१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आर्थिक लेनदेले नै डुब्ने भो राप्रपा

नेपालब्रिटेन डट कम्
२९ कार्तिक २०७३, सोमबार ०५:०६

काठमाडौं । भूमिसुधारमन्त्री विक्रम पाण्डे चरम भ्रष्टाचारमा डुबेको भन्दै उनलाई फिर्ता बोलाउने तयारीमा राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणा जुटेका छन् । दसैंअघि कर्मचारी सरुवामार्फत कराडौं रकम असुल गरेका मन्त्री पाण्डेले पार्टी अध्यक्ष राणा, वरिष्ठ नेताद्वय लोकेन्द्रबहादुर चन्द र डा.प्रकाशचन्द्र लोहनीलाई एक रुपैयाँ पनि नबुझाएपछि विवाद उत्पन्न भएको थियो । दसैंपछि नै उनलाई फिर्ता गरेर जयन्त चन्दलाई पठाउने विषयमा नेतात्रय राणा, चन्द र डा.लोहनी सहमत भएका थिए । तर पैसा बुझाउन मन्त्री पाण्डे सहमत भएपछि कुरा मिलेको थियो ।
पछिल्लो पटक भने मन्त्री पाण्डेले दोलखाको कालिञ्चोक भगवतीको २० रोपनी गुठीको जग्गा निजी क्षेत्रका व्यापारीलाई दिँदा आएको कमिसनसमेत पार्टीलाई नदेखाएपछि कुरा बिग्रेको हो । समाचार स्रोतका अनुसार कालिञ्चोक भगवतीको गुठीको २० रोपनी जग्गा निजी क्षेत्रको केबुलकार कम्पनीलाई हस्तान्तरण गर्दा प्राप्त भएको ८० लाख रुपैयाँ कमिसनको हिसाब मन्त्री पाण्डेले पार्टीलाई बुझाएका छैनन् । उक्त रकम आफूले नपाएको र गुठी संस्थानका कार्यकारी प्रमुख नारायण चौधरी तथा बोर्ड सदस्य केदार कोइरालाले मिलेर खाएको दाबी मन्त्री पाण्डेको छ । चौधरी विजयकुमार गच्छदार निकटस्थ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको तर्फबाट अघिल्लो सरकारका पालामा गुठी संस्थानको कार्यकारी प्रमुख बनेका हुन् । कोइराला पनि अघिल्लो सरकारको पालामा राप्रपा नेपालका तर्फबाट बोर्ड सदस्य बनेका हुन् । तर यी दुईजनालाई हटाउन मन्त्री पाण्डे तयार नभएपछि कमिसनको चक्कर ठूलै रहेको अनुमान पार्टीभित्र गरिएको छ ।
समाचार स्रोतका अनुसार इटहरीमा रहेको चार सय बिघा गुठीको जग्गा रैकरमा परिणत गरी भूमाफियाको हातमा पु¥याउने योजना नसकिएसम्म कार्यकारी प्रमुख चौधरी र बोर्ड सदस्य कोइरालालाई कुनै पनि हालतमा नहटाउने अडानमा मन्त्री पाण्डे रहेको सूचना राणाकोमा पुगेको छ । यही अडानका कारण उनको पद धरापमा परेको हो ।