१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायतमा गुपचुप ‘सद्भावना दूत’ नियुक्त गर्ने पर्यटन मन्त्री भट्टराईको तयारी

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७६, आईतवार २२:४९

लण्डन । ६ दिने वेलायत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले वेलायतस्थित नेपाली समुदायसंगको छलफल बिनै नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गर्ने तयारी गरेका छन् ।

भट्टराईले वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको सिफारिसमा बेलायती चर्चित अभिनेत्री, लेखक तथा अभियन्ता जोआन्ना लुम्ले, भारतीय मूलका बेलायती राजनीतिज्ञ सन्दिप कुमार बर्मा र भारतीय मूलकै बेलायती धनाढ्य व्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्त गर्ने तयारी गरेका हुन् ।

राजदूत सुवेदीकोे सिफारीसमा नेपाली समुदायका प्रतिनिधीहरु भने समावेश छैनन् ।

यसै बीच मन्त्री भट्टराईले बेलायतस्थित हाउस अफ लर्डस (बेलायतको माथिल्लो सदन) मा ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गर्ने भएका छन् ।

प्रत्येक वर्ष हुने वल्र्ड ट्राभल मार्केट (डब्लूटीएम) को अवसरमा आउदो विहीवार नेपाल भ्रमण वर्ष प्रवर्धनका लागि विशेष कार्यक्रम राखिएको हो ।
कार्यक्रमको मूख्य आकर्षण नेपालको पर्यटन विकास तथा प्रवर्धनमा योगदान दिने बेलायती नागरिकहरुलाई ‘दी हिमालयन ट्राभल अवार्ड २०१९’ बाट सम्मान गर्ने रहेको छ ।

कार्यक्रममा त्यस्तै लामो समयदेखि नेपालमा पर्यटकहरु पठाउने प्रमुख बेलायती टुर अपरेटरहरुलाई कदर पत्र प्रदान गर्ने कार्यक्रम समेत रहेको छ ।
अवार्ड तथा कदर पत्रहरु पर्यटन मन्त्री भट्टराईले वितरण गर्ने छन् ।

त्यसैगरी ट्राभल एजेन्ट तथा होटेल व्यावसायी रमेश अरोरा, नेपालको पर्यटनमा अढाई दशकदेखि लागि परेका मर्कस कट्टन, नेपालको वाइल्ड लाईफ टुरिजममा काम गर्दै आएका एभी जीम इडवार्ड, नेपालको पर्यटन गन्तब्यको प्रचारप्रसारमा लामो समयदेखि लागिपरेका रोबिन मार्सटन र नेपाल टुरिजमका पाइनियर ज्ञाता कोलोनेल जोमलाई दी हिमालयन अवार्ड वितरण गरिनेछ ।

त्यसैगरी नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्नुहुने ७ जनाहरु माइकल वेट (म्यानेजिङ डाइरेक्टर, रिभिएरा ट्राभल), आस्ले टफ (सीईओ, की एड्भेन्चर ट्राभल), पटेर बुर्रेल (एमडी, एक्सोडुल ट्राभल), रोबर्ट गुडवीन (प्रोडक्ट एन्ड पर्चेजिङ डाइरेक्टर), जेरल्डिन स्टिन्सन (म्यानेजिङ डाइरेक्टर, मर्करी होलिडेज), आन्डे स्वार्रेल (म्यानेजिङ डाइरेक्टर, टीटान ट्राभल) र स्टेभ बेरी (म्यानेजिङ डाइरेक्टर, माउण्टेन किङडम) लाई प्रसंशा पत्र वितरण गरिनेछ ।

मन्त्री भट्टराईसंग नेपाल भ्रमण वर्ष २०२० सचिबालय र नेपाल पर्यटन बोर्डका पदाधिकारीको पनि सहभागिता रहेको छ