१३ बैशाख २०८१, बिहीबार
Follow Us

पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर गर्ने तयारी

नेपालब्रिटेन संवाददाता
१४ कार्तिक २०७६, बिहीबार ०५:१३

काठमाडौं । संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा बिरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आज जिल्ला अदालत मुद्दा दायर गर्ने तयारी गरेको छ ।

मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअनुसार मुद्दा चलाउन प्रहरीले मागदाबी सहितको अनुसन्धान प्रतिवेदन तिहार अघि नै बुझाइसकेको छ । प्रतिवेदन अध्ययनपछि आज कार्यालयले मुद्दा प्रक्रिया अघि बढाउन लागेको हो ।

प्रहरी परिसर काठमाडौंले १८ वर्षमाथि धेरै उमेरको महिलालाई बलात्कार प्रयास गरेमा साढे तीनदेखि पाँच वर्षसम्म कैद सजायको राय दिएको छ । साथै सार्वजनिक ओहोदाको व्यक्ति भएकाले उनीविरुद्ध त्यसमा थप ५० प्रतिशत सजाय माग दाबी पनि गरिएको छ ।

यस्तो मुद्दामा २६ दिनभित्र अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ । १९ असोजमा बालुवाटारस्थित निवासबाटै महरा पक्राउ परेको बिहीबार २५ दिन हुन्छ । असोज १२ गते डेरामा आएर आफूमाथि बलात्कार प्रयास गरेको भन्दै १८ असोजमा पीडित महिलाले उजुरी दिएपछि प्रहरीले छानविन प्रक्रिया अघि बढाएको थियो । पक्राउ परेपछि बिरामी भएका महरा २३ असोजदेखि नर्भिक अस्पतालमा उपचार गराइरहेका छन् ।