१२ बैशाख २०८१, बुधबार
Follow Us

प्रम ओलीको डायलासिस आज दोस्रोपटक गरिने, आजै डिस्चार्ज गरिने

नेपालब्रिटेन संवाददाता
१४ कार्तिक २०७६, बिहीबार ०६:०८

काठमाडौं । ग्राण्डी अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको आज दोस्रो पटक डायलासिस गरिने सम्भावना छ । नियमित स्वास्थ्य परीक्षणको लागि भन्दै प्रधानमन्त्री ओलीको हिजो बुधबार अस्पताल भर्ना भएका थिए । उनको हिजै डायलासिस गरिएको थियो । प्रधानमन्त्री ओलीको डायलासिस हिजो करिब दुई बजेतिर सकिएको थियो । डायलासिस सकेर प्रधानमन्त्रीलाई केहीबेर आइसियूमा राखिएको थियो । साँझ उनलाई क्याबिनमा सारिएको थियो । प्रधानमन्त्रीको अवस्था सामान्य रहेको र उनले सोफामै बसेर कुरा गरेका थिए ।

उनको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो । पिसाब राम्ररी नभएर शरीरमा पानीको मात्रा धेरै भएको पनि बताइएको छ । विज्ञहरुका अनुसार शरीरमा पानीको मात्रा धेरै भएपछि श्वासप्रश्वासमा कठिनाइ हुन्छ भने रगतमा पोटासियमको मात्रा धेरै बढ्यो भने मुटु ‘ब्लक’ हुने सम्भावना रहन्छ ।

दोस्रोपटक प्रधानमन्त्रीको आज डायलासिस गरिने सम्भावना रहेको पनि स्रोतले बतायो । दोस्रो डायलासिसले रगतमा रहेको हानिकारक तत्व थप कम गराउनेछ । त्यसपछि भने प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गरिने सम्भावना छ । प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौलाले काम गर्न छाडेपछि नयाँ मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यो मिर्गौला पनि अहिले कमजोर भएर समस्या हुने गरेको छ ।

सिंगापुरमा गरिएको प्लाज्माफेरेसिस कति प्रभावकारी हुन्छ यकिन हुन केही समय लाग्ने चिकित्सकहरूले बताएका थिए । अहिले रगतमा फेरि क्रेटिनिन, युरिया र पोटासियम बढ्नुको अर्थ प्लाज्माफेरेसिस धेरै प्रभावकारी नभएको संकेतका रुपमा बुझ्नुपर्ने एक मिर्गौला विशेषज्ञले बताए ।