तावमाथि संसद्मा सहमति जुटाउन असफल भएपछि जोन्सनले चुनावको प्रस्ताव गरेका छन् । ईयूले ब्रेक्जिट मिति सन् २०२० को जनवरीसम्म बढाएको खण्डमा डिसेम्बर १२ मा संसदीय चुनाव गर्ने प्रस्ताव जोन्सनको छ । नयाँ जनादेशले ब्रेक्जिट गतिरोध अन्त्य हुने उनको दाबी छ । बेलायती सांसदहरूले निर्वाचनसम्बन्धी जोन्सनको प्रस्तावबारे आगामी सोमबार निर्णय लिने जनाइएको छ ।

संसद्को चुनाव तत्काल भए कन्जरभेटिभ पार्टीका नेतासमेत रहेका प्रधानमन्त्री जोन्सन नै विजयी हुने पछिल्ला मतसर्वेक्षणहरूले देखाएका छन् । बेलायती जनमत र नेताहरू विभाजित रहेकाले यसको फाइदा जोन्सनलाई पुग्ने आंकलन छ । विपक्षी दलहरू मध्यावधि चुनाव तथा पुन: ब्रेक्जिट जनमतसंग्रह गर्ने/नगर्नेबारे अन्योलमै रहेकाले पनि जोन्सनको दल अगाडि देखिएको हो ।
यसअघि सन् २०१६ मा भएको जनमतसंग्रहमा बहुमत बेलायतीले ईयूबाट बेलायत बहिर्गमनको पक्षमा मतदान गरेका थिए ।

प्रधानमन्त्री जोन्सनले ईयूबाट बेलायतको बहिर्गमन अपरिहार्य रहेको बताउँदै आाएका छन् । जोन्सनले आगामी सोमबारसम्ममा निर्वाचन मितिलाई संसद्ले अनुमोदन गर्ने तथा ब्रेक्जिटबारेको नयाँ समयसीमाको टुंगो लाग्ने विश्वास लिएको जनाएका छन् । तर समयसीक्क्ध्माको मिति तोक्नका लागि युरोपेली संघसँग समन्वय गर्नुपर्छ ।

तर बेलायती विपक्षी सांसदहरूले चुनावका लागि प्रधानमन्त्री जोन्सनले यसअघि गरेका दुइटा अनुरोधलाई अस्वीकृत गरिसकेको छ । यसैले प्रधानमन्त्रीको नयाँ प्रस्ताव पनि संसद्बाट अनुमोदन हुनेमा आशंका कायमै छ ।

प्रधानमन्त्री जोन्सनले विपक्षी दल लेबरका नेता जेरेमी कोर्बिनलाई एक पत्र लेख्दै ब्रेक्जिसम्बन्धी म्याद थप्दै जाने हास्यास्पद कार्य बन्द गर्न विपक्षी दल सहमत हुनुको विकल्प नरहेको उल्लेख गरेका छन् । देशलाई अनिर्णयको बन्दी बनाउने अल्मल्याउने कार्य तत्काल बन्द गर्नसमेत आग्रह गरेका बीबीसीले जनाएको छ ।

‘संसद्ले मुलुकलाई निरन्तर बन्धक बनाउन हुँदैन,’ उनले भनेका छन् । विपक्षी दलका नेता कोर्बिनले बिनासम्झौता ब्रेक्जिटको पक्षमा सहमति गरे मध्यावधि चुनावका लागि सहमत हुन सकिने धारणा राख्दै आएका छन् ।