१५ चैत्र २०८०, बिहीबार
Follow Us

के बग्दादीको पतनसँगै ‘इस्लामिक स्टेट’ नामक उग्रवाद अन्त्य होला ?

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७६, मंगलवार ०६:००

इस्लामिक स्टेट (आइएस) का प्रमुख नेता अबू बकर बगदादीको मृत्युपछि विश्व राजनीतिमा धेरै परिवर्तन हुने सम्भावना देखिएको छ । यो घटनाले सिरियाजस्तो युद्धग्रस्त मुलुकहरुका स्थितिमा सुधार हुने र उग्रवाद कहीँ न कहीँ कमजोर हुने अपेक्षा गरिएको छ । यसका अतिरिक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनमा यो सैन्य कारवाहीको पूरा श्रेय लिने कोशिस गर्नेछन् ।
अमेरिकाको डेलावेयर विश्यविद्यालयका प्रोफेसर तथा अन्तर्राष्ट्रिय मामलाका विशेषज्ञ मुक्तरदर खानले अमेरिकी सैन्य कारवाही र बगदादीको अन्त्यबारे सटिक विश्लेषण गरेका छन् ।
के भन्छन् प्रोफेसर खान ?
ठूलो सौभाग्यको कुरा थियो कि केही साताअघि अमेरिकालाई बगदादीको ‘लोकेशन’ सम्बन्धी गोप्य जानकारी प्राप्त भयो । यसअघि पनि इस्लामिक स्टेटका नेता इराकबाट निस्किएर सिरियाको इदलिब आसपास लुकेर बसेका जस्ता खबर मिडियामा आएका थिए ।
बगदादीविरुद्धको अप्रेशन सफल भएका कारण डोनाल्ड ट्रम्प र अमेरिका दुवैलाई कयौं रणनीतिक र राजनीतिक फाइदा भएको छ । अमेरिकामा सिरियाका लागि डोनाल्ड ट्रम्पको नीतिको लगातार सार्वजनिक आलोचना हुँदै आएको छ । यस्तो आलोचना डेमोक्रेट्समात्र होइन, रिपब्लिकन्सका तर्फबाट पनि हुँदै आएको छ ।
सिरियाबाट अमेरिकी सैनिकलाई फिर्ता बोलाउने निर्णयको सार्वजनिक आलोचना स्वयं डोनाल्ड ट्रम्पका निकट नेताहरुले गर्दै आएका थिए । बगदादी मारिएपछि भने अब दुवै पार्टी मौन रहने अनुमान गरिएको छ ।
इस्लामिक स्टेटका नेता मारिएपछि, खासगरी जसरी सैन्य अप्रेसनअन्तर्गन उनलाई मारियो, यसको असर इस्लामिक स्टेटको गतिविधि, नयाँ लडाकु भर्ना र कट्टरपन्थको प्रचार–प्रसारमा पनि पर्छ । आइएसलाई यो घटनाबाट माथि उठ्न र आफ्नो स्थिति सम्हाल्न समय लाग्नेछ ।
उत्तरपश्चिम सिरियामा टर्कीले हालै गरेको हमलापछि इस्लामिक स्टेटलाई निकै फाइदा भएको थियो । इस्लामिक स्टेटका कयौं लडाकु र उनीहरुका परिवार रिहा भएका थिए । किनकि, कुर्दले आफ्नो ऊर्जा टर्कीको सामना गर्नमै लगाउनु परेको थियो ।
यस्तो स्थितिमा अमेरिकाले सिरियाबाट सैनिक हटाउने र सिरियामाथि टर्कीको हमलाका कारण इस्लामिक स्टेट फेरि आफ्नो अवस्था सुदृढ गराउन सफल हुन्छ भन्ने विशेषज्ञहरुको भनाइ थियो ।
यस अतिरिक्त इराकमा भइरहेको प्रदर्शनका कारण इराकको ध्यान पनि यतिबेला निकै हदसम्म इस्लामिक स्टेटबाट मोडिएको थियो । यस्तोमा इस्लामिक स्टेटका लागि फेरि आफ्नो प्रभाव बढाउने मौका मिलेको थियो ।
ओसामा विन लादेनपछि बगदादी मारिनु आतंकवादविरुद्धको ठूलो जित हो भन्ने स्वीकार गर्न कठिन छैन । तर ओसामा विन लादेन मारिएपछि न अल कायदा मासियो, न आतंकवाद । त्यसैले बगदादीको मृत्युपछि आइएस र आतंकवाद सकिन्छ भन्नु गलत हुनेछ ।
तत्कालका लागि टर्कीले सिरियामा एउटा ‘बफर जोन’ बनाउन चाहेको छ । टर्कीले एउटा यस्तो क्षेत्र बनाउन चाहेको छ, जहाँ न सिरियाको सेना होस् न कुर्द लडाकु ।
टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले गत शुक्रबार नमाजपछि भनेका थिए कि यो क्षेत्र कुर्दका लागि ठिक होइन तर अरबका लागि राम्रो हो । सिरियाको त्यो हिस्सा उनले बनाएको सिरियन अरब मिलिसियाको कब्जामा रहोस् भन्ने उनी चाहन्छन् ।
तर अर्कोतर्फ, सिरियामा अहिले पनि रुसको धेरथोर प्रभाव छ । सिरियाली राष्ट्रपति बशर अल असद रुसको मद्दतबाट उक्त इलाकालाई फेरि आफ्नो कब्जामा लिन पुरा कोशिस गर्नेछन् । अर्थात् सिरियाली क्षेत्रमा आफ्नो वर्चश्व स्थापित गर्नका लागि अलग अलग मुलुकबीचको होड अहिले अन्त्य हुने अवस्था छैन । यस अर्थमा सिरियामा अझै शान्ति हुनेछैन ।
सिरियामा इस्लामिक स्टेट जसरी पुनरागमनको कोशिस गरिरहेको थियो, त्यसमा ढिलाइ वा मुस्किल बढेको पक्कै हो । किनकि आइएसमा तत्काल त्यसप्रकारको नेतृत्व देखिएको छैन । तर सिरियामा घटनाक्रम गतिशील छन् भन्ने हामीले हेक्का राख्नुपर्छ । उदाहरणका लागि, एक समय यस्तो थियो कि अल कायदाका समूहहरु थिए । नुसरा नामको ‘फ्रन्ट’ थियो जो अप्रत्यक्ष रुपमा अमेरिकासँग मिलेर इस्लामिक स्टेटविरुद्ध लड्दै आएको थियो । एक समय यस्तो पनि थियो कि अल कायदा र अमेरिका एक साथ लडिरहेका थिए ।
यस्तोमा इस्लामिक स्टेटका लडाकु त्यहाँबाट हटेर अन्य समूहमा आवद्ध भएमा आश्चर्य मानिरहनु पर्दैन । उनीहरु सिरियाली आर्मीसँग वा सिरियाली अरब सेनासँग जोडिन सक्छन् जो टर्कीसँग सम्बद्ध छ । यस्तोमा उनीहरुसँग इस्लामिक स्टेटका अतिरिक्त कयौं विकल्प छन् । इस्लामिक स्टेटका लडाकुका लागि ‘भविष्यका विकल्प’ खोज्ने अवसर पनि मान्न सकिन्छ । किनकि, जसरी आइएसले लडाकुहरुलाई तलब दिन्थ्यो, त्यसैगरी त्यहाँ सक्रिय धेरै समूहले पारिश्रमिक दिने गरेका छन् ।
अमेरिकाका लागि पनि यो धेरै सौभाग्यशाली समय हो । उसलाई बगदादीको बारेमा जानकारी प्राप्त भयो । विगत दुई सातादेखि न्यूज च्यानल, अखबार वा रेडियोमा लगातार सिरिया मामलामा ट्रम्पको नीतिको आलोचना हुँदै आएको थियो । आलोचकहरुमा ट्रम्पका निकट सहयोगी पनि थिए । अमेरिकामाथि भरोसा गर्न सकिँदैन भन्नेहरु पनि थिए । अमेरिकाले जुनसूकै समयमा आफ्ना मित्रको साथ छोड्न सक्छ र सिरिया ट्रम्पको हातबाट फुत्किसक्यो भन्ने पनि प्रशस्त थिए । तर बगदादीको मृत्युपछि यी कुरा परिवर्तन भएका छन् ।
बगदादीको मृत्यु ट्रम्पका लागि ठूलो राहत भएको छ । उनले यसलाई मध्यपूर्वमा आफू एक मुख्य शक्ति रहेको भनेर देखाउन सक्नेछन् । तर अर्को पाटोलाई पनि नजरअन्दाज गर्न सकिँदैन । इस्लामिक स्टेटका लडाकु सिरिया र इराकमा आफ्नो भविष्य कमजोर रहेको आँकलन गरी अन्यत्र पलायन हुन पनि सक्छन् । जस्तो कि, सन् २०१८ मा इस्लामिक स्टेटबाट अलग भएर कयौं लडाकु अफ्रिका पुगेका थिए । केही ‘बोको हराम’ नामको उग्रवादी समूहमा भर्ना भए भने केहीले अफगानिस्तानमा शरण लिए । उनीहरु यति मजबुत भए कि तालिवानले समेत उनीहरुलाई नियन्त्रण गर्ने ग्यारेन्टी दिन सकेको छैन । त्यसैले पनि अफगानिस्तानबाट अमेरिकी सेना हटेको छैन ।
इस्लामिक स्टेटको प्रभाव अन्त्य भए पनि यसका लडाकु अलग अलग देशमा उग्रवादी संगठनसँग जोडिन सक्छन् भन्ने कुरालाई मनन् गरेर अघि बढ्नु पर्दछ । युरोप इस्लामिक स्टेटको पुनरागमनका लागि तयार छ तर त्यहाँ पनि केही कठिनाइ छन् ।
ट्रिनिडाड कै कुरा गर्ने हो भने त्यहाँबाट सयौंको संख्यामा युवा इस्लामिक स्टेटबाट तालिमका लागि गएका थिए । उनीहरु अब फिर्ता हुने प्रक्रियामा रहेको बताइन्छ । यस्तोमा यो चिन्ताको एउटा विषय हो । यदि इस्लामिक स्टेटका लडाकु फिर्ता भएमा उनीहरु अन्य काममा पक्कै आवद्ध हुने छैनन् । यस्तोमा देश र समाजका लागि उनीहरु खतरा बन्न सक्छन् ।
विगत दुई–तीन महिनादेखि भइरहेको उग्रवादी गतिविधिमा इस्लामिक स्टेटको कुनै लेनादेना थिएन । त्यहाँ हाल कुर्दका कारण खतरा छ । सिरियामा प्रशासनले सिरियाको पुरा क्षेत्र उसको अधिकारक्षेत्रमा आओस् भन्ने चाहेको छ र यसका लागि पूरा कोशिस गरिरहेको छ । अर्कोतिर इजरायल पनि अमेरिकाले आफ्नो साथ छोड्ने हो कि भन्ने चिन्तामा छ । यस्तोमा अब इजरायलको भूमिका पनि महत्वपूर्ण हुन सक्छ ।
यो निश्चित छ कि अहिलेसम्म उग्रवादी संगठनमा सामेल हुनका लागि जसरी भर्ती हुँदै आएको थियो, त्यसमा लगाम पक्कै लाग्ने छ । इस्लामिक स्टेटको रेकर्ड धेरै राम्रो देखिन्छ । त्यसैले पनि युवाहरु यसमा भर्ती हुन आकर्षित हुन्थे । तर, बगदादीको मृत्युपछि भने यो क्रममा पक्कै कमी आउनेछ ।