१४ बैशाख २०८१, शुक्रबार
Follow Us

डेपुटी गभर्नर श्रेष्ठ स्वत: निलम्बन, छानविन गर्न समिति गठन

नेपालब्रिटेन संवाददाता
१८ कार्तिक २०७६, सोमबार ०४:५२

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर शिवराज श्रेष्ठका विषयमा छानविन गर्न तीन सदस्सीय समिति गठन गरेको छ । समिति गठन भएसँगै डेपुटी गभर्नर श्रेष्ठ स्वतः निलम्बनमा परेका छन् । आज बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले श्रीराम पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा सुवोध कर्ण र रामजी रेग्मी सदस्य रहेका छन् । समितिलाई एक महिनाभित्र छानविन गरेर प्रतिवेदन पेश गर्ने जिम्मेबारी दिइएको छ ।

पदीय मर्यादा बाहिर गई गम्भीर प्रकृतिका गैरकानुनी काम गरेको देखिएपछि गत बिहीबार बसेको मन्त्रीपरिषद बैठकले श्रेष्ठमाथि अनुसन्धान गर्न राष्ट्र बैंक सञ्चालक समितिलाई निर्देशन दिएको थियो । सोही अनुसार राष्ट्र बैंक सञ्चालक समितिले छानविन प्रक्रिया अघि बढाएको हो । श्रेष्ठमाथि लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको र रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको लगायतका आरोप छन् ।