७ बैशाख २०८१, शुक्रबार
Follow Us

कृष्णनगरमा आज पनि कर्फ्यू जारी

नेपालब्रिटेन संवाददाता
१५ कार्तिक २०७६, शुक्रबार ०२:५०

बुटवल । कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालिन कर्फ्यू आज पनि जारी रहेको छ । लक्ष्मी माताको मुर्ति भने सुरक्षा समितिको बैठक बसी राती नै प्रहरी लगाएर विसर्जन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा भएको विवादले उग्र रुप लिँदा प्रहरीको गोली चलाउँदा २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको छ । शव पोस्टमार्टमका लागि तौलिहवा अस्पातालमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दीप शम्सेर जबराले जानकारी दिए ।

लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा सुरु भएको दुईपक्षको विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला प्रशासन कार्यालयले विहीबार विहान ११ बजे देखि कर्फ्यू लगाएको हो । कर्फ्यू कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि लगाइएको जिल्ला प्रशासन कार्यालय कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताए ।

प्रशासनले कर्फ्यूको अवज्ञा गरेमा कानुन वमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । कृष्णनगर क्षेत्रमा लक्ष्मी माताको मूर्ति विसर्जन गर्न लैजाँदै गर्दा स्थानीय दुई समूहबीच बुधबार साँझदेखि झडप शुरु भएको थियो ।

बुधबार बेलुकी लक्ष्मीको मूर्ति विर्सजन गर्ने क्रममा झडप हुँदा १० जनाभन्दा बढी घाइते भएका छन् । तनाव बढेपछि प्रहरीले ५० राउण्डभन्दा बढी अश्रुँग्यास प्रहार गरेको थियो ।