१५ चैत्र २०८०, बिहीबार
Follow Us

तराईमा छठको रौनक

नेपालब्रिटेन संवाददाता
१५ कार्तिक २०७६, शुक्रबार ०२:४६

काठमाडौं । तराईलगायतको नदी तथा तालको किनारामा छठको रौनकता हेर्न लायक बनेको छ । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका छन् । कात्तिक शुक्ल चौथीका दिन हिजो ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका हुन् ।

चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बस्ने चलन छ । बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने चलन छ ।

दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । पर्वको तेस्रो दिन सूर्य उपाशनाको निराहार ब्रत बसेर ब्रतालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनेछन् ।

त्यसैगरी सप्तमीका दिन बिहान ब्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गर्ने चलन छ । छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्‍याउने चलन छ ।