६ बैशाख २०८१, बिहीबार
Follow Us

आलमसहित ११ जनाविरुद्ध आज मुद्दा दायर, १० जना फरार

नेपालब्रिटेन संवाददाता
१८ कार्तिक २०७६, सोमबार ०३:५९

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले बम बनाउने क्रममा भएको विष्फोटका घाइतेलाई ज्युँदै इँट्टाभट्टामा हालेर मारेको अभियोगमा सांसद मोहम्मद अफताब आलमसहित ११ जनाविरुद्ध आज मुद्दा दायर गर्दैछ । जिल्ला सरकारी वकिलको कार्यालयले उनीसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दै मुद्दा दायर गर्न लागेको हो । अपराधका सम्पूर्ण प्रमाणसहित मुद्दा दायर गर्ने तयारी कार्यालयको छ ।

आलमविरुद्ध प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ गरी तीन वटा मुद्दामा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन प्रहरीले शुक्रबार नै पेस गरिसकेको छ । आलम बाहेक अन्य दस जना भने फरार छन् । यसअघि पाँच जनाबिरुद्ध किटानी जाहेरी परेकोमा अहिले थप ६ सहित ११ जनाबिरुद्ध मुद्दा चलाउन राय दिएको रौतहट प्रहरीले जनाएको छ । प्रतिवेदनमा आलमले आफ्ना भाइलगायतसँग मिलेर विस्फोटमा घाइते भएका मानिसहरूलाई ज्युँदै इँट्टाभट्टामा हालेको दाबी गरिएको छ ।