८ बैशाख २०८१, शनिबार
Follow Us

‘जहाजमा मतुवा– नचढोस्, एयरपोर्टमा एनआरएन– नलडोस्’

नेपालब्रिटेन संवाददाता
१३ कार्तिक २०७६, बुधबार ०४:३२

काठमाडौं । विगत वर्ष झैं यसपाली पनि सिस्नुपानी नेपालले राजनीति र नेपाली समाजमा देखिएको चरित्रलाई व्यंग्य हान्दै देउसी भैली कार्यक्रम आयोजना ग-यो । राजनीति र समाजको ब्यतिथिलाई प्रधानमन्त्रीलगायतका सबै ‘ठूला’ नेताहरुलाई आमन्त्रित गरेर शब्दले सिस्नुपानी लगाएको थियो ।

यसपटकको सिस्नु पानीको टोलीले गैरआवासीय नेपालीलाई पनि दुई शब्दको सिस्नुपानी लगाएको थियो । सिस्नु पानीको टोलीले दिउसी कार्यक्रमको अन्त्यतिर आशिस दिने बेलामा गैरआवासीय नेपालीलाई पनि दुई लाइन आशिस दिएका थिए । ‘जहाजमा मतुवा– नचढोस्’, ‘एयरपोर्टमा एनआरएन– नलडोस् ।’ भन्दै उनीहरुले आशिस दिएका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको पनि उपस्थिति थियो । राजनीतिक व्यग्यमा मज्जाले हाँसिरहेका डा. महतोलाई यी दुई लाइनको आशिसले चाहिँ हसाउन सकेन । उनको रमाइलो मुड एक्कासि बद्लिएको देखिन्थ्यो ।
सिस्नु पानी नेपालको व्यग्यमा एनआरएन शब्दको प्रयोग सम्भवतः पहिलो पटक भएको छ । व्यंग्यमा एनआरएनए समेटिनुको अर्थ संस्थामा विकृति भित्रिएको छ भन्ने लगाउन सकिने एक जानकारले नेपाल ब्रिटेन डट कमलाई जानकारी दिए । व्यंग्यलाई सच्चिने अवसरको रुपमा लिनुपर्ने उनको तर्क थियो ।

‘डाक्टरले किड्नी– नचोरुन्
जनताले अस्पताल– नफोरुन्
जहाजमा मतुवा– नचढोस्
एयरपोर्टमा एनआरएन– नलडोस्
हुण्डीको जाल– तोडियोस्’