८ बैशाख २०८१, शनिबार
Follow Us

तरुण सभापति जितजंग बस्नेतलाई बनाइने

नेपालब्रिटेन डट कम्
२८ कार्तिक २०७३, आईतवार १५:२२

पोखरा । पोखरामा शनिबारदेखि सुरु भएको नेपाल तरुण दलको चौथो महाधिवेशन सर्वसम्मत रूपमा नेतृत्व चयन गर्दै सोमबार सम्पन्न हुने निश्चितजस्तै देखिएको छ । महाधिवेशनमार्फत सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने परम्परा पनि नेपाल तरुण दलमा रहँदै आएको छ ।
लामो समयसम्म नेविसंघमा काम गरेका नेता जितजंग बस्नेतलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाउने सहमति भएको नेपाली काँग्रेसका नेताहरूले बताएका छन् । भोलि सोमबार पार्टीका शीर्ष नेताहरूद्वारा नाम घोषणा हुने जनाइएको छ । यद्यपि आइतबार बेलुकीसम्म पार्टी नेता एवं निर्देशक समिति सदस्य बालकृष्ण खाँण र समिति सदस्य हृदयराम थानीले सहमतिका लागि नामहरू प्रस्ताव गर्नसकेका छैनन् । पुरानो कार्यसमितिका अधिकांश सदस्यहरू आपूm चुनाव लड्न नपाएको आक्रोश नेताहरूसँग पोख्न थालेका छन् ।
अन्य भ्रातृ संगठनभन्दा तरुण दलको प्रकृति फरक भएको, महाधिवेशन प्रतिनिधि बन्न गैरराजनीतिक चरित्र बोकेकाहरूले पनि प्रयास गरेको र कतिपय जिल्लामा विवाद रहेका कारण पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र संस्थापक अध्यक्ष बालकृष्ण खाँणको प्रस्तावअनुसार तरुण दलको नेतृत्व सर्वसम्मत चयन गर्न लागिएको छ । यसका लागि काठमाडौंमै गृहकार्य भइसके पनि उक्त गृहकार्यबारे सिटौलाले असन्तुष्टि जनाएका कारण आइतबार बेलुका पनि पार्टी सभापति देउवाको मुकाम रहेको राष्ट्र बैंक गेष्ट हाउसमा छलफल गरिएको बुझिएको छ ।
दिपेन्द्र सभागृहमा जारी बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरू आधा पनि उपस्थित छैनन् । सबैजसो घुमघाममा व्यस्त छन् । सभागृह बाहिर उम्मेदवारहरूको चमकधमक भने उत्साहजनक नै छ । अध्यक्षको उम्मेदवारका रूपमा डडेलधुरा कांग्रेसका सभापति कर्ण मल्ल र तरुण दल निवर्तमान तदर्थ समितिकी सदस्य लक्ष्मी खतिवडाका प्रचार ब्यानर बाक्लै छन् । यसैगरी, महासचिवको उम्मेदवार सिद्धार्थ कोइराला, दिनेश भट्ट, भुपेन्द्रजंग शाहीका ब्यानरहरू पनि त्यत्तिकै छन् । तर जितजंग सर्वसम्मत अध्यक्ष हुन लागेको चर्चासँगै उम्मेदवारहरूको प्रचार प्रसारलाई सहभागीहरूले खासै चासो दिएका छैनन् । बस्नेतको वरिपरि नै भीड केन्द्रित देखिएको छ । उनीसँग बसेर फोटो खिच्ने र हात मिलाउन तँछाड–मछाड जस्तै देखिएको छ ।