१५ चैत्र २०८०, बिहीबार
Follow Us

कपिलवस्तुको कृष्णनगरमा कफ्र्यु आदेश, प्रहरीको गोली लागेर एकको मृत्यु

नेपालब्रिटेन संवाददाता
१४ कार्तिक २०७६, बिहीबार ०६:२५

बुटवल । कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोली लागि स्थानीय सुरज कुमार पाण्डेको मृत्यु भएको छ । लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा भएको विवादका कारण स्थानीय दुई समूहबीच झडप भएको थियो । कर्फ्यूकाबीच पनि प्रदर्शन भएपछि प्रहरीले नियनत्रणमा लिन गोली चलाउँदा पाण्डेको मृत्यु भएको हो ।

लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा भएको विवादले उग्र रुप लिएपछि कपिलवस्तुको कृष्णनगरमा कर्फ्यू लागेको छ । लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा सुरु भएको दुईपक्षको विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला प्रशासन कार्यालयले आज कर्फ्यू लगाएको हो ।

कर्फ्यू कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि लगाइएको प्रशासनले जानकारी दिएको छ ।

प्रशासनले कर्फ्यूको अवज्ञा गरेमा कानुन वमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । कृष्णनगर क्षेत्रमा लक्ष्मी माताको मूर्ति विसर्जन गर्न लैजाँदै गर्दा स्थानीय दुई समूहबीच बुधबार साँझदेखि झडप भएको थियो ।

झडप नियन्त्रणमा लिन प्रहरीले चार दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो । सो क्रममा केही स्थानीय घाइते भएका थिए । झडपपछि आज विहानैदेखि कृष्णनगर क्षेत्रमा सुरक्षा ब्यवस्था कडा पारिएको छ । प्रहरीले सर्वपक्षीय छलफल र सहमति गराएर मूर्ति विसर्जनको कार्य अघि बढाउने तयारी गरेको छ ।