७ बैशाख २०८१, शुक्रबार
Follow Us

युरोपियन आकाशमा छिट्टै नेपाली विमान उड्छ: पर्यटन मन्त्री भट्टराई

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७६, आईतवार २१:४०

लन्डन– संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले युरोपियन क्षेत्रमा नेपाली विमानहरुको उडानमा रोक लगाउने आईकाओको निर्णय गल्ती भएको युरोपियन मुलुकहरुले महसुस गरेको जिकीर गरेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले आइतबार साँझ अल्डरशटमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री भट्टराईले उक्त कुरा बताएका हुन्।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले नेपालले हवाई सुरक्षामा खेलबाड गरेको भन्दै २०७० मंसिरबाट नेपाली हवाईलाई युरोपको आकासमा प्रतिबन्ध लगाएको थियो। मन्त्री भट्टराईले युरोपको सुरक्षा चासो (कालो सूचि) लाई आइृकाओको ‘गल्ती’ भनेका छन्।

नेपाली विमानले विगत १७ वर्ष देखी युरोपियन आकाशमा उडान गरेका छैनन्। मन्त्री भट्टराईले अबको केही महिनामा नेपालका विमानहरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ईयूको कालोसूचीबाट हट्ने दावी गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका राष्ट्रिय गौरवका आयोजना सोचेभन्दा तीब्र गतिमा अघि बढेको बताएका छन्। मन्त्री भट्टराईले भने, ‘पोखरा क्षेत्रीय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायत राष्ट्रिय गौरवमा आयोजनाको निर्माणकार्य उत्साहजनक रुपमा अघि बढेको छ।’

मन्त्री भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य आउँदो डिसेम्बरमा सम्पन्न गरी मार्च महिनादेखि नियमित रुपमा सञ्चालनमा आउने जानकारी गराए। ‘अहिलकै गतिमा निर्माणको काम अघि बढे पोखरा क्षेत्रीय विमानस्थल सन् २०२० को डिसेम्वरसम्म सञ्चालन आउँछ’ उनले भने।

मन्त्री भट्टराईले निजगढ बिमानस्थलको निर्माणको समेत कार्यअघि बढिसकेको बताए। निजगढ बिमानस्थल निर्माणका लागि स्वीजरल्यान्डको जुरिच विमानस्थलले चासो देखाएको छ’ उनले भने, ‘निजगढ विमानस्थल पब्लिक प्राइभेट पाटर्नरसीप (पीपीपए) मोडलमा हामीले लगानी खोजिरहका छौं।’ उक्त मोडलमा लगानी सम्भव नभए सरकार आफै लगानी गर्न उनले जानकारी गराए।

मन्त्री भट्टराईले भने, ‘राजनीतिक परिवर्तनपछि नेपाल नयाँ गन्तव्यबाट अघि बढेको छ। विगत सात दशक नेपालको राजनैतिक गन्तव्य पहिल्याउनमा बिते पनि मुलुक विकासको गतिमा अघि बढेको छ। लगानीका लागि नेपालमा उदार नीति बनिसकेकाले ढुक्का भएर लगानी गर्नुस्।’

कार्यक्रमका अतिथि बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले नेपालको आर्थिक, सामाजिक विकास र बेलायतस्थित नेपाली समुदायको हकहितको लागि काम गर्ने प्रतिबद्धता जनाए।

उनले नेपाल भ्रमण वर्ष २०२० मा बेलायतबाट मात्र १ लाख पर्यटक नेपाल भित्राउने महत्वकांक्षी योजना सुनाए।नेपालको पर्यटन प्रवर्द्रधनका लागि गैरआवासीय नेपालीहरुसँग मिलेर बेलायतका प्रमुख सहरमा विषेश कार्यक्रम ल्याइने राजदूत सुवेदीले जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ युके (एनआरएनए) की अध्यक्ष पुनम गुरुङले नेपालको अर्थतन्त्रको मुल स्रोत प्राकृतिक संम्पदा भएको बताउँदै अतिथि देवो भवस् सहितको नेपाल भ्रमण वर्ष उपयुक्त समयमा आएको बताइन्।

उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने दायित्व विदेशमा बस्ने नेपालीको हातमा आएको भन्दै भ्रमण वर्ष सफल पार्न नेपाल सरकार र गैरआवासीय नेपालीबीच भएको सम्झदारीलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइन्।

उनले नेपाल भ्रमण वर्ष सफल पार्न बेलायतस्थित नेपाली व्यवसायी, पर्वतारोही संघका शाखालाई परिचालन गरी विशेष कार्यक्रम गर्ने घोषणा समेत गरिन्। उनले नेपाल भ्रमण वर्ष सफल पार्न नेपाल सरकारले समेत विशेष पहल गर्न सुझाइन्।

उनले बेलायत र नेपालबीच जोड्न सिधा हवाई सञ्चालनको लागि मन्त्री भट्टराईलाई आग्रह गरिन्। उनले नेपाल भ्रमणमा गएका पर्यटकको स्वास्थ्य उपचार, यातायात, खाना, हवाई भाडालगायतका क्षेत्रमा उचित सहुलियतको व्यवस्था गर्न सरकारलाई आग्रह गरिन्।

कार्यक्रममा एनआरएन युकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, एनआरएन युरोप उपसंयोजक कृष्ण तिमल्सीना, सुसिला राई, योग कुमार फगामी, र्थक सेन, काउन्सिलर प्रवेश केसी, रामशरण सिमखडा, प्रवासी नेपाली मन्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनी, नन्दजंग गुरुङ, कुमार गुरुङ (साहारा युके), नेम थापा, श्री लिम्बु, हितकाजी गुरुङ, मिन प्रसाद गुरुङ, एकेन्द्र गुरुङ, विश्व तिगेला लगायतको उपस्थिती थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका उपाध्यक्ष प्रेमगाह मगरले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम संचालन महासचिव फडिन्द्र भट्टराईले गरेका थिए ।