१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रा डा केसीद्वारा दसौँ पटकको अनशन सुरु

नेपालब्रिटेन डट कम्
२८ कार्तिक २०७३, आईतवार १५:११

काठमाडौं । वरिष्ठतालाई मिचेर चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिनमा प्रा डा केशवप्रसाद (केपी) सिंह नियुक्त भएको भन्दै प्रा डा गोविन्द केसीले आजदेखि दसाँै अनशन सुरु गर्नुभएको छ ।

शनिबार विज्ञप्ति जारी गर्दै आइतबार २ बजेसम्म डिन नियुक्त गर्नुपर्ने अल्टिमेटम दिनुभएका प्रा डा केसीले शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी आज अनशन सुरु गर्नुभएको हो ।

सोहीअनुसार डिन नियुक्त गरिए पनि वरिष्ठताक्रम मिचिएको भन्दै उहाँले विरोध गर्नुभएको छ । त्रिवि उपकुलपति कार्यालयले नौ महिनापछि आज प्रा डा सिंहलाई सो अध्ययन संस्थानको डिनमा नियुक्त गरेको छ । उहाँले आजै पदभार सम्हाल्नुभएको छ ।

डिन सर्च कमिटीले प्रा डा जगदीशप्रसाद अग्रवाल, प्रा डा सिंह र प्रा डा ज्योति शर्माको नाम डिनका लागि सिफारिस गरेको थियो । त्रिवि उपकुलपति डा तीर्थ खनियाँले भने सिंहलाई वरिष्ठताकै आधारमा डिन नियुक्त गरिएको दाबी गर्नुभयो । अनिवार्य अवकाशका लागि चार महिना मात्र बाँकी रहेका उहाँ विसं २०४५ मङ्सिर ८ गते आइओएममा नियुक्त हुनुभएको थियो । उहाँले चार वर्षअघि शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

डा केसीले रासससँग कुरा गर्दै भन्नुभयो, “मैले कसैलाई व्यक्तिगत फाइदाका लागि नभई सिङ्गो चिकित्सा शिक्षाका लागि सिस्टममा चल्नुपर्ने मान्यताअनुसार नै वरिष्ठताका आधारमा डिन नियुक्ति हुनुपर्ने माग अघि सार्दै आएको छु । डा सिंहको नियुक्ति वरिष्ठताका आधारमा नभएकाले मेरो असहमति छ ।” प्रा डा केसीले वरिष्ठताका आधारमा डा अग्रवाल डिन नियुक्ति हुुनुपर्ने माग राख्नुभएको छ ।

साथै, उहाँले चिकित्सा शिक्षा ऐन नआउँदै बिस्तारित कार्यक्रम वा अन्य कुनै बहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, संसद्बाट चिकित्सा शिक्षा ऐन पारित गर्दा सुझाएका संशोधन समेटेर तथा माथेमा प्रतिवेदन र विगतका सम्झौता अनुकूल हुनेगरी पारित गर्नुपर्ने लगायतका माग दो¥याउनुभएको छ ।